कालिगण्डकी कटानले छुसाङ-चैले पक्की पुलमा क्षति
जोमसोम : कालिगण्डकी नदी कटानका कारण मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ मा अवस्थित उपल्लो मुस्ताङ जोड्ने छुसाङचैले ७६ मिटर लामो पक्की मोटरेबल पुलमा क्षति पुगेको छ। कालिगण्डकी नदी कटानले छुसाङचैले पक्की पुलको दक्षिण/पञ्चिमतर्फको एप्रोज सडकमा क्षति बनाउँदा बुधबार बिहानदेखि सडक अवरुद्ध भएको हो।
नदी कटानले दक्षिण-पश्चिमतर्फको एप्रोज सडकको सुरक्षाका लागि निर्माण गरिएको २ दर्जन ग्याविन वालमा क्षति हुँदा एप्रोज सडकको एप्रोज भाँसिएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए। कालिगण्डकी नदी कटानले एप्रोज सडकको तल करिव १० मिटर जति जमिन खोतल्दै खोक्रो पारेको अध्यक्ष बिष्टले उल्लेख गरे।
छुसाङ-चैले सडक अवरुद्ध भएसंगै उपल्लो मुस्ताङको सिधा यातायात अवरुद्ध भएको हो। एप्रोज सडक अस्थायी रुपमा निर्माण गर्ने पहल भइरहेको अध्यक्ष बिष्टको भनाई छ। छुसाङ-चैले पक्की पुलमा २०७६ सालमा दुईतर्फी ग्याविन वाल निर्माण गरी माटो फिलिङ गरेर यातायात संञ्चालन गरिएको थियो।
उपल्लो मुस्ताङको जोड्ने छुसाङ-चैले पक्की मोटरेबल लोकल रोड ब्रिज प्रोग्राम (एलआरबिपी)ले २०७१ सालमा ४करोड ७३ लाखमा ठेक्का लगाई निर्माण सुरु गरेको थियो । पुल निर्माण चरणको अन्तिममा पुग्दा राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला)सडकलाई हस्तान्तरण गरिएको थियो।
यसैगरी मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ कागबेनीमा निर्माणधिन पक्की मोटरेबल पुल आईतबार साँझ कागखोला बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो। बाढीले पक्की पुलसहित कागबेनी मुख्य राजमार्ग सडकको करिव एक सय मिटर सडक ट्याकमा क्षति पुगेको छ। अहिले कागबेनी मुख्य सडक र छुसाङ-चैले पक्की क्षति भएकाले उपल्लो मुस्ताङ सवारी आउजाउ बन्द भएको हो। कागबेनीमा निर्माणधिन २५ मिटरको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको भएपनि निर्माण कम्पनीको वेवास्ता र ढिलासुस्तीले सम्पन्न हुन सकेको थिएन ।पुल २०७५ सालमा निर्माण सुरु गरिएको थियो।