निर्माण नसकिँदै ढल्यो पुल, भएन पुनर्निर्माण
उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकाकी उपमेयर मणिकादेवी दुलाल नगर सदरमुकाम बेल्टार जान सधैं छिमेकी जिल्ला सप्तरीको सप्तकोसी नगरपालिकाको सहारा लिनुपर्छ। नगरपालिकाले उपलब्ध गराएको सवारीसाधन चढेर १५ मिनेटमा नगर कार्यालय पुग्ने ठाउँमा झण्डै एक घण्टाको बाटो घुम्न बाध्य छिन्।
दैनिकजसो एक घण्टाको बाटो घुम्नु परेपछि हिजोआज फुर्सद र काम परेको समय मात्र घर आउँछिन त्यसबाहेक बेल्टारमा रहेको कोठामा नै बस्ने गर्छिन्। उनी भन्छिन्, ‘घुमाउरो बाटोका कारण दैनिकजसो आवतजावत गर्दा इन्धन बढी खपत हुने र गाडीलाई समेत मार पर्ने भएकाले नगरपालिका नजिक कोठा लिएर बसेकी हुँ।’
उपमेयर दुलालकै जस्तो समस्या नगर प्रवक्तासमेत रहेका ९ का वडाध्यक्ष प्रकाश राउतको पनि छ। राउत आफ्नै वडा कार्यालय ज्यामिरे जान १ः१० मिनेटको बाटो लगाएर उपमेयरकै रुटबाट हिँड्ने गर्छन्। त्यसो त उपमेयर दुलाल र वडाध्यक्ष राउत मात्र हैन ५ र १० का वडाध्यक्ष तुलसीराम ढकाल, धर्मेन्द्र खड्का र तीनवटै वडाका अन्य जनप्रतिनिधिको बाध्यता पनि उही छ। कारण हो चौदण्डीगढी नगरपालिका–५ शिवाई सुन्दरपुरस्थित त्रियुगा नदीमा निर्माण सम्पन्न हुन लागेको पुल भत्किएको दुई वर्षमा पनि बन्न नसक्नु।
निर्माणका लागि माथिल्लो निकायले समय निर्णय गर्न नसक्दा अहिले पनि पुल अलपत्र अवश्थामा छ। पुल निर्माणको अत्तोपत्तो छैन। सुन्दरपुर, सिवाई, बेलहा, हडियालगायतका क्षेत्रका नागरिकको नगरपालिका केन्द्र बेल्टार बजार र अन्यत्र आउजाउ गर्न सहज बनाउने उद्देश्यले १२ वर्षअघि निर्माण सुरु भएको पुल बनिसक्न लाग्दा ०७८ असार १९ गते बाढीले भत्काएपछि स्थानीयले थप पीडा भोग्नु परेको हो। पुल नबन्दा वर्षात्को समयमा त्रियुगा नदीको वहाव छिचोल्न नसक्ने अवस्था भएपछि तीनवटै वडाका जनप्रतिनिधि र स्थानीयको समस्या एउटै छ। उपमेयर दुलाल, वडाध्यक्ष राउत र खड्काको घर ५÷५ मिनेटको फरकमा हडियामा पर्छ। सम्पन्न गरेर उद्घाटनको तयारी भइरहेका बेला भत्केको उक्त पुल २ वर्ष १ महिना बितिसक्दासम्म मर्मत गर्ने या पुनर्निर्माण गर्नेबारे यकिन नहुँदा अलपत्र परेको हो।
बाढीले लगातार २ पटक भत्काएको उक्त पुल मर्मत नभएपछि स्थानीयवासी कष्टकर जीवन बिताउन बाध्य छन्। असार १९ गते बाढीले दक्षिणतर्फका ३ वटा फाउन्डेसन पिल्लर ढालेपछि २ स्पान भत्केर अलपत्र पारेको थियो। त्यसको १५ दिन नपुग्दै साउन २ गतेको बाढीले पुनः अर्को पिल्लर ढालेपछि तेस्रो स्पान पनि भत्काएर अलपत्र परेको हो।
बाढीले पुल भत्काएको २५ महिना बितिसक्दासमेत मर्मत गर्नेतर्फ सरकारको ध्यान नगएकोमा स्थानीयवासी आक्रोशित छन्। भत्किए लगत्तै पुल निर्माणको रेखदेख गर्ने निकाय गाईघाट–दिक्तेल सडक योजना कार्यालय, भौतिक पूर्वाधार मन्त्रालय मातहतको प्राविधिक टोली स्थलगत अनुगमन गरेपछि मर्मत गर्ने या पुनर्निर्माण गर्ने भन्ने टुंगो लाग्ने जनाएको थियो। तर, २ वर्षसम्म मर्मत वा पुनर्निर्माण गर्ने भन्ने कुराको यकिन नभएको गाईघाट दिक्तेल–सडक योजना कार्यालय प्रमुख (डिई) गोपाल खकुरेलले बताए। उनका अनुसार पुल भत्केको केही दिनमै स्थलगत अनुगमनका लागि डिभिजन सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका सिनियर डिभिजनल इन्जिनियर, पुल महाशाखाका सीडीई र पुल सेक्टर १ धरानका इन्जिनियरको टोली आएको थियो।
टोलीले स्थलगत अध्ययन गरेर फर्केको भोलिपल्टै अर्थात् साउन २ गते फेरि बाढीले अर्को स्पान पनि भत्काएपछि पुनः प्राविधिक टोली बोलाउनु परेको उनले बताए। अनुगमनपश्चात् पनि के गर्ने भन्नेबारे स्पष्ट जानकारी नआएको खकुरेलले बताए। डिई खकुरेलकाअनुसार प्राविधिक टोलीको अध्ययनपश्चात् तयार पारेको प्रतिवेदन विभाग हुँदै मन्त्रालयमा पुगेको भन्ने जानकारी आएको तर, बजेट सुनिश्चित हुन नसकेर काम अघि नबढेको हुनसक्ने बताए। ५ वटा पिल्लर र ३ वटा स्पान बाढीले भत्काउँदा ४ वटा स्ल्याब भाँचिएर कामै नलाग्ने अवस्थामा पुगेको उनले बताए। उनले पुलको मर्मत कार्य छिटो गर्नुपर्ने भन्दै लिखित पत्राचार र सम्बन्धित निकायका अधिकारीहरूलाई भेटेर जानकारीसमेत गराएको बताए। ०६७ सालमा ९ करोड ७६ लाख लागतमा निर्माण सुरु भएको उक्त पुल १२ वर्षसम्म सम्पन्न हुन नसक्नु निर्माण कम्पनीको चरम लापरबाही भएको मेयर कालुमान लामाले बताए।
तीन वर्षभत्र सक्ने सम्झौता भएको ३०७ मिटर लम्बाइ र साढे ५ मिटर चौडाइको उक्त पुल समयमा काम नहुँदा पुनःमूल्यांकन गर्दै जाँदा १२ वर्षमा बजेट पनि ११ करोड २७ लाख पुगेको थियो। पुल निर्माण ढिला हुनुमा स्थानीयवासीले ठेकेदारको लापरबाही भएको आरोप लगाइरहेका छन् भने निर्माण कम्पनीले आवश्यकताअनुसार सरकारले बजेट नदिएको गुनासो गर्दै आएको छ। पुल बाढीले भत्काउनुमा निर्माण कम्पनीकै कमजोरी भएको स्थानीयको आरोप छ। पुलको निर्माणको जिम्मा महालक्ष्मी÷लोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौंले लिएको छ। काठमाडौंस्थित ‘बालाजु स्वाइल कन्सल्टेन्सी’ ले माटो परीक्षण र डिजाइन गरेको पुलमा गुणस्तरहीन सामग्रीको प्रयोग भएकाले भत्किएको हुनसक्ने अनुमान स्थानीयको छ।