सेवाले पाएको ऊर्जा
रामेछापको बसाइ मीठा सम्झनाहरू समेट्दै थियौं। तर अचानक हामी श्रीमान् श्रीमती दुवैजनाको सरुवा हुने चिठी आयो।
एमडी अध्ययन सकेपछि कुन जिल्लामा काम गर्न जाने ? हामी श्रीमान् श्रीमती दुवै जनाको एकै ठाउँ मिलाउन सकिएला कि नसकिएला ?
घरमा दीर्घरोगी बुवाआमा हुनुहुन्छ, घरबाट धेरै टाढा जान नपरे हुन्थ्यो। जानै परे पनि यातायातको सहज ठाउँ मिले हुने। अहिलेसम्म आर्जेको ज्ञानसीपको सदुपयोग गर्न सकिने ठाउँ पाइएला-नपाएला ? हावापानी, रहनसहन, बस्ने व्यवस्था कस्तो हुने हो ? यावत् कुराले अनुत्तरित बनाइरहेको थियो।
एउटै अस्पतालमा खटाइएको आधिकारिक पत्र हेटौंडाबाट हामीले बुझ्यौं। मनभित्र एमडी अध्ययनपछिको पहिलो अर्थात् नयाँ कार्यक्षेत्रप्रतिको अनेकौं सोच। धन्य भगवान् ! हामी दुवैको एकै ठाउँमा पोष्टिङ मिल्यो। जुन दिन घरमा हजुरआमाको तिथि परेको थियो। उहाँको आशीर्वाद सदैव पाइरहेछौं भन्ने आभाष भएको थियो। आमाको तिथिको पितृप्रसाद ग्रहण गर्न जसरी काठमाडौं घर फर्कने प्रण गर्यौं। साँझ ५ बजे हेटौंडाबाट काठमाडौं हिँड्यौं।
चित्लाङतर्फको कच्ची बाटो हुँदै काठमाडौं फर्किंदाको त्यो पल स्मरणीय बन्यो। रामेछाप जिल्ला अस्पतालको पत्र बुझेको दिन, संयोगले हामी चढेको सुमोमा रामेछापकै एक परिवारका सदस्य यात्रु रहेछन्। निकै मिजसिलो अन्टी हुनुहुन्थ्यो। ड्राइभर भाइ पनि उत्तिकै रमाइला। हाँस्दै हँसाउँदै रातको त्यो अप्ठ्यारो बाटो, थोत्रो सुमोको यात्रा, थकित शरीर सबै भुलिएछ। ९ बजे राति काठमाडौं आइपुग्दा निकै आत्मीय अनुभव भयो उहाँहरूसँग। हामी घर अगाडि ओल्र्याैं। रामेछापसँगको नाता सुरु भयो।
रामेछाप अस्पतालसम्म पुग्ने माइक्रो बिहान ७ बजे कोटेश्वरबाट छुट्ने रहेछ। सोही अनुरूप हामी श्रीमान् श्रीमती पहिलोपटक रामेछाप जाँदै थियौं। खुर्काेटसम्मको बाटो त ज्ञान थियो, त्यसपछि कति समयमा अस्पताल पुगिएला भनेर उत्सुक थियौं। मन्थली बजारलाई देब्रे छोड्दै जब हामी चढेको माइक्रो उकालो लाग्न थाल्यो। झ्यालतिरबाट शीतल, मीठो हावाले स्पर्श गरेको अनुभव हुँदै गयो। तलतिरको दृश्य रमणीय देखियो। वरपर डाँडाभन्दा अझ उचाइ चढ्दै गएको महसुस हुन थाल्यो। दंग पर्दै उकालो लाग्यौं। रामेछाप डाँडाको बजार आइपुग्यो। अस्पताल अझै आइपुगेन। सबै यात्रु झर्न थाले। ड्राइभर दाइले अस्पताल पुर्याइदिने वाचा थियो। त्यसैले ढुक्क थियौं।
कारागार, वन डिभिजन, बजारको कच्ची र साघुँरो सडक पार गरेर आर्मी ब्यारेक हुँदै रामेछापको जिल्ला अस्पतालको नवनिर्मित भवन अगाडि ओर्लियौं। अस्पताल परिसरमा सरर हेर्दा हरियाली जंगलको बीचमा नयाँ भवन, अत्यन्तै सफा अनि शान्त वातावरण, निकै मनमोहक लाग्यो। मन फुरुङ भयो। तर नयाँ ठाउँ, कताकता संकोच लाग्नु पनि स्वाभाविक नै थियो। अस्पताल प्रमुख सरकारी सेवा प्रवेश गर्दाको सहकर्मी हुनुभएकाले धेरै कुरामा सहज हुनेमा विश्वस्त थियौं। हाजिर गर्ने प्रावधान सोही दिन मिल्यो। यसरी रामेछाप जिल्ला अस्पतालको बसाइ सुरु भयो।
भूकम्पपश्चात्को पुननिर्माणमा जर्मनीको सहयोगबाट नेपालमा तीन अस्पताल भवन (रामेछाप, जिरी र गोरखा) निर्माण गरी हस्तान्तरण गरिएको रहेछ। भवनसँगै उपचारका लागि चाहिने विभिन्न उपकरणसमेत जर्मनीबाट सहयोगमा प्राप्त भएको र त्यसमा नेपाल सरकार र बागमती प्रदेश सरकारको समन्वयमा अस्पतालले फड्को मारेको रहेछ। रामेछापका बिरामीले आधुनिक सेवासुविधा आफ्नै जिल्लाको अस्पतालमा लिने सौभाग्य पाएका रहेछन्। नेपालका कुनाकाप्चामा पनि यसरी अस्पतालहरू बन्नु खुसीको कुरो भयो। अस्पतालको भवनमात्र नभई चिकित्सकहरू बस्ने आवास र क्यान्टिनको भवनसमेत जर्मनीको सहयोगमा बनेको रहेछ।
सुरुका केही दिन नयाँ परिवेशमा घुलमिल हुन, अस्पतालका कर्मचारीसँग चिनाजानी हुन र हाम्रो बसोबासको व्यवस्था मिलाउन लागे पनि ओपीडीमा बसेर बिरामी हेर्ने हाम्रो कर्तव्य पनि सुरुआत गर्र्यौं। आइतबार र बिहीबार हाट लाग्ने भएकाले अरू दिनको तुलनामा धेरै बिरामी अस्पताल आउने रहेछन्। बाँकी दिनमा औसत ५०–६० बिरामी ओपीडीबाट चेकजाँच गराएर सेवा लिने रहेछन्। दिनमा औसत ८÷१० बिरामी वार्डमा भर्ना हुने रहेछन्। अस्पतालमा एक वर्षदेखि सुरु भएको सिजेरियन सेक्सन (अप्रेसन गरेर बच्चा निकाल्ने विधि)ले गर्भवती महिलाहरूले जिल्लामै सेवा लिन पाइरहेका रहेछन्। बुझ्दै जाँदा अस्पताल सोचेभन्दा सुविधायुक्त लाग्यो।
काठमाडौंको आधुनिक सुविधायुक्त परोपकार प्रसूति तथा महिला अस्पताल, थापाथलीको तीन वर्षको विशेषज्ञ पढाइपछिको यो अस्पतालको जागिर चुनौतीपूर्ण थियो। अस्पताल भनेको विभिन्न विधाका चिकित्सकलगायत नर्स, प्यारामेडिक्स, प्रशासन, लेखा र कार्यालय सहयोगीको टिम हो। बिरामीको चाप र ठाउँअनुसार यो टिम सानो वा ठूलो पनि हुन सक्ने भयो। बेहोस बनाउने चिकित्सक, बालरोग विशेषज्ञ, सहज रूपमा चलिरहेको रगत बैंक र अप्रेसन गर्दा जोखिमहरू आइपरे सम्भावित औषधिको अभावमै सिजेरियन गर्नुपर्ने अवस्था चाहिँ चुनौतीपूर्ण थियो। नजिकको रेफरल सेन्टर नै गाडीमा ३÷४ घण्टा टाढा हुनु पनि समस्या रहेछ। काठमाडौंबाट बाहिर प्राय: धेरै जिल्लामा यसरी नै सेवा सञ्चालन गर्न बाध्य छौं।
अस्पतालको टिम सानो भए पनि सबैजना निकै मेहनती र ऊर्जावान् लाग्यो। उहाँहरू सबैजनाको त्यो ऊर्जा, साथ सहयोगले आफूमा पनि जोसजाँगर अझ थपिन्थ्यो। अस्पताल विकास समितिको अध्यक्ष र अस्पताल प्रमुख पनि निकै सकारात्मक हुनु हुँदोरहेछ। अस्पताल विकासका सकेसम्म कोसिस गरांै भनी उहाँहरू दत्तचित्त भएर लाग्नुभएको रहेछ। रामेछाप बसाइँ रमाइलो लाग्दै थियो। आमा दिदीबहिनीले महिला चिकित्सक भएकाले मसँग खुलेर समस्याबारे कुरा गर्न थाल्नुभयो। जाँच गर्न संकोच मान्नु भएन। सहयोग गर्न पाउँदा आनन्दित भएँ। सकेसम्म समस्यालाई ध्यान दिएर सुन्ने र रोग निको पार्न जानेको ज्ञान र सीप लगाउने कोसिस गर्थें। फलोअपमा ठीक भयो, कम भयो, सजिलो भयो भन्दै हर्षित हुँदा मन निकै प्रफुल्लित बन्थ्यो।
रामेछाप जिल्ला अस्पतालसम्म आइपुग्ने यातायातको भने निकै असुविधा महसुस गरें। ९ महिना लागिसकेका गर्भवती महिला दुईतीन घण्टाको बाटो हिँडेर अस्पताल आउँदा निकै नमिठो लाग्यो। लौरोको सहायतामा आङ (पाठेघर) खसेकी ७० वर्षीया आमा ३ घण्टा हिँडेर अस्पताल आइपुगेको सुन्दा मन पिरलियो। आमा बिमा गर्नुभएको छैन ? बिमा भनेको के हो ? भनेर सोध्ने अर्की बूढीआमा सम्झँदा अहिले पनि नराम्रो लाग्छ। सरकारले जनताको लागि भनेर ल्याएका बिमाका कार्यक्रम र सेवासुविधा झनै गरिब दु:खीले चाहिँ पत्तै नपाउने ? एकदमै खेदजनक कुरा।
अस्पताल छ, हामी विशेषज्ञ चिकित्सकलगायत टिम छ तर अस्पतालसम्म आइपुग्ने यातायातको असुविधाका कारण अनेक समस्या। साधनस्रोत र जनशक्तिअनुसारको बिरामीले सेवा लिन पाएका छैनन् जस्तो लाग्थ्यो। स्थानीय निकाय सायद यो कुरामा विभिन्न योजना बुन्दै होला। छिट्टै ती योजनाको कार्यान्वयन भएको सुन्न पाइयोस्।
रामेछाप बसाइको करिब तीन महिनापछि पर्यटकीयस्थल दोरम्बामा होमस्टे पुग्यौं। सेतो लालीगुराँसले ढपक्क सैलुङको सुन्दरता हेर्ने र खाडादेबी माताको दर्शन गर्ने अवसर मिल्यो। अस्पतालकै चिकित्सकहरू, एनेस्थेसिया सहायकसहितको त्यो भ्रमण जीवनभर सम्झनयोग्य रह्यो। रामेछापको बसाइ मीठा सम्झनाहरू समेट्दै थियौं। तर अचानक दुवैजनाको सरुवा हुने चिठी आयो। नमज्जा लाग्यो। नजिकै जिल्लाको अर्काे अस्पतालमा चिकित्सकको अभाव खड्किएकाले हामी दुवैको सरुवा हुने भयो। सरुवा स्वाभाविक हो र सहर्ष स्वीकार्नु पर्छ भन्ने निर्णयमा पुग्यौं।
रामेछापवासीको सेवा गर्न यतिमात्र जुरेको रहेछ। भविष्यमा घुमिफिरी रामेछाप आइएला भन्ने लाग्यो। थोरै समयमात्र भए पनि सेवा गर्ने अवसर मिल्यो, आत्मीयता गाँसियो। मीठा यादहरू लिएर रामेछाप अस्पतालबाट बिदा भयौं। कर्मचारी, प्रशासन र जिल्लावासीको माया र सद्भाव जीवनकै ऊर्जा बनेको छ।