आइटी क्षेत्रको प्रवर्द्धन गर्न 'वर्डक्याम्प काठमाडौं' आयोजना हुँदै
काठमाडौं : आइटी क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले वर्डक्याम्प काठमाडौं आयोजना हुने भएको छ। नेपाल वर्डप्रेस कम्युनिटीले भदौ २२ देखि दुई दिन आयोजना गर्ने कार्यक्रममा डेभलपर, डिजाइनर, ब्लगर वा प्लेटफर्मको असीमित सम्भावनाका विषयमा बहस हुने छ।
अन्वेषण गर्ने प्रयोगकर्ता र वर्डप्रेसको बारेमा जान्न चाहने सबैका लागि कार्यक्रम उपयोगी हुने आयोजकले जनाएको छ। आर्टिफिसियल इन्टेलिजेन्सको अत्याधुनिक विकासदेखि व्यावहारिक वेव डेभलपमेन्ट प्रविधिहरू, सामग्री सिर्जना (कन्टेन्ट क्रिएट) रणनीतिहरू प्रयोगकर्ता-केन्द्रित डिजाइन सिद्धान्तहरू, सर्च इन्जिन अप्टिमाइजेसनदेखि ई-कमर्ससम्बन्धी सत्रसमेत सञ्चालन हुने आयोजकले बताएको छ।
व्यावहारिक ज्ञान र काम लाग्ने शिक्षा प्रदान गर्नु नै वर्डक्याम्प काठमाडौंको मूल उद्देश्य रहेको आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। वर्डप्रेसमा आफ्नो कौशल बृद्धि गर्न खोज्ने सिकारूदेखि सीमित घेराभन्दा बाहिर रहन खोज्ने अनुभवी विशेषज्ञका लागि समेत यो कार्यक्रम सिक्न, बढ्न र जोडिनका लागि आदर्श प्लेटफर्म हुने आयोजकको दाबी छ।
'वर्डक्याम्प काठमाडौं २०२३ शैक्षिक सत्रहरूको बारेमा मात्र नभई कार्यक्रमले समुदाय र सहयोगको भावनालाई बढावा दिनेछ। यसले सहभागीहरूलाई वर्डप्रेस उत्साहीहरूसँग जोडिन, विचारहरू आदानप्रदान गर्न र अर्थपूर्ण छलफलमा सहभागी हुने सुनौलो अवसर पनि हो,' विज्ञप्तिमा भनिएको छ।