महोत्तरीमा घर ढलान गर्दा करेन्ट लागेर १ जनाको मृत्यु, २ घाइते
महोत्तरी : सम्सीमा करेन्ट लाग्दा १ जना कामदारको मृत्यु हुनुका साथै २ जना घाइते भएका छन्। सोमबार साँझ सम्सी गाँउपालिका १ पर्सा बजारमा घर निर्माण गर्ने कार्यमा खटिएका कामदारमध्ये ३ जना घाइते भएका थिए।
जसमध्ये स्थानीय ५५ वर्षीय राजकिशोर यादवको मृत्यु भएको छ। उनको जानकी एकेडेमी पर्सामा उपचारको क्रममा मृत्यु भएको हो।
पर्सा बजारमा घर बनाइ रहेका स्थानीय उपेन्द्र यादवको घर ढलान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका ३ जनामध्ये यादवको उपचारको क्रममा गए राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
त्यस्तै घाइते भएका स्थानीय कामदार ४५ वर्षीय सुरेश खत्वे मण्डल र रामगोपालपुर नगरपालिका ४ का ३४ वर्षीय बिपिन मण्डलको उपचार भइरहेको प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।