त्रिशुलीमा बाढी, हिक्लुङको झोलुंगेपुलमा क्षति
गोरखा : आइतबार दिनभर पानी परेपछि त्रिशुलीमा आएको बाढीले हिक्लुङको झोलुंगेपुल नाघेको छ । आइतबार राती त्रिशुली बाढीको उच्च बहावले झोलुंगेपुल क्षतिग्रस्त बनाएको स्थानीय भीमलाल चेपाङले जानकारी दिए ।
‘गएराति त्रिशुलीमा यति ठूलो बाढी आयो कि, पुल नाघ्यो’, उनले भने, ‘पुलको प्यानल लगेको छ । पुल पनि कर्के पारेको छ ।’
पुल क्षतिग्रस्त भएपछि अब हिँड्न नमिल्ने भएको उनले बताए । ‘हिक्लुङ, थुम्का, बालकी, कोराकका मान्छेहरु अब त्रिशुली कसरी तर्ने भन्ने चिन्ता भयो’, उनले भने, ‘अब कि फेरि तुइन हाल्नु पर्ने भयो, कि त्यही प्यानल नभएको पुलमा लठ्ठामा झुण्डिर हिड्नुपर्यो ।’
यहाँभन्दा माथि कौदीफाँटमा र तल हुग्दीमा पनि झोलुंगे पुल छ तर त्यहाँसम्म पुग्न यस क्षेत्रका बासिन्दालाई अनुकूल नहुने स्थानीयको भनाइ छ । धादिङको बेनिघाट रोराङस्थित पृथ्वीराजमार्ग जोड्ने गरी गोरखाको गण्डकी गाउँपालिका ६ हिक्लुङमा २०७५ सालमा यो पुल बनेको थियो । त्यसअघि यहाँ तुइन थियो ।