बिनाकारण कामबाट निकालेको भन्दै कर्मचारीको आन्दोलन, गाउँपालिकाको कामकाज प्रभावित
विराटनगर : मोरङको बुढीगंगा गाउँपालिकाले बिना कारण कामबाट निष्कासन गरेको भन्दै निष्कासित करारका कर्मचारीले आन्दोलन गरेका छन्। उनीहरुको आन्दोलनले गाउँपालिकाका कामकाज प्रभावित बनेको छ। गाउँपालिकाले कार्यपालिकाको बैठकले बहुमतले निर्णय गरेर करारका कर्मचारीलाई साउन १ गतेदेखि निष्कासन गरेको थियो।
विभेदपूर्ण तरिकाले छानीछानी करारमा रहेका २६ जना कर्मचारीलाई गाउँपालिकाले निष्कारण गरेको भन्दै निष्कासिन कर्मचारीले आन्दोलन गर्दै आएका छन्। सो गाउँपालिकामा यसअघिका जनप्रतिनिधिहरुले ६२ जना विभिन्न तहमा करारमा कर्मचारी बहाली गरेका थिए। ६२ जनामध्ये २६ जनालाई प्रमुख जितनारायण थापा मगरले कार्यपालिका बैठकबाट बहुतले निर्णय गरेर निष्कासन गरेका थिए।
निष्कासन गरिएका करारका कर्मचारीहरुले पुर्नरबहालीको माग राख्दै साउन २३ गतेदेखि गाउँपालिकाको गेटमा तालाबन्दी गरेर आन्दोलन गर्दै आएका छन्। आन्दोलित कर्मचारी र सेवागृहलाई समेत गाउँपालिकामा प्रवेश गर्न दिएका छैन। बूढीगंगा–५ स्थित गाउँपालिकाको मुख्य गेटमै तालाबन्दी गरेर करारका कर्मचारी आन्दोलित बनेपछि काम कारबाही प्रभावित बनेको हो।
काम कारबाही प्रभावित भएपछि सबै पक्षसँग समन्वय गरेर ताला खुलाउन पहल भइरहेको गाउँपालिकाले जनाएको छ। आन्दोलनरत कर्मचारीहरूले गाउँपालिकाअगाडि दैनिक धर्ना दिंदै आएका छन्। मागको सुनुवाइ नभए आन्दोलनलाई थप चर्काएर लैजाने चेतावनी कर्मचारीले दिएका छन्।
सब इन्जिनियर विवेकबाबु थनदारले आफूहरूलाई गाउँपालिकाले विभेदपूर्ण तरिकाले कामबाट निकालेको बताए। ‘करारमा कार्यरतमध्ये २६ जना कर्मचारीलाई बिना कारण र विभेदपूर्ण तरिकाले कामबाट निकालिएकाले आन्दोलनमा उत्रिएको बताए। थनदारले सब इन्जिनियर, अमिन, अहेब, कार्यालय सहायकलगायतलाई कामबाट निकालिएको बताए। गाउँपालिकामा आफूहरूको पुर्नवहाली हुनुपर्ने, हैन भने करारका सबैलाई हटाउनुपर्ने माग राखिएको आन्दोलनरत कर्मचारी बताउँछन्।
गाउँपालिका उपाध्यक्ष अमृताकुमारी गच्छदारले कर्मचारीको अभाव भइरहेका बेला प्रमुखले कार्यपालिकाको बैठकबाट बहुमतले निर्णय गरेर आफू खुशी कामबाट निष्कासन गरेको बताइन्। बैठकमा आफूले पनि सहभागिता जनाए पनि निर्णयमा असहमति जनाएको बताइन्। अहिले जनचाहना अनुसार गाउँपालिकाको सेवा प्रवाह गर्न कर्मचारी भर्ना गर्नु पर्ने बेलामा प्रमुखले मनमर्जी गरेको बताइन्।
कार्यरत कर्मचारीको मुल्याकन र प्रतिवेदन अध्ययन गरेर निकाल्नु पर्नेमा केही नगरी निर्णय गराएर प्रमुखले एकलौटी गर्दा विवाद उत्पन भएको उनको दाबी रहेको छ।
यता गाउँपालिका प्रमुख जितनारायण थापा मगरसंग पटक-पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएनन्।
उता स्थानीय ९ राजनीतिक दलले करारको कर्मचारीको आन्दोलनमा समर्थन जनाउन १३ सदस्य सर्वदलीय संर्घष समिति बनाएका छन्। स्थानीय बलभद्र सरदार थारुको नेतृत्वमा आन्दोलनमा समर्थन दिन सर्वदलीय संघर्ष समिति बनाएका हुन्। निष्कासन गरिएका कर्मचारीलाई पुर्नवहाली गर्नु पर्ने , सवै करारका कर्मचारीलाई समान रुपमा न्ययोचित व्यवहार गर्नु पर्ने लगायतका माग सर्वदलीय संर्घष समितिले अघि सारेको छ। समितिले अतिआवश्यक र स्वास्थयको सेवा दिन आउनेलाई मात्रै कार्यालयमा प्रवेश गर्न दिएका छन्।
कर्मचारी र जनप्रतिनिधिहरुलाई गाउँपालिकामा प्रवेश गर्न भने पूर्ण रोक लगाएको छ।