मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क्स’ मा क्षति
सिन्धुपाल्चोक : अविरल वर्षाले मेलम्ची नदीमा बाढी आउँदा हेलम्बु गाउँपालिका-१ अम्बाथानमा मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क्स’ मा क्षति पुगेको छ।
दैनिक रूपमा परिरहेको वर्षाका कारण आयोजनाको मुहान गेटमा ढुंगा माटो थुप्रेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकृत राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।
आयोजनाको हेडवर्क्स अन्तर्गत काठमाडौं पानी पठाउने मुख्य स्थान १ नम्बर गेट र पानी खोल्ने तथा बन्द गर्ने ९ नम्बर गेट बाहिर मेलम्ची खोलाको बाढीले ढुंगा माटो ल्याई थुपारेको पन्तले बताए।
बाढीले ल्याएको ढुंगा माटोको कारण मेसिनरी सामग्रीहरूमा के कति क्षति पुगेको छ भन्ने कुराको अध्ययन भइरहेको उनले बताए। ‘सामान्य क्षति भएको हामीले पाएका छौं’, उनले भने– ‘मेसिनरी सामग्रीहरूमा क्षति भएको छ कि छैन भनेर हामीले प्राविधिक अध्ययन गरिरहेका छौं, उहाँहरूले रिपोर्ट पेश गरेपछि मात्र के कति क्षति भएको छ भनेर एकीन गर्न सकिन्छ।’
आयोजनाले काठमाडौं तर्फ पानी पठाउने कार्य १ महिना अगाडि नै बन्द गरेको कारण सुरुङमा भने क्षति नभएको अनुमान समितिको छ। ‘हामीले बाढी पहिरोको जोखिम देखिए लगत्तै पानी रोकेका थियौं’, समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले भने- ‘त्यसकारण सुरुङमा क्षति पुगेको छैन भन्ने हाम्रो अनुमान छ।’
आयोजनाको मुहान गेटमा बाढीले ढुंगा माटो थुपारेको खबर पाएपछि प्रहरी टोली अम्बाथान पुगेको थियो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले आयोजनामा अन्य क्षति नभएको र सुरुङ भित्र ढुंगा माटो पसेको नदेखिएको बताए।
मेलम्चीको जलाधार क्षेत्रमा भारी वर्षा भएर धमिलो पानीसहितको बढी अएपछि असार १८ बाट आयोजनाको अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी हाल्न रोकिएको थियो। जलाधार क्षेत्रतर्फबाट धमिलो पानी आएपछि सुरुङलाई हुनसक्ने जोखिमलाई ध्यानमा राखेर असार १८ गतेबाट नै सुरुङमा पानी हाल्न बन्द गरिएको सूचना अधिकृत राजेन्द्रप्रसाद पन्तले बताए।
२०७८ असार १ गते आएको बाढीले यसअघि सिन्धुपाल्चोकको अम्बाथानमा तयार भएको मुहानस्थल क्षतिग्रस्त गरेपछि सरकारले भौगेलिक रूपमा कम चुनौतीपूर्ण ठाउँमा हेडवर्क्स बनाउने गरी नयाँ मुहान खोजिरहेको छ।
बाढीपछि तयार भएर सञ्चालनको तयारीमा अवस्थामा पुगिसकेको पानी छान्ने संयन्त्र (डिसेन्डर) मुहानस्थल पुरिएको छ। नदीको सतहभन्दा मुनि परेका ती संरचनाहरूको अवस्था के छ भन्ने बुझ्न अहिलेसम्म खोतलेर हेरिएकोसम्म छैन।
अस्थायी संरचना बनाएर हिउँदभरि पानी ल्याइँदै गर्दा वर्षायाममा पनि मेलम्चीको पानी ल्याउने गरी स्थायी मुहान तयार गर्न सरकारले ढिलाइ गर्दै आएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।
मेलम्चीको मुहानभन्दा माथि भू–गर्भ कस्तो अवस्था र भविष्यमा बाढी र पहिरो आउने सम्भावना कति छ भनेर सरकारीतबरबाटै विस्तृत अध्ययन गराउन पनि कसैले चासो नदिएको शेर्पाले बताए। मेलम्चीको जलाधार संरक्षण र बाढीपहिरो नियन्त्रणका लागि कार्ययोजना बनाएर स्थायी रूपमा नै समस्या समाधान गर्न काम सुरु गर्नुपर्नेमा उनले जोड दिए।
सरकार बाढीले पुरेको संरचनालाई प्रयोग गर्न नसकिने निष्कर्षमा पुगेपनि त्यसको विकल्पमा नयाँ मुहान तयार गर्ने योजना ल्याउन सकेको छैन। पहिलो चरणकै काम अलपत्र परेपछि आयोजनाको दोस्रो चरणमा थप ११ किलोमिटरको सुरुङ बनाएर सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाको पानी काठमाडौं खसाल्ने योजना पनि अलपत्र परेको छ।
मेलम्ची खानेपानी आयोजनाबाट एडीबीले हात झिकिसकेको छ। अब नयाँ संरचना बनाएर १२ महिना नै मेलम्चीबाट पानी ल्याउनसक्ने गरी नयाँ संरचनाहरू तयार गर्न कहाँबाट लगानी ल्याउने भन्नेमा सरकार अलमलमा छ।
गत वर्ष बजेटबाटै मेलम्ची खानेपानी विकास समिति खारेज गरिएपछि झण्डै एक वर्ष आयोजना अन्योलको भूमरीमा फसेको थियो। अहिले नयाँ गठन आदेश जारी गरेर ब्युँताइएको मेलम्ची विकास समितिले अझै स्थायी र दिगो संरचनाहरूको निर्माणका लागि काम गर्न सक्ने अवस्था छैन।
मेलम्चीको पानी पहिलोपटक २०७७ फागुन २२ गते सुन्दरीजलमा ल्याइएको थियो। सोही वर्षको चैत १५ देखि परीक्षण स्वरूप पानी वितरण गरिएको थियो। तर २०७८ असार १ मा मेलम्चीमा आएको बाढीले आयोजनास्थलमा ठूलो क्षति पुर्याएपछि पानी वितरण बन्द भएको थियो। तर मुख्य सुरुङ सुरक्षित रहेकाले ढुंगा माटो पन्छाएर २०७८ चैत अन्तिमतिर पुनः पानी वितरण गरिएको थियो।
गएको असार १ गते प्रधानमन्त्री पुष्पकमल दाहालले स्थलगत अवलोकन गरी आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउने बताएका थिए। उनले त्यतिबेला ‘कहाँ के गर्नुपर्छ भन्ने एउटा चित्र आएको छ। बजेटसँग सम्बन्धित विषयहरूलाई प्राथमिकतामा राखिने छ।
मैले बाटोमा आउँदा देखेको सडकको दुरावस्थालाई गम्भीरतापूर्वक लिएको छु’ भनेका थिए। तर त्यसपछि सरकारले मेलम्ची खानेपानी आयोजना र सो क्षेत्रका प्रभावितहरू बारे कुनै चासो नदिएको स्थानीय सरकारले गुनासो गर्दै आएका छन्।