एक कार्टुन ब्रेकसुमा ७.६८ किलो सुन, अन्तिम परिणाम आउन एक साता लाग्ने
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैध रूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुनलाई नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले तौल तथा गुणस्तर परीक्षण सुरु गरेको छ।
टक्सार विभागले सुन भनिएको ब्रेकसु सहितको ८ पोका पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै फुकाएको हो। टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यका अनुसार पोकामा भएको मध्ये १ सय ५५ किलो ४६८ ग्राम चाहिँ सुनबाहेकको वस्तु हो।
उनी भन्छन्, ‘यसलाई छुट्याएर नापतौल गर्न लागिएको छ। यसलाई आजै छुट्याउँछौँ। तर वास्तविक तौलको अन्तिम परिमाण आउन एक साता लाग्छ।’
निर्देशक आचार्यका अनुसार प्रतिसिलबन्दी पोकोमा १९ किलो ५४१ ग्राम थियो। सिलबन्दी पोकोमा ब्रेकसु, कार्टुन लगायतका चीजहरू नाप्दा प्रतिपोकामा ७ किलो ६८० ग्राम सुन देखिएको छ। ‘अझ यसमा पनि कालो पदार्थहरू केही छन्। यी सबैलाई छुट्याइसकेपछि सुन भनिएको वस्तुलाई गलाउने प्रक्रियामा लगिनेछ। गलाउनुभन्दा अगाडि यसलाई केमिकलमा धुनुपर्ने वा पोल्नुपर्ने पनि हुनसक्छ,’ उनले भने।
यसरी गलाइसकेपछि साँचोमा राखिन्छ। यसपछि यसको नमुना परीक्षण गरिन्छ। यसपछि अर्को ‘आर्से’ परीक्षण गर्न ३ दिन लाग्छ। यसपछि सुन भनेको वस्तु अर्थात् रियल सुन भने गालेपछि जर्दी, केमिकलहरू आगोले उडाउँछ। यसपछि मात्रै वास्तविक तौल थाहा पाइन्छ। वास्तविक सुन कति छ भनेर यसको अन्तिम तथ्यांक प्राप्त हुन एक साता लाग्ने उनको भनाइ छ।
राजश्व अनुसन्धान विभागले जफत गरिएका सिलबन्दी पोकासहित ८ थान पोका सुरक्षित राख्न दिएको थियो। यसलाई अनुसन्धान गर्ने सिलसिलामा राजश्व अनुसन्धानले सीआईबीलाई जिम्मा दिएको थियो। राजश्व र सीआईबीबाट आइतबार नै पत्र आएको थियो। सबै प्रतिनिधिहरूलाई बोलाएर सिल फोरेर सुन भनिएको वस्तु छुट्याउने काम गरेको हो।
रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको दुईपाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु) भित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिर बरामद भएको थियो। उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली र भन्सार छलेर कसरी बाहिर आइपुग्यो भन्ने बारे पनि राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको छ।
त्यसका लागि विमानस्थल भन्सार तथा कार्गो गोदामका सीसीटीभी क्यामेराका फुटेज र सुरक्षा जाँचपासका क्रममा लिइएका एक्सरे मेसिनका इमेज थप अनुसन्धानका लागि भन्दै विभागले नियन्त्रणमा लिएको थियो।