समाज समेट्ने कथाहरू

समीक्षा

समाज समेट्ने कथाहरू

साधनाकृत कृतिमा २५ कथा छन्। जसमा उनले आफू जन्मेको, हुर्केको देशको दुर्नियतिलाई देखाउने क्रममा वैदेशिक रोजगारीले निम्त्याएका सामाजिक विचलन, राजनीतिले जन्माएका विसंगति र नारीका आवाज उठाएकी छन्।

मृत्यु अवश्यम्भावी छ, यसलाई न देख्न सकिन्छ, न त भेट्न। जीवनको ज्योति कतिखेर निभ्छ, कसलाई के थाहा ? अनेकौं तृष्णाका पछि कुद्दाकुद्दै एकदिन समाप्त हुन्छ हाम्रो समय। मृत्यु आफैं रोज्ने अपवादबाहेक सबै कार्य सकेर कालको पर्खाइमा बस्ने मान्छे कोही छैन यो लोकमा। किनभने यो वैभव छोडेर नदेखिने स्वर्ग पुग्नु नै छैन। मान्छेका गर्न बाँकी कैयौं इच्छाआकांक्षा पनि मृत्युसँगै चिता चढ्नेछन्। यसको बोध भए पनि चेतनमनले मृत्युलाई स्विकार्दैन। लेखनाथ पौड्यालको ‘कालमहिमा’ सम्झिएँ ः– आयो टप्प टिप्यो लग्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो।

दुई तीन वर्ष अगाडिको कुरा हो, कान्तिपुर दैनिकमा छापिएको कथा यमदूतको आत्मसमर्पण पढेर चकित परेकी थिएँ। शीर्षक सुन्दैमा आश्चर्य लाग्नु स्वाभाविकै हो। बाफ्रे ! कस्तो कस्तो कथा जन्माउँछन् लेखक। ध्रुवसत्य कथनलाई पनि फितलो बनाएर मृत्यु जितेकी साहसी नारीको कथा हो यो। कथामा आमाको ममताका अगाडि यमदूत झुक्छ। बडो विचित्रको कथा छ यो। नारीलाई लिन आएको यमदूत किन आत्मसमर्पण गर्छ ?

मर्मस्पर्शी कथा आजसम्म यमराजको आज्ञाको अवज्ञा गर्ने दुस्साहस कसैले गरेको थिएन। यमको आज्ञा सदैव विधिविधानसम्मत हुन्छ तर तैंले मिति पुगिसकेकी त्यस स्त्रीलाई यहाँ उपस्थित नगराएर विधाताको विधिलाई नै चुनौती दिइस् किन ? त्यस्तो कुन परिस्थिति आइलाग्यो जसका कारण यमराजको अवज्ञा गरिस् ? यमराजले यसरी दूतलाई थर्काएपछि उसले सम्पूर्ण बेलिबिस्तार लगाउँदा त्यो स्त्रीको उज्यालो भएदेखिको दिनचर्या पर्दामा फिल्म हेरे झैं प्रष्ट देख्दा यमराज आफैं छक्क पर्छ। नारीको काँधमा के कति जिम्मेवारी हुनेरहेछ। यो उनले दैनन्दिनीलाई कथामा उतारेकी होलिन् तर पाठकले आफ्नै सम्झन्छन्। साँच्चै, प्रत्येक घरका नारीले काँधमा कति जिम्मेवारी बोकेका हुन्छन् ? रोबोट झैं जीवनयापन गर्दागर्दै काल लिन आइसक्छ तर काम सकिएको हुँदैन।

यो अनुच्छेदमा यमदूत आफैं भक्कानिन्छ– ‘अब एउटा अन्तिम काममात्र बाँकी छ। त्यसपछि त म गइहाल्छु। छोरो त अलि ठूलै छ आमा मरेको बुझ्ला। छोरी सानै छ, स्कुलबाट फर्कंदा मलाई देखिन भने विचलित हुन्छे।’ त्यति भनिसक्दा नसक्दै हांिनँदै छोराछोरीको कोठामा पसेर तिनले बिहान फुकालेर गएका लुगा उसले छातीमा च्यापी। म्वाईं खाई। ऊ सुतेको ओछ्यान सुँघी अनि उसको ठूलो फोटो समातेर भनी, ‘छोरी, मलाई थाहा छ आज पनि तिमी बाहिरबाटै मलाई बोलाउँदै आउनेछौ तर अब तिमीले सम्हालिनै पर्छ छोरी। यमदूत, छोरी स्कुलबाट आइहाली भने मलाई छोड्ने छैन उसले। त्यसैले मलाई तुरुन्तै लैजानोस्, छिट्टै लगिहाल्नोस्।’ उफ्... यो भन्दाअगाडि लेख्नै सकिनँ। यो मोहजाल तोडेर यसैगरी यमदूतको पछि लाग्नेछु एकदिन।

अचेलका महिला गृहिणीमात्र हुँदैनन्। आजका अधिकांश महिला पुरुषसरह घरबाहिरको जागिरे जीवनमा सक्रिय छन्। अफिस सकेर घरमा पसेपछि पुरुषको तुलनामा महिलाको कार्यभार धेरै हुन्छ। घरभित्रको काम पनि बराबर बाँडेर गर्नुपर्छ भनेर समाजले पुरुषलाई सिकाउन सकेको छैन। तर सबै परिवारमा यो नियम लागू नहुन सक्छ। प्रायः धेरै कामको जिम्मेवारी महिलाले निर्वाह गर्दै आएका छन्। सहकार्य र सहभावको संस्कृति हरेक पुरुषको मानसिकतामा विकसित भइसकेको छैन। सामाजिक अवस्थालाई मध्यनजर गर्दै लेखिएको हो यो कथा। पुरुषप्रधान समाजले यो कथामा उठान गरेका विषयवस्तुमाथि मिहिन ढंगले अध्ययन गर्‍यो भने महिलामात्र श्रमको दोहोरो मारमा पर्ने थिएनन् कि ? सबैको सोच बदलियो भने समाज अवश्य बदलिन्छ। त्यति भएपछि समाजले महिलालाई हेर्ने दृष्टिकोणमा पक्कै बदलाव आउनेछ।

विजय मल्ल र विश्वेश्वरप्रसाद कोइरालाका कृतिमाथि फरक धारबाट अध्ययन गरेकी डा. साधना प्रतिक्षा एक सशक्त नारी हस्ताक्षर हुन्। मल्लको नाटकमा विद्यावारिधी गरेकी साधनाका प्रत्येक कथामा समाज अटाएको छ। उनका कथामा कुनै बनावटीपन छैन। सत्यलाई कथा र कवितामा उतार्ने साधनाले सबै नारीको प्रतिनिधित्व गरेकी छन्। कथामा नारीका दमित आवाजले विद्रोह गरेका छन्। २०७६ को नारी दिवसमा कीर्तिपुरमा अञ्जना भाउजूको पुस्तक ‘स्मृतिलोकको यात्रा’ विमोचन भयो। प्रमुखअतिथि हुनुहुन्थ्यो डा. प्रतिक्षा। साधनाकृत ‘सन्दिग्ध समयका पाइला’ पुस्तक पढेपछि ती जादूगरी कथाको मोहमा परें।

साधनाकृत यमदूतको आत्मसमर्पणमा २५ कथा छन्। जसमा उनले आफू जन्मेको, हुर्केको देशको दुर्नियतिलाई देखाउने क्रममा वैदेशिक रोजगारीले निम्त्याएका सामाजिक विचलन, राजनीतिले जन्माएका विसंगति, कोरोना माहामारी र पुरुषप्रधान समाजमा दबिएर बसेका नारीका आवाजलाई उठाएकी छन्। कथामा मान्छेको जीवन नै विसंगतिको पासोमा निस्सासिएको र मृत्युचेतनाद्वारा त्रसित भएको देखिन्छ। भन्छिन्, ‘विश्वविद्यालय परिसरमा ढकमक्क फुल्ने असारे, शिरीष अनि नीलकाँडाका फूलजस्तै मनमोहक बनाउन नखोजेको कहाँ हो र कथाहरूलाई ? तर समाजमा जरा गाडेका अनेकौं विकृति र विसंगतिले आकाशे बेलीजस्तै तितो अनि सिउँडीजस्तै तिखो पो बनाइदिन्छ कथाहरूलाई !’

यौन मनोवैज्ञानिक कथा एक पतिताको साबिती बयानले ध्यान तान्यो। समाजमा यस्ता अतृप्त मन बोकेर बसेका मनुष्यका थुप्रै कथा छन्। वैदेशिक रोजगारी पनि परिवार विखण्डन गर्ने एउटा कारण हो तर यो घटना श्रीमान्को असमझदारीका कारण घटेको हो। पेटको भोकजस्तै हुन्छ शारीरिक भोक, यसलाई दबाएर राख्दा उन्मुक्तिको बाटो खोज्छ। कथाकी नारी परपुरुषसँग शारीरिक सम्बन्धमा रहेपछि कथाले अनेक किसिमका बाटो पहिल्याउन खोज्छ तर सबै बाटो बन्द हुन्छन्। अनेक दुःखकष्टले घेरेर एकदिन मर्नै पर्ने वास्तविकता अगाडि उभिन्छ।

पद, प्रतिष्ठा र व्यक्तित्व विकास नै सबैथोक ठान्ने श्रीमान् र यौवनिक मन भएकी रंगीन सपना बुन्ने यौवनापत्नीको कथा हो यो। यौवनिक मनले चाहेको सुखका अगाडि सबै ऐश, आरामगौण भइदिन्छन्। शारीरिक सुखको खोजीमा बाहिरी संसार विचरण गर्दै एउटी नारीको जीवन छरपष्ट भइदिन्छ, जीवनको अन्तिम घडीमा पुगेपछि ऊ प्रायश्चित गर्छे। कथाको अन्त्यमा ऊ श्रीमान्का अगाडि उभिएर भन्छे, ‘आफ्नै अन्धवेगमा हुत्तिएकी म निकै पर पुगेपछि झस्किएँ। पत्नीका चाहना र आकांक्षालाई केवल गाँस, बास र कपासले परिपूर्ति गर्न खोज्नु तिम्रै मुर्खता थिएन र ? पत्नीप्रति सदा उदासीन रहने तिम्रो कमजोरीले नै मलाई त्यो दलदलमा फसायो...।’ कथा अप्ठ्यारो मोडमा गएर टुंगिन्छ। आफैंसँग प्रश्न गर्छु ! एउटी नारी कति सजिलै पतिता बनेर सक्किई। त्यहाँ पुरुषको गल्ती छैन र ? कसले बनायो उसलाई पतिता ? मानवजीवनमा देखिने यौनरोगका विभिन्न कारणमध्ये लोग्ने र स्वास्नीबिचको शारीरिक सम्बन्धलाई पनि सूक्ष्म रुपमा अध्ययन गर्न जरुरी छ। जुन यो कथाको मूलआशय हो।

कोरोना महामारीले निम्त्याएको विनाश कोरोना कहरका बेला लेखिएका कथा पनि यो संग्रहमा अटाएका छन्। कहिल्यै नसुध्रिने पात्रहरू, कोरोना–सहिद मनकुमारीजस्ता कथा अत्यन्तै मन छुने छन्। कोरोना कथाले बितेका ती डरलाग्दा पललाई झस्काउँछ। धनसम्पत्ति, दम्भ, रवाफ बोकेर बाँचेका मै हुँ भन्नेहरूलाई धेरै पाठ पढाएर गयो कोरोनाले। साधनाका कथामा नारी पात्र शिक्षित छन्, साहसी छन्। अब नारी घाँस–दाउरा र चुल्होचौकामा सीमित छैनन् भन्ने दर्साइएको छ। जुन कथाको सबल पक्ष हो।

सपनाको राजकुमार र चाँपको बिरुवा नामक कथाको सार एउटै छ– एक्लो जीवन। तिर्खाएको नदी उत्कृष्ट कथा हो। समयसँगै बदलिएको सम्बन्धले आमा विक्षिप्त बन्छिन् यो कथामा। आमाको आशाले मायालाग्दो नजर फाल्छ छोराको पदचापतिर। गाउँ छोडेर आएकी आमाका लागि छोरो बस्ने सहरले खुसी दिन सकेको छैन। आधुनिकताले रुमल्लिएको स्वार्थी परिवेशसँग त्यो बूढी आमा समायोजित हुनसकेकी छैनन्। यसरी नै उनको जीवनरथ गुडिरहेछ। साँच्चै, मातृत्व कस्तो अनौठो ! ज्वरो आउँछ छोरालाई तर रन्कन्छ आमाको निधार। घाउ लाग्छ सन्तानलाई तर चस्कन्छ आमाको छाती। भौतिकवादी परिवेशमा बुढ्यौली अनावश्यक बोझ बनेको छ। सन्तानको सामिप्यका निम्ति मरुभूमिझैं तिर्खाएका छन् धेरै मातापिता !

कार्यक्षेत्रमा एकछिन, बेइमानको ओखती, मतदान, मसानघाटको शान्ति, वर्तमानको नियति, आदि कथामा देशको राजनीतिक अवस्थाका कारण नागरिकले भोग्नु परेको दुःखकष्ट औंल्याइएको छ। नेताहरूले नेपाललाई नवनिर्माण र विकासका नाममा कसरी ध्वस्त बनाइरहेका छन् भन्ने कुरा छन् कथामा। मन परेको कथा वर्तमानको नियतिबाट एक अनुच्छेद– ‘देशले आज रगत मागेकै छैन। आमा सन्तानलाई रणभूमिमा पठाउन तयार छैनन्। सीमारक्षा, राष्ट्रिय अखण्डताका लागि होइन यो युद्ध, यो लक्ष्यविहीन युद्धको विभिषिकामा छोरो आहुति गर्न अबका आमाहरू तयार छैनन् !’ कथाकार डा. साधनालाई धेरै बधाई।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.