मैथलीलाई कामकाजको भाषा बनाउन माग गर्दै मुख्यमन्त्रीलाई संस्मरणपत्र
बिराटनगर : मैथली भाषालाई कोशी प्रदेशको कामकाजी भाषाको रुपमा कार्यावन्यन गर्न दुई दर्जन संघसंस्थाले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई संस्मरणपत्र बुझाएका छन्। मैथली भाषाको संरक्षण र सम्बर्द्धन गर्दै आएका दुई दर्जन संघसंस्थाले बुधबार मुख्यमन्त्री थापालाई संस्मरणपत्र बुझाएका हुन्।
प्रदेश भरीका २९ वटा संघ संस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा नेपाल मरिक डोम समुदाय विकास मञ्चका अध्यक्ष बालदेव मरिकको हाथबाट मुख्यमन्त्री थापालाई संयुक्त संस्मरणपत्र बुझाएको हो।
संयुक्त संस्मरणपत्र बुझाउँदै अभियन्ता राम रिझन यादवले कोशी प्रदेशका तत्कालीन सरकारद्वारा पर्यटन तथा संस्कृति मन्त्री खिनु लड्वा लिम्बुको अध्यक्षतामा ९ सदस्य मैथिली र लिम्बु भाषा मस्यौदा समिति गठन गरी सरकारलाई बुझाएको प्रतिवेदन अनुसार तत्काल व्यवहारिक रुपमा लागु गर्नु पर्ने माग गरे। मैथिली भाषालाई कामकाजी भाषाको रुपमा प्रयोग गर्न प्रतिवेदनमा उल्लेखित भएकाले संयुक्त संस्मरणपत्र बुझाउन आएको यादवले सुनाए।
कोशी प्रदेशमा दास्रो सबभन्दा बढी बोलिने भाषा मैथिली एकाले मैथिलीको पहिचान, अस्तित्वको रक्षा गर्न एक कदम पनि पछाडि नहट्ने उनले बताए।
त्यसै गरी नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा निर्माण गरिएको कक्षा १ देखि ८ सम्म मातृ भाषामा पठन पाठन गराउनु पर्नेमा स्थानीय सरकारले बेवास्ता गर्दै आएकाले तत्काल मातृभाषमा अध्ययन र अध्यापन गराउन मागसमेत संस्मरणपत्रमा गरिएको छ। अभियन्ताहरुले कठोर पर्वको रुपमा रहेको जितिया पर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिइ सार्वजनिक बिदाको घोषणा गर्नुपर्ने मागसमेत गरेका थिए।
संयुक्त संस्मरणपत्र बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री थापाले नेपाल विभिन्न जात जाती र भाषा भाषीको साझा घर भएकाले सबैको भाषा र संस्कृतिलाई सम्मान तथा संरक्षण गर्न प्रदेश सरकार तयार रहेको बताए। संयुक्त संस्मरणपत्रमा रहेको माग जायज रहेकाले प्रदेश सरकार कार्यावन्यन गर्न तत्परता देखाउने बताए। उनले भने, 'अगामी प्रदेश सभाको बैठकबाट उठाएको मागलाई सम्बोधन गर्ने प्रक्रिया अघि बढाउने छु।'
मैथिली भाषालाई कोशी प्रदेशको कामकाजी भाषाको रुपमा कार्यान्वयन गर्न प्रदेश सरकारलाई संयुक्त संस्मरणपत्र र हस्ताक्षर सङ्कलनसहितको ब्यानर बुझाइएको छ।