गुठी समस्या समाधानका लागि अर्थमन्त्रीको ध्यानाकर्षण
नुवाकोट : नुवाकोटको उत्तरी भेगको रहेको लच्याङस्थित गुठी जग्गाको समस्या समाधान गर्न स्थानीयवासीले सरकारको ध्यानाकर्षण गराएका छन्। जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन स्थानयीले माग गरेका छन्।
सूर्यगढी गाउँपालिकाले गुठीको नाममा रहेको जग्गाको समस्या समाधान गरी लालपुर्जा उपलब्ध गराइदिन अर्थमन्त्रि डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएको हो। भैरबी गुठीको नाममा जग्गाको लालपुर्जा रहेकोले स्थानीयहरु विभिन्न प्रकारका सेवा सुविधाहरुबाट बञ्चित भएकोले आफूहरुले स्थानीयको माग अनुसार जनप्रतिनिधिका रुपमा अर्थमन्त्री डा. महतको ध्यानाकर्षण गराएको सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिए ।
सूर्यगढी गापा अध्यक्ष घले र नेपाली कांग्रेस सूर्यगढी गाउँपालिकाका उप–सभापति कालु तामाङ, सचिव बासु लम्साललगायत स्थानीयवासीले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर सूर्यगढी १ अर्थात् साबिक लच्याङ गाविस अन्तरगतका १, ३, ४, ५, ६, ७, ८ वडाहरुका सम्पूर्ण जग्गाहरु भैरबी गुठीको नाममा रहेकोले सो जग्गाको लालपुर्जा सम्बन्धित ब्यक्तिहरुको नाममा उपलब्ध गराउनको लागि ध्यानाकर्षण गराएको हो ।
उनले सदियौंदेखि लच्याङका स्थानीयहरुले जग्गाको जोतखन र भोगचलन गर्दै आए पनि आफ्नो नाममा लालपुर्जा नहुँदा अनेक समस्या भोगिरहेको बताए। अध्यक्ष घलेले गुठी समस्या सामाधनको लागि यथाशिघ्र प्रकृया अगाडि बढाइ कार्यान्वयनको व्यवस्था मिलाउन अर्थमन्त्री डा. महतको ध्यानाकर्षण गरिएको बताए ।
भेटका क्रममा अर्थमन्त्री डा. महतले छिट्टै लच्याङवासीका समस्याको समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन्। लच्याङ तामाङ समुदायको उल्लेख्य बसोबास रहेको पर्यटकीय स्थल हो।