संघीय शिक्षा ऐन खारेजीको माग गर्दै शिक्षा कार्यालय घेराउ
नुवाकोट : शिक्षा ऐनको विरोध गर्दै नुवाकोटमा शिक्षकहरु आन्दोलित भएका छन् । नेपाल शिक्षक महासङ्घद्वारा घोषित संघीय शिक्षा ऐनको विरोध कार्यक्रम अन्तर्गत मंगलबार विदुरस्थित शिक्षा कार्यालयमा धर्ना दिएका छन् ।
चर्चामा आएको शिक्षा ऐनको विरोधमा देशैभरका शिक्षक संघ, संगठन आन्दोलनमा उत्रिएसँगै नेपाल शिक्षक महासंघ नुवाकोटले पनि शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटमा धर्ना दिएको हो ।
शिक्षक संघ, संगठनको साझा संस्था नेपाल शिक्षक महासंघको आयोजनामा दवाव दिन धर्नामा उत्रिएको नेपाल शिक्षक महासंघ नुवाकोटले जनाएको छ ।
सरकारले ल्याउन लागेको शिक्षा ऐनमा शिक्षकका सेवा सुविधा, सार्वजनिक विद्यालयको स्तरोन्नतिलगायत सरकारसँग पटकपटक भएका सम्झौता नसमेटिएको जनाउँदै महासंघ आन्दोलनमा उत्रिएको हो ।
शिक्षक संघ, संगठनसँग पटकपटक सरकारले गरेका सम्झौताका बुँदाहरू शिक्षा ऐनको ड्राफ्टमा समावेश नभएर प्रतिनिधिसभामा लैजान खोजेपछि आन्दोलनमा उत्रिनु परेको नेपाल राष्ट्रिय शिक्षक संगठनका नुवाकोटका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको भनाइ छ । ऐनमा शिक्षकको सेवा सुविधामात्रै नभइ विद्यालयको स्तरोन्नति गर्ने मुद्दासमेत समावेश नभएको कारण आन्दोलित हुनु परेको शिक्षक संघका अध्यक्ष द्वारिकाप्रसाद पाण्डेले बताए ।