सडक अवरुद्ध हुँदा सात जिल्लाको जनजीवन प्रभावित
भीमदत्त राजमार्गमा अवरुद्ध सडक सञ्चालनको वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालसँग सुदूरपश्चिम प्रदेशका नेकपा माओवादी केन्द्रका नेताहरूले भेटघाट गरेका छन्। प्रधानमन्त्री भेट्न माओवादी नेताहरू सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।
भेटमा सुदूरपश्चिममा अत्यधिक वर्षाका कारण आएको बाढी र पहिरोले पुर्याएको क्षति तथा भीमदत्त राजमार्गमा भएको अवरोध खुलाउने विषयमा नेताहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
वैकल्पिक मार्गका रुपमा रहेको दैजी जोगबुढा सडक सञ्चालन गर्ने विषयमा समेत सो अवसरमा छलफल भएको थियो । छलफलका क्रममा प्रधानमन्त्री दाहालले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशवकुमार शर्मालाई टेलिफोन गरी भिमदत्त राजमार्ग नियमित सञ्चालन हुने वातावरण बनाउन र दैजी जोगबुढा सडक सञ्चालनका लागि आवश्यक प्रबन्ध गर्न निर्देश दिएको सुदूरपश्चिम प्रदेशसभाका सदस्य ओमविक्रम भाटले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले बाढी प्रभावित क्षेत्रमा शीघ्र राहत तथा उद्धारको प्रबन्ध गर्न समेत निर्देशन दिए। वर्षाले भीमदत्त राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका सातवटा पहाडि जिल्लाको जनजीवन प्रभावित भएको छ।
कैलालीको बुढीतोलामा गएको पहिरोका कारण सडक यातायात पूर्णरुपमा अवरुद्ध भएको छ। ढुवानीका साधानहरू सुचारु नहुँदा जिल्लामा खाद्यान्न ,औषधि,इन्धनलगायत दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ।