सामाजिक सञ्जालको प्रयोग गरी महिलाको चरित्र हत्या गर्ने पक्राउ
काठमाडौं : सामाजिक सञ्जालको प्रयोग गरी महिलाको चरित्रहत्या गर्ने अभियोगमा एकजना पक्राउ परेका छन्। प्रहरीको साइबर ब्यूरोले दैलेखका ३९ वर्षीय तुलाराम सारुलाई मंगलबार पक्राउ गरेको हो।
पीडित महिलालाई फेसबुकबाट साथी बनाइ विवाह गर्छु भनी प्रलोभन देखाइ विभिन्न दबाब र धम्की दिइ म्यासेन्जरको भिडियो कलमा अश्लील हर्कत गर्न बाध्य पार्ने गरेको सारुमाथि आरोप छ।
नक्कली फेसबुक बनाइ अश्लील तस्बिरहरू आफन्त र साथीभाइहरुलाई पठाइ चरित्र हत्या गरेको भन्दै पीडित महिलाले ब्यूरोमा सारुविरुद्ध उजुरी दिएकी थिइन्।
उजुरीका आधारमा ब्यूरोले सारुलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ अनुसन्धान गरिरहेको छ।