मुस्ताङको कागबेनी बाढीपीडितलाई २० लाख रुपैयाँ सहयोग
जोमसोम : मुस्ताङको कागबेनीका बाढीपीडितलाई शुक्रबार २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।
भारतको देहरादुनस्थित साक्या डोल्मा फोड्राङको परमपुज्यनिय साक्या ठ्रिछेन रिम्पोछेको आर्थिक सहयोगमा कागबेनी बाढीपीडित २५ घरधुरीलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो।
गत साउन २८ गते साँझ मुस्ताङको कागबेनीस्थित कागखोलाको बाढीले करोडौंको भौतिक संरचनामा क्षति पुगेको थियो। कागबेनी धर्मशाला नजिकको बजारमा घरसहित धनमाल क्षति भएका परिवारलाई साक्या रिम्पोछे आफैं कागबेनीमा आएर नगदसहितको चेक बाढीपीडित परिवारको हातमा हस्तान्तरण गरिएको कागछोदे गुम्बा विद्यालयका प्रमुख लामा खेम्बो तेन्जिङ साङ्वोले जानकारी दिए।
कागबेनीका पूर्ण क्षति भएका १५ घरपरिवारलाई जनही एक/एक लाख र आशिंक क्षति भएका १० घरपरिवारलाई जनही ५० हजार रुपैयाँ राहत स्वरुप साक्या रिम्पोछेबाट सहयोग हस्तान्तरण भएको खेम्बो तेन्जिङ साङ्वोले जानकारी दिए।