दोलखाका तत्कालीन सीडीओ खगेन्द्र रिजाल भ्रष्टाचारमा दोषी ठहर
दोलखा : दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललाई भ्रष्टाचार आरोपमा दोषी ठहर गरेको छ।
न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले मंगलबार घुस र हिनामिना गरेको विभिन्न पाँचवटा कसुरमा दोषी ठहर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २० गते रिजालविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको थियो। अदालतले रिजाललाई एक वर्ष कैद, चार लाख रुपैयाँ बिगो र सोही अनुरूप जरिवाना हुने फैसला गरेको हो।
रिजालले सेवाग्राहीहरूसँग धम्क्याएर पैसा असुलेको तथा कार्यालयमा बसेर विभिन्न स्थानमा अनुगमनमा खटिएको भनी भ्रमण भत्ता लिएको अख्तियारले जनाएको छ।