राजनेता र राजनीतिका नेता

राजनेता र राजनीतिका नेता

सबै नेतामा स्टेट्सम्यान (राजनेता) मा हुनुपर्ने गुण हुँदैनन् ।

‘एउटा राजनीतिक नेताले आउने निर्वाचनलाई विचार गर्छ भने एउटा स्टेट्सम्यान (राजनेता) ले आगामी पुस्तालाई।’

जेम्स् फ्रिम्यान क्लार्क (सन् १८१०–१८८८) जेम्स् फ्रिम्यान क्लार्क १९औं शताब्दीका एक जना लेखक, विचारक, धर्मका अध्येता र पालक हुन्। स्टेट्सम्यान र राजनीतिक नेताबीचको भिन्नताका बारेमा उनका व्यक्त विचारलाई उद्धरण गरी यो लेख तयार पारिएको छ। जसबाट नेपालको वर्तमान राजनीतिक अवस्थालाई तुलनात्मक विवेचना गर्न मद्दत मिलोस् भन्ने उद्देश्य राखिएको छ। स्टेट्सम्यान (राजनेता) र राजनीतिक नेतामा शाब्दिक अर्थको हिसाबले उत्ति साह्रो अन्तर छैन। तर पनि राजनीतिक सोचको दायरा, दृष्टिकोण, लक्ष्य, राष्ट्र र राष्ट्रियताको सन्दर्भमा दूरगामी प्रभाव पार्ने कुराहरूले राजनेता र राजनीतिक नेतामा केही भिन्नता अवश्य छन।

गुण र दोष सबै मानिसमा हुन्छन्। सर्वगुण सम्पन्न कोही पनि हुँदैनन्। जस्तोसुकै खराब आचरण भएका मानिसमा पनि केही न केही राम्रो गुण भएकै हुन्छ। उसमा रहेका अवगुणहरूलाई शुद्धीकरण गरी सुधार गर्न सके तिनलाई पनि गुणी बनाउन सकिन्छ। तर खराब मानिसमा पनि आफूलाई सुधार्ने, शुद्धीकरण गर्ने सकारात्मक सोच भने हुनैपर्छ। आफूमा रहेका नराम्रा गुणहरूलाई फाल्न सक्नुपर्छ। गुणी हुने संकल्प गर्नैपर्छ।

राजनीतिमा असफल मानिस नेता बन्ने कुरै भएन। कुनै पार्टी वा दलको शीर्ष नेता बन्न लामो र महत्त्वपूर्ण समयको योगदान चाहिन्छ, त्याग तपस्या चाहिन्छ। कुनै एक दलको नेता हुँदैमा ऊ स्टेट्सम्यान (राजनेता) हुनुपर्छ नै भन्ने होइन। सबै नेतामा स्टेट्सम्यान (राजनेता) मा हुनुपर्ने गुण हुनै पर्छ भन्ने पनि छैन। तर एउटा सभ्य सुसंस्कृत देशका नेतामा उच्चकोटीको राष्ट्र प्रेमको भावना भएमा त्यस देशको मुहार अवश्य फेरिन्छ भन्ने विश्वास त्यस देशका जनतामा हुनु स्वाभाविक हुन्छ। दूरदृष्टि भएका वा भविष्य द्रष्टा नेताले राष्ट्र र जनताको लागि दूरगामी प्रभाव पार्ने योजना तथा कार्यक्रम बनाउँछ। अरू सामान्य नेताहरूले दुई, चार वर्षको लागि मात्र सोच्ने गर्छन्।

स्टेट्सम्यान (राजनेता)हरू राजनीतिक मूल्य मान्यता र आस्थाप्रति दृढ हुन्छन्, सत्यवादी र यथार्थवादी हुन्छन्। सत्यको पक्षमा अविचलित रहन्छन्। झुटको सहारा लिँदैनन्। जनतालाई अल्मल्याई भोटको राजनीति गर्दैनन्। राष्ट्र र जनताप्रति उत्तरदायी भई राष्ट्रिय हितमा ध्यान दिने राष्ट्रवादी हुन्छन्। आफ्नो स्वाभिमानबाट एक इन्च पनि डग्मगाउँदैनन्। देश र जनताको उन्नति, प्रगति र समृद्धिको लागि स्पष्ट दृष्टिकोण, लक्ष्य र कार्ययोजना बनाउँछन्। सम्भावित बाधा–अड्चन, समस्या, प्रकोपहरूको पूर्वानुमान गर्न सक्ने क्षमता र त्यसको पूर्वतयारी र निराकरणका उपायहरू तत्काल निकाल्ने क्षमता राख्दछन्। न कि घटना घटेको धेरै समयसम्म पनि कुनै प्रतिक्रियाविहीन बनेर बस्नु परोस्। उनीहरू प्रभावशाली वक्ता हुन्छन्, तार्किक र बौद्धिक क्षमताले भरिएका हुन्छन्। जसले आफ्नो विचारलाई सर्वसम्मत र सर्वस्वीकार्य गराउन सक्छन्। आफ्नो वचनमा अडिग रहन्छन्, छिनछिनमा कुरा फेर्ने गर्दैनन्। स्वच्छ र सुसंस्कृत राजनीतिलाई महत्त्व दिने हुन्छन्। निश्चित समयको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्छन् र समयमै निवृत्त हुन्छन्।

कुनै पार्टी वा दलको शीर्ष नेता बन्न लामो र महत्तवपूर्ण समयको योगदान चाहिन्छ, त्याग तपस्या चाहिन्छ।

आफ्नो आचरण शुद्ध छ भने कसैसँग कोही डराउनु पर्दैन। आफू कमजोर भए कुनै न कुनै, कसै न कसैको सहारा लिनुपर्ने हुन्छ। संसार यति मतलवी भइसक्यो कि बिना मतलव कोही कसैको सहयोग गर्दै गर्दैन। सहयोगको बदलामा कुनै न कुनै रूपमा मूल्य चुकाउनुपर्ने हुन्छ। चाहे त्यो कुनै व्यक्ति होस् वा राष्ट्र ! मद्दत गर्नेले सहयोगको बदलामा केही न केही खोजी हाल्छन्। सद्भावभित्र पनि केही न केही स्वार्थ अवश्य लुकेका हुन्छन्। अनि कमजोर हरहमेशा ठगिन्छन्। लुटिन्छन्। आजको संसार यति बजारमुखी र व्यापारी भइसकेको छ कि हरेक कुरा आर्थिक लाभसित जोडेर हेरिन्छ। यतिसम्म कि मानवीय सहयोग पनि फाइदासित जोडेर हेरिन थालिएका छन्। कतिपय धनी राष्ट्रहरूले अल्पविकसित र गरिब मूलुकहरूलाई दिने सहयोगका पछाडि पनि त्यस्ता धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय स्वार्थ लुकेका हुन्छन्।

अब राजनीतिक नेताका आचरण र गुणको बारेमा पनि केही कुरा गरौं। राजनीतिक नेताहरू शक्ति र धनका लागि राजनीति गर्छन्। आफ्नो पद र दलको लाभमा बढी केन्द्रित हुन्छन्। दृष्टिकोण, लक्ष्य र कार्यक्रमहरू अल्पकालीन हुन्छन्, केवल चुनाव केन्द्रित हुन्छन्। बोल्न एकदम सिपालु हुन्छन्, प्रभावकारी भाषण गर्छन्। राजनीतिसम्बन्धी उति साह्रो ज्ञान नभएका जनतालाई समेत विश्वासमा लिन सक्ने क्षमता राख्छन्। राजनैतिक विचार र आस्थामा साह्रै लचकदार हुन्छन्। परिआएको बेला परिवर्तन गर्न सक्छन्। अन्तर्राष्ट्रिय राजनैतिक धारणा पनि शक्ति केन्द्रित र निर्देशित हुन्छन्। यिनीहरू व्यक्तिगत लाभ र राजनैतिक हितका लागि जुनसुकै हदसम्म जान सक्ने हुन्छन्। राजनैतिक लाभ प्राप्तिका लागि झुट बोल्न कुनै संकोच मान्दैनन् र नकारात्मक सन्देश प्रवाह गर्ने खुबी राख्दछन्। यिनीहरू पद र प्रतिष्ठा सजिलै छोड्न चाहँदैनन्। जति सक्यो बढी नेतृत्वमा बसी रहन मन पराउँछन्।

यी राजनैतिक नेताका बारेमा रहेका विश्वव्यापी धारणाहरू नेपालको परिप्रेक्ष्यमा पनि उत्तिकै सान्दर्भिक छन्। हिजोआज सबै राजनैतिक दलका नेताहरू राष्ट्रिय महत्त्वका एजेन्डाहरूलाई पन्छाएर आगामी २०८४ को आमचुनाव केन्द्रित कार्यक्रमहरू बनाउन व्यस्त भइसकेका छन्। अब उनीहरू दीर्घकालीन होइन अल्पकालीन लक्ष्य लिएर अघि बढ्ने छन्। अल्पकालीन विकासका योजनाहरू पनि पस्किनेछन्। जुन योजनाहरूको पूर्ण रूपमा कार्यान्वयन नै नभई भत्किनेछन्, अनि फेरि अर्को चुनावका लागि त्यही एजेन्डा ल्याइनेछन्। दोहोर्‍याई–तेहर्‍याई ! गरिब देशको सीमित आर्थिक स्रोत पनि बिनाकारण पानीमा बगाइन्छन् ! राष्ट्र र जनताको सम्पत्ति उपलब्धिहीन कार्यमा खर्च भइरहन्छन्। यो अदूरदर्शिताको ज्वलन्त नमुना हो यसमा थप टिप्पणी गरिरहनु परेन।

स्टेट्सम्यान र राजनीतिज्ञको बारेमा विश्वेश्वरप्रसाद कोइरालाले भनेका छन, ‘संस्कृत र नेपालीमा स्टेट्सम्यान र पोलिटिसियनको ठीक अर्थ लाग्ने शब्द छैन। स्टेट्सम्यानले २०/२५ वर्षपछिको मेरो देशलाई के बनाउँछु भनेर सोचेको हुन्छ, पोलिटिसियनले म कसरी सत्तामा जान पाउँछु भन्ने मात्र सोचेको हुन्छ।’ भन्नु भएको छ (राजा, राष्ट्रियता र राजनीति – विश्वेश्वरप्रसाद कोइराला, पृ. १४२, गणेशराज शर्माद्वारा संकलित तथा सम्पादित– २०६३)
त्यस्तै केही दिनअघि राजनीतिज्ञ सूर्यराज आचार्यले पनि सामाजिक सञ्जालमा सार्वजनिक गर्नु भएको एउटा भिडियोमा भन्नु भएको छ, ‘घतलाग्दो कुरा ! पोलिटिसियन र लिडर फरक कुरा हुन्। पोलिटिसियनको चासो अगाडिको चुनावमा हुन्छ। लिडरको चासो नयाँ पुस्ताको भविष्यमा हुन्छ।’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ (२०५९) पुस्तक पढ्ने अवसर पाएको थिएँ। यो पुस्तक सांकेतिक रूपमा भक्तपुरको विकासलाई कल्पना गरेर लेखिएको भए पनि नेपाल राष्ट्रकै विकासको योजना बनाउन उपयुक्त रहेको महसुस गरेँ। पुस्तकमा ५० वर्षपछिको नेपालको पनि परिकल्पना गरिएको छ। उहाँले उक्त पुस्तकमा ५० वर्ष पहिलेको भक्तपुरको अवस्थालाई सविस्तार चित्रण गर्नुभएको छ भने सय वर्षपछि भक्तपुरलाई कहाँ पुर्‍याउने भन्ने योजनासहित भक्तपुरको विकास र समृद्धिको सुन्दर परिकल्पना गर्नु भएको छ। उहाँले नेताहरू कस्तो हुनुपर्छ भन्ने प्रसंगमा एक ठाउँमा ‘नेताहरू दूरदर्शी र योजनाबद्ध आर्थिक विकासका पक्षपाती हुनुपर्छ, त्यस्तो विकासको निम्ति २०/२५ वर्ष नै पर्याप्त छ।’ भन्नु भएको छ (पृ.–६)। उहाँको त्यस पुस्तक पढ्ने जोसुकै उहाँको दूरदर्शिताबाट प्रभावित भएकै हुनुपर्छ।

भक्तपुर सहरका पुरातात्विक सम्पदाहरूको जगेर्ना गर्ने, कला संस्कृतिको समुचित संरक्षण गर्ने, विज्ञान र प्रविधिको आधुनिक चमत्कारहरूलाई पनि उत्तिकै महत्त्व दिएर विकासको गतिमा प्रतिस्पर्धी क्षमता बढाउँदै लाने, शिक्षाको क्षेत्रमा अभूतपूर्व प्रगति गरी अन्तर्राष्ट्रिय अध्ययन अनुसन्धानको केन्द्र्रको रूपमा स्थापित गर्ने, अन्तर्राष्ट्रिय रूपमा पर्यटनको आकर्षक केन्द्र बनाउनेजस्ता सोच जनतामा सिञ्चन गर्ने सामथ्र्य राख्नुभएको छ, उहाँले यस पुस्तकको माध्यमबाट। एक नेताले सय वर्षपछिको परिकल्पना गरी आफ्नो देशलाई विकासको मार्गदर्शन दिन सक्नु उनको प्रभावशाली र दूरदर्शी नेतृत्वको प्रतिविम्ब हो। करिब २०/२५ वर्षपहिले व्यक्त उहाँका विचारहरूमध्ये कला, संस्कृति, र सम्पदाहरूको संरक्षण, शिक्षा, स्वास्थ्य र सरसफाइको क्षेत्रको विकासमा भक्तपुरले धेरै लामो छलांग मारिसकेको छ। देशका विभिन्न स्थानीय निकायका पदाधिकारीहरूको टोलीहरूले भक्तपुरमा गर्दै आएको अध्ययन भ्रमणहरू यसका ज्वलन्त उदाहरण हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.