सिम्रिक हेलिकप्टरमाथि प्राधिकरणको बदनियत

सिम्रिक हेलिकप्टरमाथि प्राधिकरणको बदनियत
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाल उड्डयन प्राधिकरणको पछिल्लो निर्देशनअनुसार सिम्रिक एयर बिहीबार गोरखाको स्यालामा चार्टर्ड उडानको लागि अनुमति लिन पुग्यो। तर, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सिम्रिक एयरको उडानमा प्रतिबन्ध लगाउन भनेका छन् भन्दै एयर ट्रान्सफर डिभिजनले उडान अनुमति नदिएपछि कम्पनीले आफूमाथि लागेको प्रतिबन्ध बल्ल थाहा पायो। 

नियामक निकायले कुनै औपचारिक जानकारीबिना नै प्रतिबन्ध लगाएको र सञ्चारमाध्यममा भ्रामक समाचार सम्प्रेषण गरेकोमा कम्पनीले आपत्ति जनाएको छ। सिम्रिक एयरका हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको भन्ने समाचारमा कम्पनीले खण्डन गरेको छ। प्राधिकरणलाई तिर्नुपर्ने बक्यौताको सम्बन्धमा सञ्चार माध्यममा आएजस्तो वास्तविकता नभएको कम्पनीका महाप्रबन्धक मुरलीधर जोशीले बताए्।

वार्षिक रूपमा खाताबन्दीको क्रममा छुटफुट तथा बक्यौता राफसाफ नियमित प्रक्रिया भएको र समयअगावै र जानकारीबिना प्रतिबन्ध लगाउने प्राधिकरणको व्यवहार कानुनसम्मत् नभएको उनले बताए। ‘हामीले सेवा लिएबापत प्राधिकरणले बिल पठाउने र हामीले तिर्ने गर्छौं। यो क्रममा कति हिसाबको बिलिङ छुटिरहेको हुन्छ, कतिको हामीले दाबी गरिरहेका हुन्छौं। वर्षको अन्तिममा हिसाब मिलान गरिन्छ, प्राधिकरणले पठाएको पत्रअनुसार तीन–चार ठाउँको हिसाब तिर्नुपर्ने देखाएको थियो,’ जोशीले भने। सोहीअनुसार रुजु गर्ने क्रममा नै कम्पनी रहेको थियो। फेरि, कम्पनीले कुन विमानस्थलको कति बक्यौता भनी बुधबार अर्थात् साउन २४ गते मात्र कम्पनीलाई चिठी पठाएको थियो। उनका अनुसार कम्पनीले विमानस्थलमा लिएको सेवाबापत विभिन्न शीर्षकमा वार्षिक करिब २ करोड रुपैयाँ प्राधिकरणलाई तिर्ने गर्छ।

सञ्चारमाध्यममा आएका समाचारप्रति कम्पनीले खण्डन गर्दै प्रेस विज्ञप्ति निकालेको छ। सिम्रिक एयरको नाममा प्राधिकरणले यही साउन २१ गते चलानी नम्बर १७ को पत्रअनुसार ७ दिनभित्र हिसाबमिलान गर्न आउन भनी पत्राचार गरेको विज्ञप्तिमा उल्लेख छ। 

७ दिनको समयअगावै बदनियतपूर्ण तरिकाले, पूर्वाग्रही ढगंले, प्रतिशोध साँध्ने उद्देश्यले आफ्नो अधिकारको दुरुपयोग गरी यस संस्थाको गरिमामा आँच पुर्‍याउने कपोलकल्पित झुटा र भ्रामक समाचार सम्प्रेषण गरेको कम्पनीको भनाइ छ। 

यस कम्पनीले सेवा उपभोग गरेबापतको रकम प्राधिकरणलाई क्रमिक रूपमा बुझाउँदै आएको छ। आर्थिक वर्ष २०७९/०८० को  छुटफुट रकमका सम्बन्धमा यस कम्पनीको उडान विवरण र हिसाबसँग रुजु भई मेल खाएमा भुक्तानी गर्ने र नभएमा सच्याउनका निम्ति प्राधिकरणलाई अनुरोध गर्ने प्रक्रिया एवं व्यवहार रहिआएको छ। ‘सोही क्रममा लुक्ला विमानस्थलको हिसाब यकिन भई करिब १५ लाख रुपैयाँ भुक्तान गरिएकोे छ। ताप्लेजुङ विमानस्थलको हकमा विमानस्थलको कार्यालयलाई हिसाब सच्याउन तथा अध्यावधिक गर्न इमेलमार्फत कागजात पठाई निवेदन गरिएको छ,’ जोशीले भने। कम्पनीका अनुसार ताप्लेजुङ विमानस्थलको करिब ६ लाख रुपैयाँ बक्यौता सिम्रिकले तिरिसकेकोले त्यसलाई बक्यौतामा नराख्ने गरी भुक्तानीको बिलसहित इमेल गरिएको छ। 

काठमाडौं विमानस्थलमा भने उडान संख्या बढी हुने भएकाले हिसाब मिलानकै क्रममा रहेकोले रुजु एवं मिलान हुनासाथ भुक्तान गर्ने तयारीमा रहेको कम्पनीको दाबी छ। काठमाडौं विमानस्थलमा २७ लाख रुपैयाँको बक्यौता रहेको प्राधिकरणको हिसाब छ। प्राधिकरणले हवाई कम्पनीलाई अवतरण, नेभिगेनि, पार्किङ, सञ्चालनलगायतका शीर्षकमा विमानस्थल सेवा शुल्क नियमावलीअनुसार भिन्न शुल्क लिने गर्छ।

विगत केही समयदेखि प्राधिकरणले निजी क्षेत्रबाट सञ्चालित हवाई सेवा प्रदायक कम्पनीलाई विभिन्न बहानामा प्रत्यक्ष अप्रत्यक्ष रूपमा निरुत्साहित गर्ने गरेको कम्पनीको विज्ञप्तिमा भनिएको छ। सोको विरुद्घमा आवाज उठाएको हुनाले कम्पनीलाई नै लक्षित गरी भ्रम सिर्जना गर्न खोजिएको नियत प्रस्ट देखिने कम्पनीको भनाइ छ। 

सिम्रिक एयरले विगत २१ वर्षदेखि हेलिकप्टर सेवा प्रदान गर्दै आएको छ। विभिन्न दैवीप्रकोप, आपत्कालीनलगायत भौगोलिक विकटता भएको स्थानमा उद्धार एवं राहतको कार्य गरी निरन्तर एवं सुरक्षित सेवा दिँदै आएको कम्पनीसँग हाल ४ हेलिकप्टर छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.