जगतलाई प्रश्नैप्रश्न

समीक्षा

जगतलाई प्रश्नैप्रश्न

प्रतिवहनभित्रका कथाहरू पढिसक्दा गम्भीर भएर सोच्न थालें– आजसम्मको समाज र परिवारको संरचना हामीसम्म आइपुग्न कत्रो समय लागेको थियो। सम्बन्धहरूलाई पवित्र बनाउन कति संघर्ष गर्नु परेको थियो। तर मानवले आधुनिकताको सीमा पार गरेर र त होला आज समाज प्रतिवहनमा बग्दैछ। 

ईश्वरको स्थानमा स्थापित मातापिताहरूबाटै सन्तान सुरक्षित छैनन् यहाँ। आदरणीय, सम्माननीय र माननीय व्यक्तिहरूको खोक्रोपनले सम्बन्धहरू अविश्वसनीय हुँदैछन्। अग्रजहरू पनि कामको भोको हुँदा कलिला बालाहरू घरमै सुरक्षित छैनन्। समाजभित्रका डरलाग्दा घटनाहरूलाई अझ काव्यको कसीमा पढ्दै जाँदा जो कोहीको हृदय विक्षिप्त हुन्छ। 

सोच्दै थिएँ– अहो ! यसरी प्रतिवहनमा समाज बगिरह्यो भने ? सृष्टिको लीला के पो होला ?

प्रतिवहन कथा संग्रहमा विपरीत समय र परिस्थितिका कारण उत्पन्न भएका समस्याहरू भत्किएका मन, गाँठो परेका सम्बन्ध, स्वार्थले जेलिएका प्रेम, अतृप्त भोकले चुँडालेको परिवार र विखण्डित हुन आँटेका समाजको तीतोसत्यलाई सरल शब्दको जादुले २१ कथा निर्माण भएका छन््। मनिषा गौचनको वल्लीको डायरी र ह्वाइट केनपछि तेस्रो कृतिको रूपमा ‘प्रतिवहन’ आएको छ। गौचनले समाजमा व्याप्त गम्भीर विषयहरूलाई बढो सुन्दर ढंगले उठाएकी छन््।

अँध्यारोबाट उज्यालोको मार्गमा हिँड्न सिकाउने गुरुहरूले नै झ्याप्प बत्ती निभाएर समाजमा अँध्यारो फैल्याउन थालेपछि उज्यालोको खोजीमा भौंतारिएका पुस्ताहरू कता पुग्लान्। शिक्षाको मसाल बोकेका मान्यहरूले व्यक्तिगत इच्छालाई मात्र महत्त्व दिने शिक्षा कहाँबाट प्राप्त गरे ? इन्द्रियहरूलाई जितेर मुक्तिको मार्गमा डोहोर्‍याउने गुरुहरू नै कामले वशीभूत हुँदा शिष्यहरू कुन मार्गमा जालान् ? संग्रह पढिसकेपछि प्रश्नहरूको सुनामी उठिरहे। साँच्चै प्रतिवहनमा यो संसारै घुम्न थाल्यो भने सारा अस्तित्व के होला ? के आफूलाई बुद्धिमान ठान्ने मान्छेले आखिर प्रकृतिको उल्कालाई रोक्न सक्ला ?

आशा गर्छु मान्छे जस्तो स्वार्थी छैन प्रकृति। प्रकृतिलाई नबिथोलेसम्म प्रकृति प्रतिवहनमा कदापि बहँदैन। मान्छे जस्तो सचेत प्राणी प्रतिवहनमा हिँडेर आफ्नो सभ्यतामा दाग लगाएको चालै नपाउने रहेछ। मान्छेले त मानवीय गुणहरूलाई तिलाञ्जलि दिइसक्यो। मान्छेले अब केमात्र गर्न बाँकी छ र ? प्रतिवहनमा बग्नु मानवको स्वभाव हो। कि प्रयोग या मानवले समाजसँग गरेको रेला वा खेलाँची ? आजसम्मको मानव समुदाय कुनै जादुले निर्माण गरेको भने पक्कै होइन। मान्छेले लामो समयसम्म कठोर संघर्ष गरेर प्राप्त गरेको सौभाग्य हो यो मानव समाज, सम्बन्ध, परिवार, धर्म, नीतिनियम, कानुन। तर आज मानव उल्टो मार्गमा हिँड्दै छ ? आफ्नो अस्तित्व, मान मर्यादा नष्ट गर्न लालायित छ। प्रतिवहनमा देखाएको समाज कली कालको प्रभाव हो या उत्तरआधुनिक समाजमा भौंतारिएका विक्षिप्त मनहरूको विवशता ? बहस अनिवार्य छ।

गौचनका कथाहरू पढ्दै जाँदा हृदय कोपरिन्छ। महादेवले कामदेवलाई भष्म गरेको प्रसंग घरीघरी याद आउँछ। साँच्चै कामदेव भष्म भएका थिए भने यो कलीमा कसले कामदेवलाई सुत्न नसक्ने गरी जागृत गरिदियो ? भुइँ मान्छेदेखि उपल्लो दर्जाका शिक्षित र सम्भ्रान्त सबै खाले वर्गलाई केवल भोक र भोगले गिजोलेको छ। मान्छे खाना, नाना र यौन चाहनाभन्दा माथि उठ्नै सकेको छैन। मानव हुनुको बोधलाई भुलेर मान्छे भोगविलासमा मात्र लिप्त छ। खोइ चेतनशीत मान्छे कहाँ छन् ? मान्छे हुनुको महत्त्व के हो ? थाहै छैन।

आखिर आधुनिकता केका लागि ? के हो सम्पन्नता ? पूर्वीय दर्शनको छत्रछायाँमा हुर्किएका हामी शरीरभन्दा माथि आत्माको अस्तित्वलाई स्वीकार गर्दै आएका छौं तर कसरी हामी शरीरको मात्र पुजारी हुन पुग्यौं ? खोइ हाम्रो दर्शन ? खोइ हाम्रो मूल्यमान्यता ? हामीले कसरी आफूलाई सर्वश्रेष्ठ मानव हुँ भन्ने ? मान्छे हुनुको मुख्य गुण के हो ? खानु, पिउनु र सुत्नुमात्र हो मानव जीवनको लक्ष्य ? पशुसँग तुलना गर्न नमिल्ने मानव मनका मार्मिक, यथार्थ र जीवन्त कथाहरूले पाठकलाई प्रश्न गरिरहन्छन्।

यौन मनोविज्ञानलाई कथाकारले बढो उम्दा तवरले उठाएकी छन्। प्रायः कुण्ठाले ग्रसित मानवीय मनहरूलाई मनिषाको कलमले छोएको छ। मनिषाले कथाका पात्रहरू हाम्रै समाजभित्रबाट टपक्क टिपेर राखेकाले कथाहरू कारुणिक छन्। कथाहरूमा स्पष्टसँग आजको समाज बोलेको छ। गौचनका कथाहरूले सोच्न बाध्य पार्ने छ साँच्चै हाम्रो समाज कुन दिशातर्फ उन्मुख हुँदैछ। हाम्रो सभ्यता संस्कृत कता जाँदैछ। सचेत मानवले ख्याल गर्ने बेला आएको कुरा कथाले बोल्छ। पिताले छोरीलाई बारम्बार बलात्कार गरेको देख्नु पर्ने ? आमाले छोरीलाई मान्छे हुँ भनाउँदाहरूबाट जोगाउन संगिनी सुई लगाएर सुरक्षित पार्नु पर्ने ? अनि फेरि हामी त्यही समाजमा छाती फुलाएर हिँड्छौं। आफूलाई सभ्य र समृद्ध भएको ठानेर मुस्कुराएका छौं। गौचनका कथाले बारम्बार झापड हानिरहन्छ समस्त मानव र मानवताको वकालत गर्ने समूहलाई।

माया, प्रेम, त्याग, समर्पण, सहयोग, सद्भाव, विश्वास र शान्तिजस्तो मानवीय गुणहरूलाई छल, कपट, हिंसा, हत्या, बलात्कार, बैमानी, धोकाजस्ता दुर्गुणहरूले प्रतिस्थापन गरेको हामीलाई थाहै छैन। हामी चरम व्यक्तिवादी भैसकेका छौं। त्यसैले अबको मानवलाई कुनै पनि सम्बन्धले बाँधेर राख्न सक्दैन किनकि अबको मान्छे हिंस्रक बन्दैछ। ऊ अशान्त छ अनि अशान्त मान्छेबाट कस्तो अपेक्षा राख्ने बढो गम्भीर प्रश्न उठेका छन्। 

यौन प्यास मेट्न नपाउँदा प्रेमीले आठ वर्षको बच्चाको घाँटीमा पासो झुन्ड्याइदिनु प्रेमको कस्तो परिभाषा हो ? भौतिक सुख र सुविधाका लागि आजका सन्तान आफ्नो कौमार्यलाई बिक्रीमा राख्छन् किन ? कहिले पूरा नहुने मृगमायाको खोजीमा आजको मान्छे हराइसकेको छ। मान्छे चरम सुविधाभोगी भयो। इच्छा पूरा गर्न आजको मान्छे जस्तोसुकै काम गर्न पछि पर्दैन।

मर्यादा पुरुषोत्तम रामका पूजक हामी कता भासिँदै छौं ? यी सबै घटनाक्रममा बुनिएका कथाहरूका कारण संग्रहको नाम ‘प्रतिवहन’ राख्नु उचित देखिन्छ। अनुशासन, मानमर्यादा र सभ्यताको पाठ सिकाउने शिक्षकहरू नै शरीरको भोक मेटाउन विद्यार्थीहरूलाई क्याप्सुल बनाएको कथाले रन्थन्याउँछ। सभ्य, सुसंस्कृत र मर्यादित समाज कसरी प्रतिवहनको मार्गमा हाम्फाल्यो ? बढो गम्भीर प्रश्न छन्। अशान्त, असभ्य र उच्छृंखल मानवीय मनका पोयोहरू निकै सरस, सरल र शालीन तरिकाले आख्यानमा उतारेकी छन् मनिषा गौचनले।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.