महोत्तरीमा आँखा रोग नियन्त्रणमा जुटे सरोकारवाला निकाय
महोत्तरी : आँखा पाक्ने रोगको प्रकोप क्रमिक रूपमा बढदै गएपछि महोत्तरीका सरोकारवाला निकायले जनस्तरमा सचेतना अभियान बढाएका छन्। मौसम परिवर्तनपछि देखा परेको आँखा रोगको प्रकोपलाई नियन्त्रणमा राख्नका लागि यहाँका सरोकारवाला निकायको यसतर्फ ध्यानाकर्षण भएको छ।
गौशाला नगरपालिकाले यहाँ सञ्चालित स्वास्थ्य संस्थाहरूमा भरपुर मात्रामा आँखाका रोगीले प्रयोग गर्ने आई ड्रपजस्ता आवश्यक औषधीको व्यवस्थापन गरिएको छ। नगरप्रमुख डा.दीपेन्द्र महतोले केही दिन अगाडि मात्रै निःशुल्क आँखा शिविरको आयोजना गरेको र सचेतनाको कार्यक्रम भइरहेको बताए ।
जिल्ला जनस्वास्थ्य अधिकृत डा .भोला यादवका अनुसार हरेक पालिकाले आ-आफनो तवरले जनस्तरमा चेतना जगाउने कार्यमा तत्लिन रहेको छ । स्वास्थ्य संस्थामा आवश्यक अनुसारको औषधिको प्रबन्ध गरिसकेको डा.यादवले जानकारी दिएका छन् ।
यता विपद व्यवस्थापन समितिको बैठक बसी आँखा रोगको प्रकोप नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताएको छ। यता जिल्लाका १५ वटै पालिका प्रमुखको बैठकले आँखाको प्रकोपलाई नियन्त्रण गर्नका लागि सबैले सावधानी अपनाउने निर्णय भएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।
जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा पालिकाको तर्फबाट जनस्तरमा सूचना सम्प्रेषण गर्ने निर्णय भएको हो ।
आँखा पाक्ने रोगको संक्रमण बढेसँगै अस्पतालमा बिरामीको चाप बढेको छ। आँखा अस्पतालमा दैनिक तीन हजारभन्दा बढी बिरामीको चेकजाँच हुने गरेको छ । मधेश प्रदेशमा रहेको तीन ठूला आँखा अस्पताल जानकी आँखा अस्पताल जनकपुरधाम, रामप्रसाद महावीरप्रसाद केडिया आँखा अस्पताल परवानीपुर र सगरमाथा चौधरी आँखा अस्पताल लहानमा संचालित रहेका छन् । जहाँ दैनिक हजार भन्दा बढी आँखा पाक्ने रोगीहरु आउने गरेको सबन्धित अस्पतालले जनाएको छ ।
वारास्थित रामप्रसाद महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुरमा दैनिक आउने कुल बिरामीमध्ये ६० देखि ७० प्रतिशत आँखाको संक्रमण भएका बिरामी छन् । उक्त अस्पतालको आकश्मिक कक्षमा दैनिक एक हजार भन्दा बढी नेपाल र भारतका बिरामी आउँछन् । अस्पतालको बहिरंग विभागमा आउने औसत एक हजार भन्दा बढी बिरामीमध्ये ७० प्रतिशत मौसमी आँखा पाक्ने रोगकै रहेका छन् ।
त्यस्तै, जानकी आँखा अस्पताल जनकपुरधाममा दैनिक औसत ७ सय आँखा पाकेका बिरामी पुगिरहेका अस्पताल स्रोतले जनाएको छ । अस्पतालका सूचना अधिकारी रुदलप्रसाद साहका अनुसार ‘एडिनो’ नामक भाइरस आँखामा प्रवेश गरेपछि आँखा पाक्ने गर्दछ । सो भाइरसको संक्रमण भएपछि आँखा रातो हुने, आँखाबाट रगत मिसिएको आँसु बग्ने, आँखा चिलाउने समस्या हुन्छ । साथै घाँटी दुख्ने, ज्वरो आउने, स्वर भासिने समस्या पनि हुन्छ । संक्रमित बिरामीमा यस्तो समस्या करीब दुई सातासम्म रहन्छ ।’