अझै घर फर्किन सकेनन् भजनीका बाढीपीडित

अझै घर फर्किन सकेनन् भजनीका बाढीपीडित

भजनी : साउन २३ गते अविरल वर्षापछि आएको बाढीबाट प्रभावित भएकाहरू अझै घर फर्किन सकेका छैनन्। 

भजनी नगरपालिका-३ पकडियाका ६२ घर परिवार अझै पनि सत्ती–भजनी हुलाकी सडकखण्डमा त्रिपाल टाँगेर बसिरहेका छन्। काढा नदीको बाढीले गाउँ नै डुबानमा परेपछि विस्थापित भएर हुलाकी सडकमा पुगेका भजनी नगरपालिका वडा नम्बर ३ का अनिता चौधरी छ दिनदेखि घर फर्किएकी छैनन्। 

नदीमा आएको बाढी घटे पनि उनको घर, आँगन हिलाम्य छ। हुलाकी सडकमा त्रिपाल टाँगेर उनी आफ्नो परिवारसहित बस्दै आएकी छन्। ‘घर आँगनभरि हिलैहिलो छ, जाने बाटो ठीक छैन, घाम लागेपछि मात्रै घर फर्किने हो’ चौधरीले भनिन् ‘हुलाकी सडकमा त्रिपाल टाँगेर बच्चासहित बसेका छौं, हामीलाई निकै गाहे छ।’

उनी मात्रै नभई पकडियापुरका ६२ परिवार अहिले पनि हुलाकी सडकमा त्रिपाल टाँगेर बसिरहेका छन्। बाढी गाउँ पसेपछि अन्न, लत्ताकपडा सबै भिजाएको छ। वर्षासँगै भजनीका काँढा, पथरैया, कान्द्रा जस्ता नदीमा आएको बाढीले डुबान हुने गरेको हो। 

बाढीसँगै नदी गोही र विषालु सर्पहरू आउने गरेका कारण स्थानीय त्रसित रहेको स्थानीय भलमन्सा (गाउँको प्रमुख) सुरेशकुमार चौधरी बताउँछन्। ‘बाढीले हाम्रो अधिकांश अन्नबाली, धान खेती, घर आँगन डुबाएको छ’ उनले भने ‘यस वर्षको बाढीमा गोही र विषालु सर्प समेत देखिए, हामी निकै त्रासमा छौं।’ 

चौधरीका अनुसार सोही गाउँका प्रभु चौधरीलाई बाढीमा आएको गोहीले काटेर घाइते बनाएको छ। चारैतिरबाट नदीले घेरिएको भजनीमा अझै पनि हजार बढी परिवार घर फर्किन सकेका छैनन्। गत साता आएको बाढीका कारण भजनी नगरपालिका वडा नम्बर ३ र ८ का अधिकांश बस्ती डुबानमा परेका थिए। वडा नम्बर ८ का सोनाहाफाँटा, जनकपुर, दैलेखी टोल, बहादुर टोल, कृष्णनगर, काँढाढिक र वडा नम्बर ३ का पकडियापुर, नयाँबस्ती, बर्दहवा आदि डुबानमा परेका थिए। 

भजनी नगरपालिकाले प्रभावितहरूलाई खानेपानी, केहीलाई खाद्यान्न सहयोग गरिरहेको छ। बर्सेनि डुबानमा पर्दै आएको भजनीका जोखिमयुक्त क्षेत्रमा नगरपालिकाले विभिन्न संघसंस्थाको सहयोगमा सुरक्षित उच्चा घर बनाएको छ। ‘गत वर्ष हामीले १६ वटा उच्चा घर बनाएका थियौं, त्यहाँका बासिन्दा यो वर्ष बाढीबाट पीडित भएनन्’ वडा नम्बर ३ का अध्यक्ष एवं प्रवक्ता विक्रम चौधरीले भने ‘संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाले बाढीबाट अति प्रभावित क्षेत्रमा एक शय बढी सुरक्षित उच्चा घर निर्माण गर्ने योजना बनाएको छ।’

बर्सेनि  डुबान हुने हुनाले नगरपालिकाले मात्रै केही गर्न नसक्ने प्रवक्ता चौधरीले बताए। बाढीबाट विस्थापित भएकाहरूलाई खान, बस्न, खानेपानी र शौचालयको समस्या छ। घरभित्र बाढी पसेपछि खाद्यान्न, लुगाफाटो लगायत सामान तथा वस्तुभाउ लिएर पीडित परिवार हुलाकी राजमार्गमा पुगेका हुन।हरेक वर्ष बर्खायाममा डुबानको समस्या भोग्दै आएका भजनीबासी सरकारले डुबानको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिँदै आएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.