संखुवासभामा कैदीको मृत्यु प्रकरण : प्रहरीले बनायो छानबिन समिति

संखुवासभामा कैदीको मृत्यु प्रकरण : प्रहरीले बनायो छानबिन समिति
सुन्नुहोस्

विराटनगर/संखुवासभा  : संखुवासभा जिल्ला कारागार खाँदबारीमा सुरक्षा घेराभित्र दुई जना कैदीको शंकास्पद मृत्यु भएको घटनाको छानबिन गर्न कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले समिति बनाएको छ। 

प्रहरीकै प्रत्यक्ष संलग्नतामा घटना भएको आरोप लागेपछि प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले घटनाको छानबिन गर्न प्रहरीका तर्फबाट अलग्गै समिति बनाएर खटाएका हुन्। 

प्रदेश प्रहरी कार्यालयका एसपी (प्रहरी उपरीक्षक) ऋषिराम कँडेलको नेतृत्वमा ४ सदस्यीय समिति बनाइएको छ। समितिमा इन्सपेक्टर (प्रहरी निरीक्षक) जितेश दाहाल, सइ (प्रहरी नायव निरीक्षक) रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन्। 

डीआईजी बास्तोलाले घटनाको छानबिनका लागि समितिका सदस्यहरु बिहीबार संखुवासभा पुगिसकेको जानकारी दिए। समितिले घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउँदै १० दिनभित्र प्रदेश प्रहरी कार्यालयलाई प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ। बास्तोलाका अनुसार घटना कसरी भयो, कसको कमी कमजोरी रहयो तथा घटनामा कुनकुन पक्ष दोषी देखिएका हुन् भन्ने बारेमा विभिन्न कोणबाट छानबिन गरेर यथार्थ पत्ता लगाइने छ। 

जिल्ला सुरक्षा समिति संखुवासभाले बुधबार सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइसकेको छ। समितिका इन्सपेक्टर सरोज खनाल र प्रशासन कार्यालयका शुब्बा तारणी घिमिरे सदस्य छन्। समितिले आफ्नो काम सुरु गरिसकेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए। 

‘जिल्लामा गठन भएको छानबिन समितिलाई बल पुग्ने गरी प्रहरीका तर्फबाट अलग्गै समिति बनाइएको हो,’ डीआईजी बास्तोलाले भने, ‘छानबिनपछि घटनाको वास्तविकता पत्ता लाग्ने छ।’ छानबिनले दोषी देखाएका माथि कारबाही हुने उनले बताए। 

कारागारबाट भाग्न खोजेका कैदीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गर्दै र यातना दिँदै मारेको आरोप प्रहरीमाथि लागेको छ। कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै कैदीहरु संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीलाई बुधबार बिहानका राति १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको थियो। 

कारागार प्रशासनको जिम्मा लगाएर पुनः कारागारभित्र हालिएपछि कैदीबन्दीबीच झडप हुँदा तोलाङ्गी र बलामीको मृत्यु भएको दाबी संखुवासभा प्रहरीको छ। अदालतले जबरजस्ती करणी मुद्दामा तोलाङ्गीलाई १८ वर्ष र चोरी मुद्दामा बलामीमा ३ वर्ष कैद सजायको फैसला गरेको थियो। उनीहरु १ वर्षदेखि कैद सजाय भुक्तान गरिरहेका थिए। 

स्थानीय प्रशासन र प्रहरीको मिलेमतोमा घटनालाई तोडमोड गरी कारागारभित्र झडप हुँदा कैदीको मृत्यु भएको भन्दै सार्वजनिक गरिएको भनेर चौतर्फी विरोध भइरहेको छ। झडप तथा कुटपिटका कारण दुई जनाको मृत्यु भएको भनिए पनि अन्य कैदीबन्दी तथा स्थानीय प्रत्यक्षदर्शीले भने सादा पोसाकमा चार÷पाँच जनाको संख्यामा रहेका प्रहरीकै कुटाइले कैदीको ज्यान गएको बताइरहेका छन्। 

घटनाको अनुसन्धान गर्न भन्दै प्रहरीले कारागारबाट निकालेर नौ जना कैदीबन्दीलाई हिरासतमा लिएपछि घटना थप शंकास्पद बनेको छ। झडप तथा कुटपिटमा संलग्न भएको भन्दै प्रहरीले हिरासतमा राखेर उनीहरुमाथि अनुसन्धान गरिरहेको हो। 

संखुवासभा प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारले भने बुधबार बिहान ६ बजेतिर अचेत अवस्थामा भेटिएका दुवै कैदीको उपचारका लागि अस्पताल पु¥याउनसाथ मृत्यु भएको बताएका छन्। घटनामा प्रहरीको संलग्नता नदेखाउन वास्तविकता लुकाउने भूमिका खेलिरहेको आरोप पनि डीएसपी गोदारमाथि लागेको छ। उनकै निर्देशनमा प्रहरीले कुटपिट गर्दा कैदीको मृत्यु भएको प्रहरी स्रोतले बतायो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.