गलेश्वरमा नौ लाख बढी भेटी संकलन
बेनी : म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिकस्थल गलेश्वरमा साउन महिनामा नौ लाख रुपैयाँभन्दा बढी भेटी संकलन गरिएको छ।
साउन महिनाको सोमबारका दिन गलेश्वर मन्दिरमा पूजाआजा र दर्शन गर्न आएका भक्तजनहरुबाट नौ लाख २७ हजार २३ रुपैयाँ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ।
कोषका सदस्य सचिव बलबहादुर खत्रीले साउनको अन्तिम सोमबार भक्तजनले चढाएको एक लाख ७८ हजार ४९० रुपैयाँ भेटी मंगलबार बिहान गनेर सार्वजनिक गरिएको जानकारी थिए। यस वर्ष साउन महिनामा पाँच वटा सोमबार परेको थियो।
पहिलो सोमबार तीन लाख ६५ हजार ६४५ रुपैयाँ, दोस्रो सोमबार ९६ हजार १४१ रुपैयाँ, तेस्रो सोमबार एक लाख ४१ हजार ९५६ रुपैयाँ र चौथो सोमबार एक लाख ४४ हजार ७९१ रुपैयाँ भेटी संकलन भएको थियो।
गलेश्वरमा भक्तजनले चढाउने भेटी पूजा व्यवस्थापन, पूर्वाधार निर्माण, जेष्ठ नागरिक आश्रम, संस्कृति विद्यालय सञ्चालनमा परिचालन हुने गरेको छ। कोषले मेलाको भोलिपल्ट र अन्य समयमा मासिक रूपमा भेटी गनेर सार्वजनिक गर्दै आएको छ।