गोरखाको चुम्चेतमा एक घर पहिरोले पुरियो, १० घर जोखिममा
गोरखा : चुमनुब्री गाउँपालिका-६ ताजुस्थित बुम टोलका नांगा छिरिङको घर पहिरोले पुरिएको छ। गत बिहीबार बेलुका घरमाथिबाट आएको पहिरोले लामाको घर पुरिएको चुम्चेत लोक्पाका सेराप गुरुङले जानकारी दिए।
मेलाबाट आएर थकाइ मारेर बसेका बेला पहिरो आएको देखेर लामा दम्पती भागेर ज्यान बचाएका उनले बताए। सोही दिनको दिउँसो चुम्चेत खारुङ टोलका लाक्पा लामाको घर जलेर नष्ट भएको पनि उनले बताए।
त्यस्तै सोही दिन वडा नं. ७ छेकम्पारको झोङमा बस्तीमाथिबाट खसेको पहिरोले त्यहाँका १० भन्दा धेरै घर जोखिममा परेका छन्।
पहिरोसँगै आएको ठूलो परिमाणको लेदो घरभित्र पस्दा खाद्यान्न तथा लत्ताकपडाहरू समेत नष्ट भएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए। साथै नजिकैको खेतबारीको फापर, तोरी र चरन क्षेत्र पनि पहिरोले पुरिएको उनले बताए।