मेरो पक्राउप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्छ, गृहमन्त्रीको राजीनामा निशर्त : सांसद सुनिल शर्मा
काठमाडौं : नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफूलाई गैरन्यायिक तरिकाले पक्राउ गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले माफी माग्नुपर्ने बताएका छन्। उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामासमेत माग गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले माफी नमागे, गृहमन्त्रीले राजीनामा नदिए आफू आमरन अनशन बस्ने बताए।
'डेमोक्रेटिक सिस्टमभित्रका म सांसद हुँ। सुन तस्करी प्रकरणमा मैले राजीनामा मागेपछि मलाई पक्राउ गरियो। गृहमन्त्री र प्रधानमन्त्रीले आतंककारी देशको नेतृत्व गर्दै हुनुहुन्छ? म आज डिक्लेयर गर्न चाहन्छु, गृहमन्त्रीले राजीनामा दिनुहुन्न भने प्रधानमन्त्रीले माफी माग्नु हुन्न भने म आमरन अन्सन बस्छु।' उनले गृहमन्त्रीको राजीनामा निशर्त रहेको बताए।
उनले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले अनधकृतरूपमा आफूलाई पक्राउ गरेको भन्दै उनले आपत्ति जनाए।
प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारी भनेपछि माओवादीले आपत्ति जनाएको थियो। माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले आतंककारी शब्द रेकर्डबाट हटाउन माग गरेका थिए। तर सभामुख देवराज घिमिरेले प्रतिवादमात्र आएको भन्दै संसदलाई अगाडि बढाएका थिए।