वामपन्थी एकता हुन नदिन ममाथि षडयन्त्र भयो : महरा
दाङ : नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले वामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको बताएका छन्। मंगलबार दाङको घोराहीमा सञ्चारकर्मीसँग कुरा गर्दै महराले आफूले सबै वामपन्थी शक्तिलाई एक बनाउनका लागि भूमिका खेल्दा प्रहार भएको बताएका हुन्।
उनले सुन तस्करीका विषयमा सरकारलाई अनुसन्धानमा सहयोग गर्ने स्पष्ट पारे । उनले आफूसँग पुरानो चिनजान भएका चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि भन्सारका अधिकारीसँग कुरा गरेको दावी गरे। महराले भन्सारमा रोकिएको सामान सुन भन्ने कुरा उनीहरुले पनि नभनेको र आफूलाई पनि थाहा नभएको प्रष्टीकरण दिएका छन्।
पूर्वसभामुख समेत रहेका महराले आफू प्रहरीलाई अनुसन्धानमा सघाउन तयार रहेको बताएपनि हालसम्म प्रहरीले नबोलाएको समेत बताउनुभयो ।