चर्को गर्मीको अर्को परिभाषा
एकभन्दा अर्को मौसम, एकभन्दा अर्काे साल भयावह बढ्दो छ। तातो बढ्दो छ। बाढी उर्लंदो छ।
एउटा किताब खोज्दा। किताबका भीडमा आफूले गरेका काम (किताब, पत्रिका) कहिलेकाही आँखा अगाडि आउँछन्। यसपटक यस्तै भयो। सन् १९९६ डिसेम्बरदेखि २००१ जनवरीसम्म विश्वज्ञान मञ्च नामक प्रतियोगिता पत्रिकाको सम्पादन गर्ने अवसर मिलेको थियो। त्यसैका अंकहरू देखिए। एकपटक सबै हेर्न मन लाग्यो। विश्वघटना, समसामयिक जानकारी, हाजिरी–जवाफ आदि संकलन गर्ने पत्रिका थियो, विश्वज्ञान। यसको सातौं युवराज्ञी डायनाको सम्बन्धविच्छेद, दसौंमा मदर टेरेसाले निर्मला जोशी (जो नेपाली मूलकी हुनुहुन्थ्यो)लाई उत्तराधिकारी चयन र १३औंमा डायना तथा मदर टेरेसाको निधनलगायत विषय आवरणमा तस्बिरसहित छन्। यहाँ डायना र मदर टेरेसाको प्रसंग।
अगस्त महिना घर्किन लागेको थियो, सन् १९९७ को। भनौं न अन्तिम दिन युवराज्ञी डायनाको दुर्घटनामा निधन भयो। त्यसको एक साता नबित्दै सेप्टेम्बर ५ मा मदर टेरेसाको। यसलगत्तै नेपालका एकजना पञ्चायतकालीन पूर्वप्रधानमन्त्रीको सम्पर्कमा आएका मानिसले एउटा रमाइलो कुरा सुनाए। ती पूर्वप्रधानमन्त्रीसँग डायना र मदर टेरेसा दुवैको कुरा भयो। उनले कुराकै प्रसंगमा ‘मदर टेरेसाको कुरा नगर्नुहोस्। कुरा डायनाको गर्नुहोस्’, भनेछन्। हाँसोको फोहरा छुटेको थियो रे। उनको यसलाई ठट्टामा भने पनि कस्तो समाचारले पाठकलाई आकर्षण गर्छ भनेर थोरै भए पनि संकेत पक्कै गर्छ।
अहिले अगस्तको मध्य नै छ। हो, यो वर्षको अगस्त आइपुग्दा हामीलाई यो गर्मी, बाढी, मौसम परिवर्तन आदिका समाचारले कति ताने ? के यस्ता र अरू राजनीतिक समाचार एक ठाउँमा छन् भने हाम्रो आँखा पहिले कता तन्कन्छ ? समाचारले वर्षौंदेखि हामीलाई ‘इन्स्टन्ट’ (तयारी) खानाको जस्तोमा लत लगाइदिएको छ ? तपाईंलाई के यो वर्ष मौसम परिवर्तनको भयावह अलि बिछट्टैको लागेन ? मेरा आँखा त्यस्ता समाचारमा पुगेर हुन् वा नेपाल वातावरण पत्रकार समूहद्वारा प्रशिक्षित पत्रकार भएर हो, म अलि हच्कें। मलाई कठिन भयो। मैले ठूलो खाडल देखें। यी विषय गम्भीर हुन्, सबैले घोत्लिएर सोच्नैपर्छ। हो, मन खल्लो पारिरहने यस वर्षका मौसम परिवर्तन आदिका समाचारहरू मार्चदेखि नै घटे। अझै घट्दैछन्।
कस्तो भने सुतेको मानिस बिहान सद्दे नभेटिन सक्छ, आगोमा सकिन सक्छ, पानीले बगेको हुन सक्छ। कहिल्यै नआउने बाढी घरमा पसेको हुन सक्छ। शीतलहरले कक्रेको हुन सक्छ। हिमतालले बेपत्ताा पारेको हुन सक्छ। जे पनि हुन सक्छ।
कामको सिलसिलामा पोर्चुगलमा रहेका मेरा स्कुले साथी केदार दाहालले फेसबुकमा आफू ‘अलेन्तेजो’ भन्ने ठाउँमा लागेको डढेलोमा सुरक्षित रहेको जनाएका छन्। डढेलोको यो भयावह युरोपका थुप्रै देशमा भयो। त्यसमा पनि ग्रिसको बढी क्षति गर्ने खालको रह्यो। डढेलो अल्जेरिया, इटली, क्रोयसिया, टर्की, स्पेन, ट्युनिसिया आदिमा थियो र कहीँ छँदैछ। युरोपबाहिर मार्चमा सुरु भएको क्यानडाको डढेलोले अमेरिकाको उत्तरी भागमात्र प्रभावित पारेन, यसको धुवाँ आन्ध्र महासागर पार गरेर युरोपसमेत पुग्यो। डढेलो निभाउन जुटेका दुइटा हेलिकप्टर अमेरिकाको क्यालिफोर्निया राज्यमा जुधेका कारण तीन जनाको मृत्यु भएको छ। हवाई राज्यको लहानिया डढेर खरानी भएको छ। चिन्ता वनविनाश, सम्पत्ति नासको मात्र रहेन। त्योभन्दा बडो यो ग्रहको भविष्यको रह्यो।
पानी पनि मित्र भएन। बाढी आयो, डुबान भयो। काठमाडौं एकपल्ट डुब्यो। मुस्ताङको कागबेनीमा यत्रो विनाश भएको छ। नेपालीका मनमनमा मेलम्ची डुबेको घटना त्यति पुरानो भएको छैन। कोसीका सबै ढोका खोल्नु परेको छ। नर्वेको बाढीले बाँधको एक भाग फुट्यो। पुल भाँचियो। युरोपभर भयमात्र भयो। युक्रेन युद्धका के कुरा बाढीले जर्जियामा १२ मरे र २५ हराए, स्लोभेनियामा बृहत् क्षति भयो, टर्कीका मृत सागर क्षेत्रमा सयौं विस्थापित भए, रुसको सोचीमा दुई सय नासिए आदि। समुद्रको पानी तात्यो। अमेरिकाको फ्लोरिडाका समुद्री किनारहरू पर्यटकका आकर्षण हुन्, तर त्यहाँको समुद्रको पानी उम्लिए जत्तिकै तातो भयो। प्रकृति हामीसँग रिसाएको छ। रिस बढ्दो छ।
गर्मीले आकाशबाट चरा झरेर मरेको समेत सुनिन्छ। मान्छेलाई त्यस्तै अवस्था आयो। परिस्थिति पनि यति विचित्रको भयो। अमेरिकाका केही अस्पतालमा आएका बिरामी हातखुट्टा आदि पोलेका आए। भयो के भने गर्मीले मान्छे ढले। जुन भुइँमा ढले, त्यसैले पोल्यो। अमेरिकाको एरिजोनास्थित भ्यालीवाइज हेल्थ अस्पतालको एरिजोना बर्न सेन्टरमा यस्तै बिरामीको उपचार गरियो। केही बर्न सेन्टर त भरिएको समाचार आए। अस्पतालले पनि यस्ता बिरामीका लागि फरक तरिकाले चाँजोपाँजो मिलाउनुपर्ने भयो। ‘उम्केको माछो, मरेको पाडो, पोहोरको दसैं, अहिलेको जाडो निकै ठूलो’ यस्तै हुन्छ। हामी सञ्चोमा बिर्सन्छौं। बिसञ्चोमा सम्झन्छौं। हामी भनेर आममान्छेले यसका लागि के गर्नुपर्ने हो ? स्थानीय सरकारले के गर्नुपर्ने हो ? राज्य सरकार यसका लागि कहाँ उभिएको छ ?
सिंगो राष्ट्र के भन्छ ? संयुक्त राष्ट्रसंघ आदि संस्थाले के गर्ने हैसियत राख्छ ? राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले सम्भवतः अब विश्वव्यापी तापमान वृद्धि (ग्लोबल वार्मिङ)को युग सकिएको छ र र अब उम्लिरहेको युग (ग्लोबल ब्वायलिङ)को सुरु भएको बताएका छन्।
यो वर्ष गर्मी र बाढीका युरोपेली अनि अमेरिकी समाचारले एसियाका यही प्रकृतिका समाचार छायामा परेजस्तो भयो। भोग्नेले मात्र पीडा बुझ्छ। अरू त पढ्ने मात्र त हुन् नि ! समाचार पढ्ने, स्कुल, कलेज वा विश्वविद्यालयका पाठ्यपुस्तकमा पढ्ने। अनुसन्धानकर्ता र वैज्ञानिक अनुसन्धानमा जुटिरहेका छन्। उनीहरू चेतावनी दिइरहन्छन्। हाम्रा एउटा कानले सुन्छन् र अर्काले उडाउँछन्। एकभन्दा अर्काे मौसम, एकभन्दा अर्काे साल भयावह बढ्दो छ। तातो बढ्दो छ। बाढी उर्लंदो छ।
कस्तो भने सुतेको मानिस बिहान सद्दे नभेटिन सक्छ, आगोमा सकिन सक्छ, पानीले बगेको हुन सक्छ। कहिल्यै नआउने बाढी घरमा पसेको हुन सक्छ। शीतलहरले कक्रेको हुनसक्छ। हिमतालले बेपत्ता पारेको हुनसक्छ। जे पनि हुन सक्छ। मानिस विवश भइसकेको छ। केही गर्न नसक्ने भएको छ। मौसम परिवर्तनको जटिलता निकै जेलिएको छ। यसको गाँठो फुक्दैन, हजुर। हामी यो मौसम परिवर्तनको परिभाषा बदलेर बसिरहेका छौं। सिंगो पृथ्वी अन्तिम भोज खाइरहेछ।