सुन तस्करीको अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति नबनाउने सत्ता गठबन्धनको निष्कर्ष
काठमाडौं : सत्तारुढ गठबन्धनले सुन तस्करी अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति गठन नगर्ने निष्कर्ष निकालेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले राज्यको निकायले नै सुन तस्करी प्रकरणमा छानविन गरिरहेकाले उच्चस्तरीय छानविन समिति गठन गर्ने एमालेको मागलाई स्वीकार गर्न नसक्ने निष्कर्ष निकालेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
उनले सिआईबीले छानविन गर्ने काम गरिरहेको अवस्थामा उच्चस्तरीय छानविन माग्नु भनेको अहिलेको छानविनलाई प्रभावित पारेकोमा एकमत रहेको उनले बताए। बैठकमा सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडिएको विषयमा छानविनको प्रक्रियामा रहेको गृहमन्त्रीले जानकारी गराएको पाण्डेले बताए।
त्यस्तै गौरहत्या प्रकरणमा आफूहरूलाई निशाना बनाएको भन्दै जसपाका नेताहरूले आपत्ति जनाएका थिए। यस विषयमा चार वटा प्रतिवेदनका फरक फरक निष्कर्ष निस्किएको र प्रभावितको सम्पूर्ण माग पूरा भएकाले कानुनसम्बन्ध ढंगले टुंग्याउनुपर्छ भन्ने विषयमा बैठकमा छलफल भएको पाण्डेले बताए। त्यस्तै ललिता निवास प्रकरणमा पनि छलफल भएको उनले बताए।
उनले गठबन्धनको बैठक पुन बस्ने र थप विषयमा पुन छलफल हुने जानकारी दिए।