तस्करीको सुन अनुसन्धानबारे सत्तारुढ दलमै दुई धार, शेखर कोइराला भन्छन्- उच्चस्तरीय छानबिन समिति बनाऔं
काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका छन्। कांग्रेस संसदीय दलको बैठकमा बोल्दै नेता कोइरालाले सुन अनुसन्धानको तार्किक निष्कर्शमा पुर्याउन उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने धारणा राखेका हुन्।
नेपाली कांग्रेसकै समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका हुन्। प्रधानमन्त्री दाहाल स्वयं सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउनेबारे सकारात्मक छैनन्। नेकपा एमालेले भने लामो समयदेखि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ। गतसाता गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणबारे संसदमा जवाफ दिएका थिए।
उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अन्तिम प्रतिवेदन नआउञ्जेल अर्को समिति आवश्यक नरहेको बताएका थिए।
गृहमन्त्रीको जवाफमा चित्त नबुझाएपछि एमालेले संसद अवरोध गर्दै आएको छ। कांग्रेस नेता कोइरालाले एमालेकै लाइनमा सुन तस्करीबारे अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने धारणा राखेका हुन्। कोइरालाको भनाइले सुन छानबिन प्रकरणमा सत्तारुढ दल नै विभाजित भएको देखिन्छ।
बैठकमा बोल्दै कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिरहेको बताएका छन्। उनले सांसद सुनिल शर्मा पक्राउ गरिएकोमा असन्तुष्टि पोखेका छन्। प्रतिशोधको भावनाले नेताहरूलाई गृहमन्त्रीले पक्राउ गरिरहेको उनको भनाइ छ।