ज्यामिरे सामुदायिक वनमा काठ तस्करी, काठसहित दुई जना पक्राउ
झापा : झापामा ट्याक्टरमा लोड गरिएको सखुवा जातको गोलिया काठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने ट्याक्टर चालक बुद्धशान्ति गाउँपालिका- ४ निवासी २४ वर्षीय सविन विश्वकर्मा र ट्याक्टरमा सवार सोही ठाउँका ३६ वर्षीय धनाहाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
बुद्धशान्ति- ६ शान्तिनगरस्थित ज्यामिरे सामुदायिक वनभित्र काठ चोरी तस्करी भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेको टोली तत्काल खटिएको थियो।
प्रहरीले सोमबार बेलुका पौने ६ बजे वनभित्रबाटै मे १ त ६५३८ नम्बरको ट्याक्टर सखुवा जातको गोलिया काठ लोड गर्दा गर्दै बरामद गरिएको डीएसपी रिजालले बताए।
ट्याक्टरमा १६ थान गोलिया अर्थात् ५८.२२ क्यु फिट काठ फेला परेको थियो। 'खुलेआम वनभित्र काठ काटेको देखिन्छ,' डीएसपी रिजालले भने, 'वनका पदाधिकारी कोही घटनास्थलमा थिएन, त्यहाँबाट काठ ल्याउन थप प्रहरी टोली पठाउनु पर्यो।'
बरामद गरिएको काठ, ट्याक्टर र पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय झापा बुझाइसकेको उनले बताए।