साङ्लो समाउँदै शिवधारा !

साङ्लो समाउँदै शिवधारा !

खाँदबारीबाट सवारी र पैदल गरेर आठ दिन आसपासको समयमा शिवधारा पुगेर आउन सकिन्छ। त्यसमा थप दुई तीन दिन दिए मकालु आधारशिविर पनि छिचोलेर आउन सकिन्छ।

४,३१० मिटरको उचाइमा एक विशाल गुफा छ। जहाँ सामान्य उभिएर रहँदा सय जनाभन्दा बढी अट्न सकिन्छ। त्यो गुफाको पृष्ठभूमि बनेर विभिन्न हिमाली चुचुराहरू लहरै रहे झैं लाग्छ। गुफा क्षेत्र पुग्दा नपुग्दै हिँउ भेटिन्छ। गुफाको शिरको बीच भागबाट ३० मिटर हाराहारीबाट धरर... पानी आउँछ। वर्षात्को समयमा मात्रै होइन, बाह्रैमास पानी आउँछ।

चित्ताकर्षक झरनामै झर्ने पानीलाई हावाले पालैपालो चारै दिशामा तान्दै झार्छ। त्यो झरेको पानीमा भिजाएको मान्छे चाँडै ओभानो पनि बन्छ। यो यही ठाउँलाई भनिन्छ शिवधारा। संखुवासभाको मकालु गाउँपलिकामा रहेको शिवधाराको यो दृश्य जत्ति सुन्दर छ, पुग्न भने त्यत्तिकै सकस छ। सोझो बाटो छैन।

अजंगको चट्टानी भीरको शिरमा बसेको शिवधारा पुग्न फलामका किला टेकेर जानुपर्छ। कठोर धार्मिक यात्रामा हुनेहरू त यस्तो ठाउँमा खाली खुट्टा यात्रा गरिरहेका हुन्छन्। किला टेकेर मुनितिर हेर्दा त आङै जिरिङ हुन्छ। शिवधारा पुग्न फलामे साङ्लो समाएर किला टेक्दै पहरामा हिँड्दा ज्यानको जोखिम धेरै हुन्छ।

जोखिम कत्ति हुन्छ भन्ने बारेमा मकालु क्षेत्रको दोबाटोमा टी हाउस चलाउँदै आएका रैथानी ट्रेकिङ गाइड दाबा छिरिङ शेर्पाको भनाइ नै काफी छ। भन्छन्, ‘कथंकदाचित खुट्टा चिप्लिएर यहाँबाट कोही झर्‍यो भने झर्नमात्रै पाँच मिनेट लाग्छ।’ तर, अहिलेसम्म कसैको ज्यान भने नगएको दाबा दाबी गर्छन्।

दाबा धेरैपटक शिवधारा पुगेका छन्। पुग्न प्रयास गर्नेहरू आधा याङ्ले खर्कको ३,५५५ मिटरको चौरबाट भित्ता हेर्दै मन मारेर माथि जाँदैनन्। मन बलियो बनाएर जानेहरू धेरैजसो साङ्लो समाएर फलामे किला टेक्दै पहरामा हिँड्ने बाटो सुरु हुने चौतारीबाटै यात्रा बिट मार्छन्। यात्रा सुरु गरेर शिवधारा पुगेकाहरू गणेश क्षेत्र पार गरेर पार्वती गुफासम्म पहरो छिचोलेर पुगेर आउन अल्छी मान्छन्। डराउँछन्।

शिवधारा भन्दा ६ मिटर मात्र अग्लो स्थानको पार्वती गुफा ४,३१६ मिटर उचाइमा छ। शिवधारादेखि पार्वती गुफासम्म पुग्न घस्रिँदै हिँड्नुपर्ने हुन्छ। पार्वती गुफामा पूजाआजा गरेर आउँदा अजंगको चट्टारी पहरोलाई एक फन्को मार्ने गरिएको यात्रा हुन्छ। याङ्ले खर्कबाट औसतमा ६ घण्टामा यात्रा पूरा हुन्छ। अझ सुन्दर पक्ष त शिवधारा क्षेत्रलाई पाउमा काउकुती लाउँदै बगेको छ वरुण नदी। आसपासमा युगौंबाट उभिइरहेका छन् लेकाली रूख बुट्ट्यानहरू। 

याङ्ले खर्कको भित्तामा दुई गुफा भएर बसेको शिवधारा क्षेत्रको पाउमा वरुण बगेको काव्य चित्र कवि एकु घिमिरेले खण्डकाव्य ‘धरणी’मा उतारेका छन्। उनले २०७९ असोजमा प्रकाशन भएको शोकयात्रा खण्डकाव्यमा लेखेका छन् :

याङ्ले फाँट थियो नदी वरुणको त्यो 
काखमा सुन्दर 
झर्थे झरझर लेकबाट झरना राता थिए पत्थर 
कस्ले सिन्दूर छर्किएर शिवको पूजा गरे झैं थियो 
चाँदी झैं झलमल्ल ती शिखर नै बल्थे बनेरै दियो 

शिवधारा : वैदिक सनातनीदेखि बौद्धमार्गीसम्मको आस्था केन्द्र मौसमको कोणमा साउन झरीको महिना हो। वैदिक सनातनीहरूको संस्कृतिको कोणमा साउन शिवको महिना हो। झरना र शिव दुवैको बिम्ब बोकेर बसेको संखुवासभाको विशिष्ठधाम हो, शिवधारा। र, यसले क्रमश: भक्तजनहरूबाट भाकल र भ्रमण बढाएको छ। मकालु क्षेत्रकी स्थानीय पूजा पौडेलका अनुसार शिवधारामा धार्मिक कोणमा जनैपूर्णिमामा ज्यादा भीड हुन्छ। साउन महिनामा उत्तिकै भीड।

वैदिक सतानतीले मान्ने कैलाश पर्वतको शास्त्रीय व्याख्या जे छ, त्यस्तै भौगोलिक बनोट भएको भनेरसमेत वैदिक जानकारहरूले भन्दै आएका छन्। वैदिक सनातनीहरूको मात्रै धाम होइन, शिवधारा क्षेत्र। यो बौद्ध र किराँतीहरूको पनि धाम हो। बौद्ध धर्म मान्नेहरूले शिवधारा र पार्वती गुफादेखि गणेश स्थानबाहेक आमा भुजुङ पनि पुग्छन्। शिवधारा नजिकै गर्भवती महिलाको पेटको आकारको भीमकाय चट्टानी पहाड छ।

त्यहाँ पूजाआजा गरेमा सन्तान नहुनेको सन्तान हुने शेर्पा समुदायको विश्वास भएको दाबा बताउँछन्। दाबा त आजकल आमा भुजुङ ओझेलमा परेको भन्दै प्रवद्र्धनमा सक्रिय छन्। शेर्पा भाषामा आमा र छोरी बुझाउने शब्द आमा भुजुङ भएको दाबा बताउँछन्। याङ्ले खर्क किराँतीहरूको संस्कृतिमा जोडिएको बिम्ब हो। शिवधारा क्षेत्र किराँतीको समेत आस्थाको केन्द्र हो। 

साउनमा मात्रै होइन, आरोहण र पदयात्रा सिजनमा पनि शिवधारा क्रेज शिवको धाम भएकाले शिव पुजिने महिनाहरूमा मात्रै होइन, हिमाल आरोहण गरिने महिनाहरूमा पनि शिवधारा क्रेज देखिएको छ। विश्वको पाँचौं अग्लो शिखर मकालु (८,४६३ मिटर) पदयात्राको शरद ऋतुमा पुग्नैपर्ने गन्तव्यमा धेरैले शिवधारालाई पार्ने गर्छन्।

यस्तै मेसो मिलाउने पदयात्री हुन्, संखुवासभाको धर्मदेवीका स्थानीय उज्ज्वल बस्नेत। उनले २०७९ को मकालु पदयात्रा सूचीमा शिवधारा समावेश गरे। नुमसम्म गाडीमा पुगेका उनी सेदुवा, टासी गाउँ, डाँडाखर्क, खोङ्मा, ठूलो डाँडा, दोबाटो, फेमाताङ हुँदै चार दिनमा याङ्ले खर्क पुगे। उनी अरू टोलीले जस्तो शिवधारा चढेर मात्रै उकाले लागेनन्। पहिले टाडोसा, याङ्माले हुँदै मकालु आधार शिविर पुगेर दुई दिनमै याङ्ले खर्क फर्के। अनि एक दिन छुट्ट्याएर चढे शिवधारा।

भन्छन्, ‘मकालु आधार शिविरको भ्रमणको रहर र शिवधारा दर्शनको भाकल दुवै थिए। यी दुवैलाई एकै प्याकेजमा पूरा गरें।’ मकालु आधार शिविर आउनेहरू बहुसंख्यकले अनिवार्य पुग्ने गन्तव्य बनाउने गरेका छन् शिवधारा। वसन्त ऋतुमा आरोहण गर्नेहरूले पनि शिवधारा गन्तव्य बनाउने गरेका छन्। येउपा, चामलाङ, सेर्सोङ, नेपाउ, रिकेपाजस्ता चुलीहरूको क्षितिजले घेरिएको शिवधारा एक हिमाली धामको आकर्षक गन्तव्यमात्रै नभएर चित्ताकर्षक हिमाली भ्यु प्वाइन्ट पनि भएको बताउँछन् दाबा।

टे«किङ रुटमा पर्ने धार्मिक धाम भएकोले सामान्य खानानास्ताको सुविधा छ। कतिपय धाममा जाँदा जस्तो ओढ्ने ओछ्याउने र त्रिपाल बोकेर हिँड्नु पर्दैन। ओडारमा बस्नु पर्दैन। शिवधारा यात्राको सुन्दर पक्ष यही हो। सदरमुकाम खाँदबारीबाट सवारी र पैदल गरेर आठ दिन आसपासको समयमा शिवधारा पुगेर आउन सकिन्छ। त्यसमा थप दुई तीन दिन दिए मकालु आधार शिविर पनि छिचोलेर आउन सकिन्छ।

अहिले शिवधारा परिसरमै हेलिप्याड छ। पैसा हुनेहरू हेलिकप्टर चार्टर्ड गरेर वा हेली टुर आएको मौसममा जाने गरेका छन्। हेलिकप्टरमा जानेहरूले भने शिवधारा मात्रै पुग्न पाउँछन्। पहरा छिचोलेर झन्डै आधा घण्टा हिँडेर पुगिने पार्वती गुफा भने जान पाउँदैनन्। पार्वती गुफा क्षेत्रमा हेलिप्याड पनि बनेको छैन। पैदलयात्रा गर्नेहरूले मात्रै शिवधाराको समष्टि दर्शन र आनन्द लिन्छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.