इंग्ल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा
सिड्नी : उपाधि दावेदार इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ। कोलम्बियामाथि २-१ को पूनरागमन जित निकाल्दै इंग्ल्यान्डले अन्तिम चारमा स्थान पक्का गरेको हो।
इंग्ल्यान्डको जितमा लौरेन हेम्प र एलेसिया रुसोले गोल गरिन्। कोलम्वियाकी लेसी सान्तोषको गोल सान्त्वना बन्यो। स्टेडियम अष्ट्रेलिया सिड्नीमा शनिबार भएको खेलमा इंग्ल्यान्डले बल पोसेसन राख्दै दवाव बढाएपनि गोल खान पुगेको थियो।
४४औं मिनेटमा लिसी सान्तोषले गोल गर्दै यो सिजन लयमा रहेको कोलम्वियालाई १-० को अग्रता दिलाइन्। उनले लिन्डा काइसेडोको पासमा गोल गर्न सफल भएकी थिइन्। तर, कोलम्वियाको त्यो अग्रता लामो समय टिकेन।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा लौरेन हेम्पले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याइन्।
६३औं मिनेटमा एलेसिया रुसोले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा २-१ को अग्रता दिलाइन्। त्यसपछि थप गोल निस्कन नसक्दा इंग्ल्यान्ड २-१ ले विजयी हुन सफल भयो।
इंग्ल्यान्डको जितसँगै अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ। अब इंग्ल्यान्डले सेमिफाइनलमा सह-आयोजक अष्ट्रेलियासँग खेल्नेछ।
अर्को सेमिफाइनलमा स्पेन र स्वीट्जरल्यान्डबीच खेल हुनेछ। पहिलो सेमिफाइनल १५ अगस्टमा हुनेछ। १६ अग्रस्टमा दोस्रो सेमिफाइनल हुनेछ।