अपत्यारिलो बाढीले बग्यो कागबेनी

२९ घर र ९ गोठमा पूर्णक्षति

अपत्यारिलो बाढीले बग्यो कागबेनी
कागबेनीमा आइतबार राति आएको बाढीले पुर्‍याएको क्षति। तस्बिर : रिङझिङ नाम्ग्याल गुरुङ

जोमसोम : बस्तीनजिकै बगेको कागखोला। किनारमा पवित्र तीर्थस्थल कागबेनी। खोला, बस्ती र तीर्थस्थल मिलेर नै यहाँको सुन्दरता फरक देखिन्थ्यो। मुस्ताङको मुहार अझै चम्किलो हुन्थ्यो। तर, अचानक भारी वर्षासँगै आइतबार राति आएको कागखोलाको बाढीले त्यो सुन्दरता एकै क्षणमा धमिलो बनायो। नदी किनारका २९ घर, ९ गोठ र १२ सवारीमा क्षति पुर्‍यायो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ पौडेल भन्छन्, ‘धन्न ! बाढी आउँदै गरेको जानकारी माथिल्लो क्षेत्रका स्थानीयले दिएकाले मानवीय क्षति भएन।’  

कागखोलाको बाढीले कागबेनी गाउँको १३ वटा घरमा आंशिक क्षति पुगेको छ भने ९ वटा गोठमा पूर्णरूपमा क्षति पुगेको प्रहरी नायव उपरीक्षक पौडेलले उल्लेख गरे। कागबेनी गाउँ जोड्ने ३ वटा अस्थायी पुल, जोमसोम—कोरला जोड्ने एउटा पक्की पुल र कागबेनी—तिरी गाउँ जाने झोलुंगे पुल बाढीले बगाएको प्रहरीले जनाएको छ। 

बाढीले प्रसिद्ध धार्मिक कागबेनी श्राद्धस्थल पूरै बगरमा परिणत भएको छ। भक्तजनहरूले स्नान गर्ने, श्राद्ध तथा पिण्डदान र तर्पण दिने, श्राद्धस्थलको मन्दिर र एक धर्मशाला बाढीले बगाएको छ। बाढीले प्रहरी चौकी भवन, आमा समूह र युवा क्लबको भवन, स्वास्थ्य कार्यालय रहेको भवन, प्रभु बैंक रहेको घरहरू बगाएको प्रहरीले पुष्टि गरेको छ। कागखोला दक्षिण–पूर्वको कागखोला तटीय क्षेत्रमा रहेको होटल, पसल, रेस्टुरेन्ट र बैंक तथा वित्तीय संस्था रहेको घर पनि बाढीले बगाएको छ। बाढीले सवारी साधनबाहेक ५६ वटाभन्दा भौतिक संरचनामा पूर्ण र आंशिक क्षति तुल्याएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिङ नाम्गेल गुरुङले जानकारी दिए। 

भौतिक संरचनाबाहेक कति धनमालको क्षति भयो भन्ने विवरण एकिन गर्न केही दिन लाग्ने उनले बताए। यसअघि कागबेनी खोला थुनिएपछि कागखोला तटीय क्षेत्रका स्थानीयलाई प्रशासन, प्रहरी र स्थानीय तहले सूचना सम्प्रेषण गरी सुरक्षित स्थानमा पुर्‍याइएको थियो। यसैले गर्दा कागबेनीमा बाढीका कारण मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ। बाढीले विद्युत् पोल, खानेपानी, सिँचाइ कुलो, टेलिफोन र इन्टरनेट पोलहरूमा समेत क्षति पुर्‍याएको थियो। बाढीपछि कागबेनीमा खानेपानी, विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको छ।

आइतबार रातिको समयमा शाखा नदी थुनिएकाले स्थानीयलाई उद्धार र धनमाल थन्क्याउन असहज परेको थियो। बैंक तथा वित्तीय संस्थाको नगदसमेत बाढीले बगाएको बताइएको छ। कागबेनीधाममा बाढीले क्षति पुर्‍याएपछि जोमसोमबाट प्रमुख जिल्ला अधिकारी अनुप केसीसहित ३ वटै सुरक्षा निकायको टोली बाढीग्रस्त क्षेत्र कागबेनीमा पुगेर उद्धारमा खटिएको थियो।

विपद् व्यवस्थापन समितिको बैठक, भयो विभिन्न निर्णय 

मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा कागबेनीमा कागखोलाको शाखा नदी थुनिएर आएको बाढीले त्यहाँको भौतिक संरचना तथा धनमालमा ठूलो क्षति पुर्‍याएपछि सोमबार दिउँसो वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समिति र जिल्ला विपद् व्यवस्थापन समितिको संयुक्त बैठक बसेको छ। बैठकले कागबेनी बाढी प्रभावित क्षेत्रका स्थानीयवासीलाई तत्काल उद्धार, राहत र व्यवस्थापन गर्न विभिन्न ८ बुँदे निर्णय गरेको छ। 

संयुक्त पालिका विपद् व्यवस्थापन समिति र जिल्ला विपद् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रमा रहेका मजदुरहरूको उद्धारको व्यवस्थापनका लागि घरपझोङ गाउँपालिकालाई जिम्मा दिएको छ। घरपझोङले बाढीका कारण अलपत्र मजदुरको उद्धार, राहत र व्यवस्थापनका लागि जोमसोम समाजघरमा स्थानान्तरण गर्ने र उनीहरूलाई खाद्यान्न, लत्ता कपडा र बन्दोबस्तीका सामान गाउँपालिकामा व्यवस्थापन गर्ने जनाइएको छ। प्रभावित क्षेत्रमा तत्काल खानेपानी, विद्युत् र सञ्चार सेवा अवरुद्ध भएकाले त्यसको सञ्चालन गर्न व्यवस्था मिलाउने, जोखिम र असुरक्षित रहेका घरहरूको धनमाल सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ।

विपद्को संयुक्त बैठकले प्रभावित क्षेत्रको सार्वजनिक र निजी क्षेत्रको प्रारम्भिक आकलन र मूल्यांकन गरी स्थानीय पालिका र सुरक्षाकर्मीको समन्वयमा निक्र्योल गर्ने, कागबेनीबाहेक सो पालिकाको वडा २ र ३ को छुसाङ, ताङ्वे, झोङ, पुडाक र छेङ्गुरलगायतका स्थानसँग जोड्ने मुख्य र शाखा सडक सञ्चालन गरी आवतजावत सहज बनाउन तत्काल पहल थाल्ने निर्णय गरेको छ।

कागबेनी बाढी प्रभावित क्षेत्रको पूर्णक्षति भएको २९ घरसहित ३५ घरधुरीलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनाका लागि आवश्यक पर्ने सामग्री नेपाल सरकार, गृह मन्त्रालय र विपद् व्यवस्थापन महाशाखा र एनईओसीलाई उपलब्ध गराउन अनुरोध गर्ने पनि निर्णय भएको छ। बाढी प्रभावित क्षेत्रको ३५ घरधुरीलाई तत्काल राहत व्यवस्थापन गर्न आवश्यक टेन्ट, म्याट्रेस र कम्बल आदिको व्यवस्था मिलाउन र सोका लागि इन्धन उपलब्ध गराउन गण्डकी प्रदेश सरकार र प्रदेश विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय भएको बताइएको छ। त्यसैगरी सोमबार नै बसेको प्रदेश व्यवस्थापन कार्यकारी समितिको बैठकले पनि पीडितको तत्काल राहत र उद्धारमा लाग्ने निर्णय गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.