एमालेको संगठन विभाग सचिवमा माधव ढुंगेल
काठमाडौं : नेकपा एमालेले केन्द्रीय संगठन विभागको सचिवको जिम्मेवारी माधव ढुंगेललाई दिएको छ। सोमबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय सदस्य ढुंगेललाई संगठन विभागको सचिवमा मनोनीत गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
रामेछापका लोकप्रिय नेता ढुंगेलले यस अगाडि विद्यार्थी फाँटको इन्चार्जको जिम्मेवारी सम्हालेका थिए। उनी अनेरास्ववियुका केन्द्रीय पूर्वअध्यक्ष हुन्। ढुंगेल दुई कार्यकाल राष्ट्रिय युवा परिषद्को उपाध्यक्षसमेत बनेका थिए।
उनी युवा परिषदमा रहँदै वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसाय गरेर स्वदेश फर्किएकाहरू संगठित गर्न पार्टीभित्र ‘रिटर्नी फेडेरेसन नेपाल’को अवधारणा ल्याएका थिए।उनकै पहलमा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमार्फत रिटर्नी फेडेरेसन नेपालले भातृसंगठनको मान्यता पाउन सफल भएको थियो। ढुंगेलले राष्ट्रिय युवा परिषद्मा ल्याएको ‘युवा उद्यमशीलता’र ‘नमुना युवा संसद’कार्यक्रम अहिले पनि लोकप्रिय छन्।
उपमहासचिव ज्ञवालीका अनुसार बैठकले केन्द्रीय सदस्यमा केदार न्यौपाने र छक्कबहादुर लामा, शंकरदत्त जोशी र सूर्य शर्मालाई केन्द्रीय सल्लाहकार परिषद्मा मनोनयन गरेको हो। हाल संगठन विभागको प्रमुखमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी छन्।