पुर्ख्यौली पेसा जोगाउँदै ‘नेवारे कुमाल’
गोरखा : जिन्दगी भरिको कमाइले काठमाडौं उपत्यकामा घरजग्गा जोड्ने र उतै बसोवास गर्ने अधिकांशको सपना हुन्छ। त्यतिले नपुगे भएभरको पुर्ख्यौली जायजेथा बेचेर पनि उपत्यका छिर्ने अहिलेको प्रवृत्ति हो।
तर फरक देखिए तरिबहादुर प्रजापति। उनी २८ वर्षअघि भक्तपुर ठिमीमा भएको घर, जग्गा, पेसा, व्यवसाय छाडे र गोरखा छिरे। हालको सिरानचोक गाउँपालिका-४ चोरकाटेमा जग्गा भाडामा लिए। जस्ताको टहरो बनाए र माटोको भाँडा बनाएर बेच्ने पुर्ख्यौली पेसा सुरु गरे।
चोरकाटे अधिकांश कुमाल समुदायको बसोवास रहेको ठाउँ हो। माटोको भाँडा बनाउने काम कुमाल समुदायको पुर्ख्यौली पेसा हो, त्यसैले उनले चोरकाटे रोजेका हुन्। तीन दशक गरेको मिहिनेतले उनी यस क्षेत्रमा ‘नेवारे कुमाल’ भनेर प्रख्यात छन्।
त्यतिबेला कुन्दुरटार, अढाइगाउँ, ११ किलोमा बसोवास गर्ने कुमाल समुदायले पनि माटाको भाँडा बनाउँथे। बाहिरबाट आएर स्थानीय व्यवसायीहरूसंग प्रतिस्पर्धा गर्नु उनलाई प्रतिकुल थियो। तर त्यतिबेला माटाको भाँडाको उपभोक्ता धेरै हुनुचाहिँ अनुकूल थियो।
समय बित्दै जाँदा देश, विदेशबाट प्लास्टिक, रबर, आल्मुनियम, फलामका भाँडाहरू भित्रिन थाले। ‘वनसाङ्लाले घर साङ्लालाई खेद्छ’ भने झै, विदेशबाट आयातित प्लास्टिकका सामानले गाउँघरका मौलिक भाँडाकुँडालाई संकटमा पार्न थाल्यो।
मूल्यमा सस्तो, बोक्नमा हलुका, घाम पानीले धातुलाई भन्दा सुरक्षित गर्ने, खोजेको जति संख्यामा पाइने भएकाले यिनीहरूको आगमनले माटाका भाँडाहरूको लोकप्रियता हराउँदै गयो। यसैको सिकार भए उनी।
कुन्दुरटार, अढाइगाउँ, ११ किलो लगायत अन्यत्रका कुमाल समुदायले माटाका भाडा बनाउन छाड्दै गए। उपभोक्ताले माटोका सामान किन्न पनि छाड्दै गए। अहिले सीमित उपभोक्ता माझ नेवारे कुमाल बनेर उनी टिकिरहेका छन्। गोरखा जिल्लाभरमै माटाको भाँडा बनाउने अहिले उनी एक्लै बाँकी छन्।
उमेरले ६५ डाँडा काट्यो। अब उनमा पेसा परिवर्तन गर्ने सोच पनि छैन, जोश पनि छैन। पुराना ग्राहक सम्हालेर सानोतिनो व्यापार गर्नुकै मज्जा लिइरहेका छन्। भन्छन्, ‘मेरो व्यवहार चल्ने व्यापार भइरहेको छ, किन फेर्ने काम ?’, उनी भन्छन्, ‘दुई भाइ छोरा छन्। एउटा एयरपोर्टमा ग्रिलको काम गर्छ, अर्को वायरिङको। उनीहरूको कमाइले उनीहरूले पेट पालेको छ, मेरो कमाइले मेरो पनि चलिरहेको छ।’
सुख दुःखमा साथ दिने श्रीमती भने केही वर्षअघि गुमाएको दुखेसो उनले सुनाए। श्रीमती गुमाएपछि दुईजनाले गर्ने काम आफू एक्लैले गर्ने गरेको उनको भनाइ छ।
उनको कारखानाबाट उत्पादित भाँडाकुँडा गोरखा बजार, आँबुखैरेनी बजार र गोरखाका अन्य साना बजारहरूमा बिक्री हुने गरेको छ। ‘हाँडी, भुँड्को, घैँटो, गाग्रो, हुक्का, चिलिम, रक्सी पार्ने हण्डा, मानी, गमला, मकल, पाला, धुपौरो, खुत्रुके बनाउँछु’, उनी भन्छन्, ‘अरू त अलिअलि हो, हाँडीचाहिँ अचेल पनि राम्रै बिक्री हुन्छ।’ खडेरी परेका बेला गाग्रोमा राखेको पानी चिसो हुने भएकाले गाग्रोको व्यापार राम्रो हुने उनको भनाइ छ।
धेरै व्यवसायी नभएपछि उनलाई कच्चा पदार्थ(कालीमाटी)को अभाव छैन। ‘लुदीखोलामा एउटा खानी छ। त्यहाँबाट वर्षमा एकफेर ट्याक्टरमा ओसार्छु। त्यतिले वर्षदिनलाई पुग्छ’, उनी भन्छन्, ‘एकफेर माटोको अभाव भयो। माटो खोज्दै ताकुकोटसम्म पनि पुगेँ। तर अचेल समस्या छैन।’
अहिले उनको कारखानामा पुरानो प्रविधिको कुमालेको चक्र छैन। मोटरबाट चल्ने चक्र छ। माटो मुछ्न पनि मेसिन प्रयोग गर्ने गरेका छन्।
पुर्ख्यौली पेसा गरेर जीविका चलाउनेलाई प्रोत्साहन गर्न गाउँपालिका तथा कुनै पनि तहका सरकारले सहयोग गरेका छैनन्। ‘गाउँपालिकाले अस्ति दुई महिनाको तालिम गर्दा यो घुमाउने मेसिन दिएको थियो, तर पछि त्यो मेसिन लान्छौँ भनेको छ’, उनले भने, ‘यो मेसिन पाउन पाए धेरै सजिलो हुने रहेछ। किन्न भने महंगो रहेछ।’
पुर्ख्यौली पेसा गरेर जीविका चलाउनेहरूलाई पनि सरकारले सहयोग गरे आफूहरू जस्ता निम्नस्तरका उद्यमी, व्यवसायीलाई राहत पुग्ने उनको भनाइ छ।