बागमतीका १३ हजार ५ सय पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइयो
हेटौंडा : बागमती प्रदेशका पशुपन्छीमा लम्पी स्किन रोगको संक्रमण बढ्दै गएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त रोगविरुद्धको खोप अभियानलाई तीव्रता दिएको छ।
पछिल्लो तीन दिनमा मात्रै साढे १३ हजारभन्दा बढी पशुलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए।
मन्त्रालयले सञ्चालन गरेको साताव्यापी खोप अभियान अन्तर्गत बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिनमा १३ हजार ५ सय १६ पशुलाई खोप लगाइएको हो।
खोप अभियानको पहिलो दिन ४ हजार ४ सय ६७, दोस्रो दिन ४ हजार ६ सय ९४ र तेस्रो दिन ४ हजार ३ सय ३३ पशुलाई खोप लगाइएको अधिकारीले बताए।
अभियान अन्तरगत पछिल्लो तीन दिनमा सबैभन्दा बढी चितवनका पशुलाई खोप लगाइएको छ। त्यहाँ २ हजार ४ सय ८८ पशुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ।
यसैगरी, मकवानपुरका २ हजार ४४, काभ्रेका १ हजार ५ सय २२, सिन्धुलीका १ हजार १९८, धादिङका १ हजार ५५, काठमाडौंका १ हजार ४२, नुवाकोटका ९९८, रामेछमपका ९८२, सिन्धुपाल्चोक ८५६, रसुवा ५८३, भक्तपुर ५५४, ललितपुरका १७ र दोलखाका ८३ पशुमा खोप लगाइएको मन्त्रालयले जनाएको छ।
साउन ३२ गतेसम्म खोप अभियान सञ्चालन हुने र सो अवधिमा ५० हजार पशुमा खोप लगाइने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ।