खै उर्मिला र प्रल्हाद ?
ऐँठन पढिसकेपछि बोल्ने कुनै शब्द रहँदैनन्। नबोली मनको छट्पटी शान्त हुने हो कसरी ? विश्व शान्तिको चाहना राख्दै द्वन्द्वबाट सिर्जित वियोग कुँदिएको सुन्दर क्यानभास हो ऐँठन !
ऐँठन छिचोल्ने हरेकले आफूलाई दसवर्षे जनयुद्धसँग जोड्छन् नै। छिचोल्नु भने त्यति सहज छैन। छिचोलिसकेपछि पाठक शब्दविहीन र भावविहीन हुन्छन्। भएनन् भने हृदय तिनको पाषण हो पक्का। आख्यानले बोलेको बियोगान्त कथानकमात्रै हो भनेर कोही पनि चुप रहन सक्दैनन्। म पनि अछूतो रहिनँ, माफ गर्नुस् !
बीबीएस दोस्रो वर्ष पढ्दै थिएँ। मध्यबानेश्वरस्थित मेलम्ची खानेपानी कार्यालयको ठीक अघिल्तिर सानो छाप्रोमा हाम्रो चिया पसल थियो। बाहिर चिया पसलभित्र टेम्पो, ट्याक्सीको ग्यारेज। ग्यारेजको पनि बुवाले रेखदेख गर्नु पर्थ्यो। नाटक सिक्दै गरेको कलाकार र कराँते खेल्दै गरेको खेलाडी थिएँ। जोसैजोसमा काम खोज्ने चटारो कहिल्यै लिइनँ। वरिपरि दुइवटा गार्मेन्ट थिए। खाना, चिया खाजाले गर्दा होटल खुब चल्थ्यो। सानो ठाउँ बिहान ४ बजेदेखि बेलुका १० बजेसम्म काम गथ्र्याैं। टेबल जोडेर सुत्थ्यौं। पकाउने, भाँडा माझ्ने सबै आफैं। ‘केटा तँ केही दिन यता नबस्। घर गएर बस्।’ भाँडा माझ्दै गर्दा बुवाले धेरै दिन अघिदेखिको खसखस पोख्नु भयो।
‘सेतो गाडी परपर रोकेर धेरै दिन भयो सुराकी लागेको। नयाँनयाँ मान्छे घुम्न थालेका छन्।’ आमाको डर पनि प्रस्ट भयो। मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा बम पड्किएको समय हो। ‘यस्तो हट्टाकट्टा, सुहाउँदै नसुहाउने मान्छे भाँडा माझेर बसेको देखेपछि शंका गरिहाल्छन् नि !’ एकजना ड्राइभरले भने। ड्राइभरहरू झन् भयकम्पित थिए। त्यही रात सटरमा कसैले हान्यो। बीबीएसको परीक्षा आइरहेको बेला होटलमै बसेर अभ्यास गर्दागर्दै रातको ११ बजेको हुँदो हो। बाटोमा मादक पदार्थ पिएर हिँड्ने हुनाले आवाजलाई अलि चर्काे बनाएँ। ‘को हो बाहिर ?’ ‘भित्र हाम्रो मोटरसाइकल छुट्यो। गेट खोल्नु पर्यो।’
बाहिरको आवाजले बोल्यो। मोटरसाइकल भित्र नभएको जानकारी गराएँ। बाहिरबाट जिद्दी सुनिन छोडेन। बुवाआमा भित्र सुत्नु भएको थियो। किताबकापी र कलम टेबलमै छोडेर ठूलो गेटपट्टि गएँ। जस्ता गाँसेर बनाएको ठूलो गेटको बीचमा ठुलाठुला प्वालबाट भित्र सजिलै चिहाउन सकिन्थ्यो। प्वालबाट बाहिर चिहाउँदै सोधें। उही मोटरसाइकल छुटेको जिकिर आयो मान्छे अगाडि नभए पनि। पिउनेको जिकिर ठानेर गेट नखोल्ने निधो सुनाएँ। ‘खुरुक्क गेट खोल्छस् कि, तँलाई यहीँ सिध्याइदिउँ ?’ गेटको प्वालअगाडि मान्छे देखिनु र प्वालबाट बन्दुकको चुच्चोभित्र पस्नु एकैपटक भयो। थरथरी कामेँ। बोली लर्बररियो। त्यो रात बुवाले गेटमा ताल्चा लगाउन बिर्सिनु भएको रहेछ। म साँचो खोज्न जानु परेको भए ती आउनेहरूले त्यहीँ सुट गर्थे।
बेहोसीमै गेट खोलें। अनुहार ढाकेका चारपाँच जनाभित्र पसे। ‘यसलाई कभर गर्।’ आदेश पाएपछि एकजना मेरो पछिपछि लाग्यो। कोही ट्याक्सीको मुनि सबैतिर हेर्न थाले। हल्लाखल्लाले बुवाआमा उठ्नु भयो। पढ्दै गरेका किताबहरू ओल्टाइपल्टाइ हेरे। ड्राइभरहरूसम्बन्धी जानकारी लिए। फोनको सेट लिएर गए। भाग्यले साथ दिएको हुनाले ठूलो दुर्दशा टर्यो। को, कहाँबाट आएका हुन् केही बताएनन्। त्यही रात तीनजना ट्याक्सी
ड्राइभरलाई कोठाबाटै समातेको खबर बिहान चियाको कप समाउनुअघि नै फैलियो।
जनयुद्धको अवशान भनियो तर यसका ज्वारभाटाहरू सेलाएका छैनन्। लेखक विवेक ओझाले द्वन्द्वको गहिराइमा पुगेर यो आख्यान सिर्जना गरेका छन्, जुन भुक्तभोगीबाट मात्रै सम्भव छ। तपाईंको हृदय बलियो छ भने यो आख्यान पढ्न सक्नुहुन्छ। कोमल हृदयको हुनुहुन्छ भने पुस्तक बाहिरबाटै सुम्सुम्याउनुस्। फोटो खिचेर सामाजिक सञ्जालमा सेयर गर्नुस् र पुस्तक कसैलाई उपहार दिनुस्। कोमल मन भएकाहरूले यो पुस्तक छिचोल्न सक्दैनन्। यो पुस्तक समाएर पहिलो च्याप्टर सुरु गरेपछि टाउको दुख्न थाल्यो र अन्त्यपछि मात्रै शीतल भयो। यसको कारण हो विवेकको कल्पनाशक्ति र दसवर्षे जनयुद्धको वास्तविक चित्रण। पुस्तकमा विवेकले गरेको चित्रण हुबहु यहाँ गरेर आपूmलाई मुर्ख सावित गर्नु छैन मलाई।
विवेकभित्र जुन आक्रोश छ त्यो आक्रोश मभित्र पनि छ। दसवर्षे जनयुद्ध भोग्ने, समृद्ध नेपाल चाहने हरकोहीमा छ। दसवर्षे जनयुद्ध सत्ता प्राप्ति र भोगविशालका लागि मात्र थियो त ? आफूले कल्पना गरेको समाज र राज्य व्यवस्था निर्माण गर्न नसकेपछि जनताप्रति जवाफदेही हुनु पर्दैन ? ‘फर्गट एस्टडे’मा पुगेर दसवर्षे जनयुद्धको उपलब्धि अवशान होला भनेर कुनै नेपालीले चाहेका थिए ? छोरी पढाउन सहयोग पर्खिरहेका गोकुल र मायाँ कामरेडले हेलिकप्टरबाट आएर सयर गरी उसै फर्केलान्् भनेर राकेश कामरेडलाई लाग्ने गोली आफूले थापेका थिए त ?
बबनकुमारमात्रै हैन, ऊजस्तै धेरै नेपाली ‘सिजोफ्रेनिक’ छौं, पागल, अर्धपागल वा मूच्र्छित यस्तै। शान्त, सुन्दर ठाउँ, कमाइ हुने ठाउँको खोजीमा विदेशी रहेका छौं अनि सन्तानलाई विदेश पठाइरहेका छौं। अहिले नेपालीका लागि छोराछोरी विदेश पठाउनु नै एक उत्तम विकल्प हो। नयाँ नेपाल बन्यो भनेर निर्माण भएको यो राज्य व्यवस्थाको उद्देश्य यही हो ? ‘त्यो देश कहिल्यै पनि बस्न लायक हुँदैन। गुरु, तपाईं पछुताउनु हुन्छ, अझै समय छ फर्किनुस्।’ युरोपवासी एक मित्रले भने। नेपालको यो परिचय कहिलेसम्म हुने ? प्र्रेम आचार्यको अवशानमा यो राज्य व्यवस्थाको जवाफदेहिता रहँदैन ? यस्ता अनेकअनेक प्रश्न ऐँठन पढ्दा तपाईंको मनमा उब्जिएनन भने, आँखा रसाएनन् भने तपाईंको हृदय पाषण हो, माफ गर्नुस् ! जनतामा आक्रोश जीवित छ र नै ऐँठन जन्मिएको हो। भाषाको पकड बलियो नभएको भए ३८० पृष्ठको पुस्तक सजिलै छिचोल्न सकिँदैनथ्यो। विषयवस्तुको गहनता छँदैछ, पुस्तक लेखनमा पुनर्लेखनको महत्त्वबारे थाहा पाउन पनि यो पुस्तक पढ्नै पर्छ।
ऐँठनमार्फत विवेक कल्पनाशीलता र कलात्मकतामा अग्रभागमा रहेका धावक ठहरिए। कुरु क्षेत्र अनि दोस्रो विश्वयुद्धको संयोजन दसवर्षे जनयुद्धमा ल्याएर गराउन सक्नु कुशल कालिगढीबाट मात्रै सम्भव हुन्छ। हिरोसिमा आक्रमणबाट जीवित सोरामार्फत दोस्रो विश्वयुद्धको दुर्लभ चित्रण मात्रै गरेनन्, विश्वमा शक्ति सम्पन्न राष्ट्रहरूको हतियार मोह, शक्ति प्र्रदर्शनको होडबाजीमा चर्किरहेको द्वन्द्व र सम्पूर्ण हतियारको निष्क्रियतासँगै विश्वशान्तिको चाहना व्यक्त गर्न समेत सफल भए लेखक। स्कुल पढाउने मास्टर बबनकुमारकी श्रीमतीलाई रातको प्रहरमा भएको भिडन्तमा घरभित्र खाटमुनि लुकेको अवस्थामा गोली लाग्छ। छोरोलाई पनि गोली लागेको हुन्छ। उपचारका लागि दौडिँदै स्वास्थ्यचौकीतिर लाग्दा बाटैमा भेट्छन् छापामारहरूले। मरेसकेकी श्रीमती उर्मिला र धुकधुकी बाँकी रहेको छोरो प्रल्हादलाई छापामारले थुत्छन्, बबनकुमारको शरीरबाट अनि कैद गर्छन् उसलाई। त्यसपछि बबनकुमारलाई छापामारहरूले आफूसँगै हिँडाउँछन्।
मृत्युलाई हत्केलामा बोकेर पछ्याउन बाध्य बबनकुमारले छापामारहरूको ताण्डव भोग्छ। कहाँकहाँ कसरी छापामारहरूले आक्रमण गरे, कोकोलाई कुन तरिकाले मारे थाहा पाउन पुस्तक नै पढ्नुपर्छ। लगभग छापामारकै नियतिमा दाङ, सल्यानहुँदै साँफेबगर पुग्दा छापामार र तिनको संरचना, कार्बाहीका तौरतरिका खुलस्त पारिदिएका छन्। मृत्युको मुखमा पुगेर छापामारबाट कुन हविगतमा उम्किन सफल भयो बबनकुमार र आर्मीको कब्जामा पर्यो यसको गहन प्रस्तुति नै ऐँठनको मुटु हो। तर, उर्मिला र प्रल्हाद खोइ ? छापामारहरूले कहाँ गाडे ? कहाँ बेपत्ता पारे ? बबनकुमारसँगै पाठक अन्तिमसम्म खोजिरहन्छन् तर भेट्दैनन्। अनि आक्रोशित नहुन सकिन्छ ? पाठकहरूलाई समेत बारम्बार खोजी भइरहन्छ उर्मिला र प्रल्हादको।
बबनकुमार हरकोहीमा उर्मिला र प्रल्हाद खोज्छ। खोइ त उर्मिला र प्रल्हाद ? पुस्तकमा यस्तो अस्पतालको कल्पना छ जहाँ द्वन्द्वपीडित अनेक मानिस भेट हुन्छन्। सारा भेट हुने अस्पताल पनि त्यही हो। एउटा रेस्टुरेन्टमा मान्छेको मासुबाट बनेका परिकारहरू निःशुल्क उपलब्ध छन्। संसारमा भइरहेका द्वन्द्वमा कति धेरै मानिस मरिरहेका छन् कल्पना गर्नुस् ! मानिस मरेका मर्यै, तिनीहरूको खपत खोइ ? होटलको फुच्चेमार्फत लेखकले गरेको यो अभिव्यक्तिको मूल्य कति हो ? पुस्तकको समापनतिर छोरीलाई स्कुल पढाउने, पानी पिउने धाराको खोजी, यस्तै सानासाना इच्छाको सम्बोधन नगरी फर्किएको राकेश काम्रेड चढेको हेलिकप्टर मानिसले हेर्दाहेर्दै कालो गिद्धमा रूपान्तरण हुन्छ र सारा आकाश ढाक्छ।
कुरु क्षेत्रमा पाण्डव विजयी हुन्छन्। आकाशभरि गिद्धहरू घुमेका छन्। घाइतेलाई बीभत्स तरिकाले लुछ्दै छन् गिद्धहरू। शरीरमा बसेको गिद्धलाई समेत टुलुटुलु हेर्नु र चित्कार सुन्नुबाहेक विकल्प छैन घाइतेहरूमा। सुरुदेखि अन्तसम्म तपाईं चित्कार, पीडा, रोदन, छटपटीमा यात्रा गर्नुहुन्छ। देश र जनताको परिवर्तनको नाममा लडेर परिवार अनि विलासितामा मग्न यी कथित कम्रेडहरू यो चित्कारको कारण हैनन् ? चक समाउने बबनकुमार छोरा प्रल्हादमार्फत विश्वका सबै बारुदी शक्ति निष्क्रिय पार्ने उपकरण सिर्जना गर्ने सपना देखिरहेको छ। यही इच्छा होटलमा भेटिएको फुच्चे र सोरामार्फत पनि आएको छ। यस अर्थमा विवेक विश्व शान्तिको पक्षमा छन्।
संसारभर हतियार, लडाइँमा खर्च भइरहेको बजेट पृथ्वी सुन्दर बनाउन खर्च हुने भए मानिसहरूले स्वर्गको कल्पना गर्दै बस्नु पर्दैनथ्यो। चेस, गिद्ध र नौरंगी माछामार्फत लेखकले बुझाउन खोजेको कुराले यो किताबलाई उत्कृष्ट मापन गरिदिएको छ। ऐँठन पढिसकेपछि बोल्ने कुनै शब्द रहँदैनन्। नबोली मनको छट्पटी शान्त हुने हो कसरी ? विश्व शान्तिको चाहना राख्दै द्वन्द्वबाट सिर्जित वियोग कुँदिएको सुन्दर क्यानभास हो ऐँठन !