३३ किलो सुनबारे ओलीले भने : अघिल्लो सरकारको पालामा गायब भएको हो, हामीले कारबाही गर्यौं
काठमाडौं : पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ३३ किलो सुन नभेटिए पनि गायब पार्नेमाथि आफू नेतृत्वको सरकारले कारवाही गरेको दाबी गरेका छन्। आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमालेका अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार बन्नुभन्दा अगाडि नै ३३ किलो सुन आएपनि संम्लग्नलाई कारबाही गरेको दाबी गरेका हुन्।
‘३३ किलो सुन हाम्रो सरकार बन्नुभन्दा अगाडि अनेक सुनहरु उताबाट आउने र उता जाने भएको रहेछ। हामीले छानबिन समिति बनायौँ, सुन त भेटिएन। तर पुराना जो संलग्न छन् तिनिहरुलाई कारबाही गरियो। अहिले पनि जेलमा छन्।’ उनले भने, ‘सुन त बाहिर पठाइसकिएको थियो, कहाँ गायब भयो, तर पत्ता लगाउन सकिएन। तर जति सकियो, त्यो केहिपनि हुने थिएन लुकेकै थियो नि पहिला सबै कुरा। हामीले थाहा पाएपछि छानबिन समिति बनायौं लुकेको कुरा थाहा पाएपछि कानुनी दायरामा ल्याएर कठघरामा उभ्यायौं।’
उनले उक्त सुन अनुसन्धानमा चित्त नबुझे थप छानबिन गर्न यो सरकारले सक्ने बताए। ‘३३ किलो सुन प्रकरणमा अहिलेको सरकारलाई चित्त बुझेको छैन भने अझै त्यस विषयमा थप छानबिन गर्दा हुन्छ। यदि अहिलेको सरकारले प्रश्न उठाउँछ भने थप छानबिन गरोस्, थप छानबिन गर्न सकिन्छ।’
पूर्वप्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले त्यतिबेला कडाईको साथ कारबाही गरिएको दाबी गरे।