मठारिँदैछ लोकसंगीत
संगीतका स्रष्टा/सर्जकमा अस्वस्थ प्रतिस्पर्धा छ। रातारात चर्चा हुने लहड चलेको छ। परिवारका सदस्य एकैठाउँ बसेर नेपाली गीत–संगीत सुन्ने र हेर्न नसकिने अवस्था छ। दिनप्रतिदिन लोकसंगीतमा मौलिकता हराउँदै गएको छ। यो चिन्ताको विषय हो।
आजभोलि गीतका शब्द र लयमा ध्यान छैन। घरझगडाका नाममा गीत बन्ने गरेका छन्। गीत–संगीतमा जे पनि शब्द घुसाउन थालियो। तीजको दरका नाममा दारु खाएका शब्द पर्न थाले। गीत–संगीतमा देखिएको यो अराजकता र विकृतिलाई सुधार गर्नैपर्छ। कलाकार जुर्मराउनै पर्ने भएको छ।
हाम्रो मौलिकताको रक्षा गर्न र भोलिको पुस्तालाई शिक्षा दिन पनि सर्जक र स्रष्टामा सांस्कृतिक चिन्तन जरुरी छ। हाम्रो मौलिकताको संरक्षण भयो भने मात्रै नेपालीपन जोगिन्छ। अर्कोतिर हाम्रो समाज बहुभाषी र बहुधार्मिक हो। समाजका सबै जाति, क्षेत्र र समुदायको संस्कृति संरक्षण गर्नैपर्छ, संगीतका माध्यमार्फत पनि।
नेपाली नारीको महान् चाड तीज आउँदैछ। बजारमा अहिले नै तीजका गीत छ्याप्छ्याप्ती भइसकेका छन्। तर, तीजका गीतमा पनि नेपाली मौलिकता छैन। यो गलत हो। तीजको संस्कृति नै हराउने अवस्था आउनु हुन्न। कलाकारहरूले पर्वका गीतलाई बिगार्नु हुँदैन।
हुन त बाढी आएको बेला राम्रा नराम्रा सबै चिज बग्ने गर्छन्। केही राम्रा र मौलिक गीतहरू पनि सार्वजनिक भइरहेका छन्। अग्रज स्रष्टाहरू पर्वको मौलिकता जोगाउने प्रयत्नमा हुनुहुन्छ। यसले अन्य कलाकारलाई पनि जिम्मेवार हुने शिक्षा दिन्छ। गीतको शब्ददेखि पात्रहरूको चयन र दृश्य पनि मौलिक नै हुनुपर्छ भन्ने लाग्छ।
परम्परागत घर, चौतारी र परिवेशलाई गीतका भिडियोले समेट्नुपर्छ। हाम्रा अग्रजहरूले कस्तो गीत गाउँथे, आमा हजुरआमाको पालामा कस्ता शब्द प्रयोग हुन्थे, हाम्रा नयाँ पुस्तालाई सुनाउनु पनि त हाम्रै जिम्मेवारी हो नि ! पुराना लय र शैली अनि शब्दलाई कलेक्सन गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो।
(कोइराला, वरिष्ठ लोकगायिका हुन्)