म धोबीको मैलो लुगा
जसरी पकाउँछ धोबीले
खरानी मिसाएर मैलो–दुर्गन्धित लुगा,
ढुंगाको खस्रो अचानोमा–त्यस लुगालाई,
जसरी पछार्छ मच्चीमच्ची,
जसरी बजार्छ उफ्रीउफ्री,
जसरी निचोर्छ,
जसरी झट्कार्छ ...।
हे, प्रभु !
मलाई पनि त्यसरी नै
पकाऊ, छड्काऊ, उमाल–तातो पानीमा,
त्यसरी नै चुट, पछार, बजार–चट्टानमा
त्यसरी नै निचोर, झट्कार–
तिम्रा दिव्य हातहरूले !
म धोबीको त्यही लुगा हुँ,
मैलिएको–
आफ्ना गलत सोच र नियतहरूले,
दुर्गन्धिएको–
आफ्ना गलत आचार र कर्महरूले।
म तातो पानीको छड्काई सहन्छु,
म मुंग्राको प्रहार सहन्छु,
चुटाइ, कुटाइ सबै सहन्छु।
प्रभु–
मलाई सफा हुनु छ–
जन्म–जन्मान्तरको फोहोरबाट,
जन्म–जन्मान्तरको दुर्गन्धबाट।
‘प्रभुसँग’ शृंखलाबाट