ब्रेन ट्यूमरले थलिएपछि कतारमा मृत्युसँग संघर्ष गर्दै प्यूठानका एक युवा
बुटवल : घरको जेठो छोरा। आमाबुवा र भाई बहिनीको पालनपोषण गर्ने उनकै काँधमा थियो। सँगैका साथीसंगी बुटवल, काठमाडौं लगायत सहरमा माथिल्लो कक्षा पढ्नका लागि गाउँबाट सहर पसे।
तर, विडम्बना झिमरुक गाउँपालिका-४ हुराना प्यूठानका कमल रोका पढ्ने उमेरमा धन कमाउन मुग्लान पसे। एसएलसी पास नहुँदै २१ वर्षको कलिलै उमेरमा कमल घरको जिम्मेवारी काँधमा बोकेर मलेशिया गए।
त्यहाँ तीन वर्ष बिताए। सोँचे अनुसार कमाई नभएपछि घर फर्किए। घरमा बसेर जीविकोपार्जन चल्ने कुरै भएन्। भाईहरू साना छन्। बुवाआमाको बुढ्यौली लागेको छ।
उनी फेरि विदेशकै यात्रा तय गर्ने निधो गरे र घरखर्च चलाउनकै लागि कतार हानिए। गएको तीन/चार वर्ष काम ठिकै चलेको थियो। तर, पाँच वर्ष लाग्दा कम्पनी बन्द भयो। रोजगार गुम्यो। परिवारको पालनपोषण र जीवनमा केही गरौँला भनेर सपना बोकेर विदेशीभूमीमा गएका रोका रोजगार गुमेपछि विक्षिप्त बने।
उनले रोजगार मात्र गुमाएनन् घरमा बिरामी बुवालाई पनि सदाका लागि गुमाए। श्वासप्रश्वास रोगले थलिएका बुवा मोहन बहादुर रोकाको ६४ वर्षको उमेरमा निधन भयो। घरको आर्थिक अवस्था कमजोर भएकै कारण मुग्लान पसेका कमलले अन्तिम क्षणमा जन्मदिने बुवालाई समेत भेट्न पाएनन्।
पीडाको चपेटामा परेका कमल अहिले आफैँ पीडामा छन्। झण्डै ६ महिनादेखि उनी अहिले मृत्युसँग संघर्ष गरिरहेका छन्। ब्रेन ट्यूमर रोगले थलिएपछि उनको सबै सपना चकनाचुर बनेका छन्।
जसोतसो ब्रेन ट्यूमरको त सफल शल्यक्रिया भयो। तर, फेरी मेरुदण्डमा असर गरेछ। अहिले उनको कम्मरदेखि तलको कुनै पनि भाग चल्दैन। खाउँखाउँ र लाउँलाउँको उमेरमा प्राणघातक रोगले च्यापेपछि उनको उपचारमा लाखौं रकम लाग्ने भएको छ।
यति ठूलो रकम खर्चेर घरपरिवारबाट उपचार गर्ने सपनाजस्तै छ। कतारको सरकारी अस्पतालमा उपचाररत उनी अहिले बेहोस छन्। परिवारका अनुसार सोमबार उनलाई कोरोना पोजेटिभ देखिएको छ।
हस्पिटलको शैयाँबाट कमलले परिवारको साथ खोजेका छन्। जतिबेला पनि घर जान्छु, जान्छु मात्र भनिरहेका छन्। नेपालमा लिएर उपचार गर्नका लागि लाखौँ रुपमा जोहो गर्ने त अलि परको कुरा हो।
तर, अहिले उनलाई नेपाल ल्याउनै करिब १४/१५ लाख रुपैयाँ खर्च लाग्ने भएको छ। नेपाल लिनकै लागि उनको परिवारले हारगुहार गरेका छन्। ‘दाइ हाम्रो परिवारको पिल्लर हुनुहुन्थ्यो’, भाइ दिनेश रोकाले भने,‘उहाँलाई नसोचेको रोग लाग्यो। हाम्रो आर्थिक अवस्थाले उपचार गर्नु सपनाजस्तै लाग्छ।’
घरमा भएकी वृद्ध आमा अरुणा कुमारी, श्रीमती तुलसा र आठ वर्षकी छोरी स्मृती रोका दिनहुँ आँशु बगिरहन्छन्। उनीहरूलाई दिनमा भोक र रातमा निद्रा छैन।
कमलको उपचारका लागि केही सामाजिक अभियन्ताहरूले सहयोग संकलन अभियान चलाएका छन्। केही सामाजिक अभियन्ताहरूले कमलको बचाउँ अभियान सुरु गरेका छन्।
तर, उनलाई नेपाल ल्याउने र उपचार गर्नका लागि लाखौँ रुपैयाँ लाग्ने भएको छ। ‘उहाँको परिवारभित्रकै सदस्यको बैंक खाता सार्वजनिक गरेर सहयोग गरिदिन दयालु मन भएकाहरूलाई आग्रह गरिरहेका छौँ’,झिमरुक गाउँपालिका ५ ओखरकोट प्यूठान, हाल बुटवलका युवा व्यवसायी सामाजिक काममा सक्रिय प्रदिप जिसीले भने,‘नेपाल ल्याउनका लागि एनआरएन कतारका साथीहरूलाई सहयोग गरिदिन् भनेका छौँ। उहाँहरू प्रयासरत हुनुहुन्छ। यहाँ आएपछिको उपचारमा सवैले सहयोग गरिदिन आग्रह गर्छु।’