भाइरसहरूको ताण्डव
भन्नै पर्दैन, ती को हुन् ! यति त बुझ्न सक्छु नि म पनि। हाम्रो देशबाट असीमित फाइदा लिन खोज्नेको नवआविष्कारहरू... !
जब वर्षौंदेखि कुँजिएर बसेको गरिबी च्वाट्टै चुँडिने उपाय फेला पारिहाले झैं गरेर मुलुक आसिलो वातावरणमा लटपटिन थाल्छ, म पनि के कम ठानेर लागिहाल्छु।
साथीसंगाती, आफन्त, नाताकुटुम्ब सबैका सबै कि ईडीभी भरिरहेका छन् कि दक्षिण कोरिया जान भाषा परीक्षा दिने फर्म भरिरहेका देखिन्छन्।
‘तिमीजस्ता युवा पनि अल्झिरहने हो यस देशमा ? खुरुक्क गइहाल विदेश। ...अनि बुढेसकालमा फर्के भइहाल्छ नि, पशुपतिनाथमा घण्ट बजाउन। खोक्रो आदर्शले केही हुन्न बुझ्यौ ?’
जोकोही आफूलाई बुज्रुक ठान्नेहरू हातै समातेर यसो हेर्दै आफ्नो बौद्धिकता छरिहाल्छन्। मलाई पनि त आफ्नो भविष्य सुदृढ गर्ने मनसुबा छ नि खासमा। हो, यही खास उद्देश्य लिएर खास दिनमै पुग्छु। पुग्न त पुगेकै हो, तर पालो आउने कहिले हो कहिले। यता भीड, उता भीड। तल सडकभरि जाम। सवारीसाधनका ट्याट्या टुटुको सास्ती अर्कातिर।
स्वाभाविक पो देखिन थालेको छ त, गरिबीले चपक्क अँगालेको हाम्रो जस्तो देशमा सञ्जीवनी बुटी नै फेला परेजस्तो।
हो, सही बेला सही निर्णय लिएछु, लाग्न पो थाल्छ जब आफ्नो टोलका डाक्टर, इन्जिनियर, वकिलजस्ता नामधारी व्यक्तित्वहरू पनि ईडीभी सेन्टरको माथिल्लो तल्लाबाट फोटोसोटो खिचाइवरी फर्मसर्म भरभार गरीवरी पैसा तिरतार गरेर ओठमा मुस्कान नचाउँदै झर्न थाल्छन्।
उहाँ पनि आउनु भएछ त...।
उहाँ जस्तो त आउनु भएको छ भने...।
ईडीभी र यस्ता अवसरले बेरिँदै गरेका हाम्रो जस्ता देशमा अब यस्तो अभिव्यक्ति सुनिँदैन, यसपालि त यस्तो पो देखिन थाल्दै छ:
मैले पनि भरेको छु नि।
यस्तै होला, त्यसैले आफ्नो टोलका दक्ष व्यक्तिहरू जब तल झर्छन्। मुस्कान साटासाट गरिन्छ, छाती ढक्क फुलाइन्छ, मानौं पुरुषार्थ गर्न अब कोही कम हुन हुन्न।
किन नजाने ! योग्य मान्छेलाई आफ्नो योग्यता सिद्ध गर्न पाउने यहाँ वातावरण दिएको छ त आफ्नो देश भनेर बसिरहन ?’ एक जना च्याँठिँदै बाहिर आउँछ। साथमा एक दुःखी अनुहार देखा पर्छ, सँगै। वृद्ध उमेर भएकाले पिता चाहिँ होला भन्ने सहजै अनुमान गर्न सकिन्छ।
‘उतै गएर मोज गरेर बस्ने नि। अहिले पतिपत्नी भनेर लेखिदिऔं न फर्ममा।’ यस्ता जोडी त कति देखिँदै छ कति त्यहाँ।
संसार अपरम्पार छ ! यसै त भन्न पर्ला नि।
अर्को स्वर बग्दै आउँछ– ‘आफ्नै देशमा केही गर्छु भनेर फर्केर आइयो। देशमा उद्योगधन्धा गर्छु, युवालाई रोजगारी दिन्छु भन्दा मलाई कति भाग चढाउने रे...! यस्तो देशमा बेकार फर्किएको अनुभव हुन्छ मलाई जस्तै। जाऊ, जाऊ तिमी पनि। अहिल्यै भरिहाल ईडीभी।’
अनेक सुनिँदै छ, सुनेअनुसारका ज्ञानगुन पनि बढ्दै गएको असत्य होइन। अरू त हैन, आफ्नै देशको।
जब आफ्नो पालो आउँछ, तिर्नलाई पैसा निकाल्छु त– ‘ए ! तैंले गर्न लागेको के हँ ?’
कतैबाट आवाज आउँछ, झट्ट हेर्छु, दायाबायाँ, अगाडिपछाडि, माथितल कतै कोही देखिँदैन।
आ... यस्तो भावुकताले भड्खालोमा हाल्छ, खल्तीबाट पैसा झिकेरै छाड्छु। दिनलाई हात के बढाउँछु त फेरि आवाज आउँछ, ‘तँजस्तो पनि जान्छस् भने के बाँकी रहला अब !’
के हुन्छ कुन्नि, फर्कन पो थाल्छु म त त्यसै। पैसा लिनलाई हात बढाएको स्पटको मान्छे पनि हेरेको हे¥यै।
‘धे मूला ! के ग¥या यस्तो ?’ पछाडिबाट सहपाठी फलाक्दै छ– ‘फर्म भर्नु थिएन त, यहाँ आएकै किन ? यत्रो लाइनमा बसीवरी त्यसै फर्कन...। आफू त अमेरिका गइन्छ। अब लाइफ राम्ररी सेट हुन्छ आफ्नो त।’ अब यो पनि अचम्म लाग्दैन, किनभने त्यो साथी कुन चाहिँ कार्यालयमा अधिकृत पद नै पड्काएर कमाइरहेकै होे।
‘हुन्छ, हुन्छ। ल, बधाई छ। मजाले जानू। नासामै काम पाउनू नि। अनि यस्तो स्याटलाइटको आविष्कार गर्नू जसबाट किरणहरू छरेर विश्वभर... शक्तिशाली राष्ट्रहरूले तुजुक दिन सक्ने निहुँ बनेको आणविक बमहरू ठाउँको ठाउँमै डिस्पोज पारिदिन सकियोस्।’ यसो पो भन्न पुग्छु, कुन्नि कुन सुरमा।
साथी भनाउँदो चाहिँ मैतिर हेरेर हात उठाएर ‘क्या तालको रहेछ’ शैलीमै उभिएर हेरिरहन्छ।
भन्नै पर्दैन, यस्ता हेरिरहने साथी पनि त्यही पंक्तिमा गई जम्नेछ जहाँबाट फेसबुक, इन्स्टाग्राम आदिमा देशका राजनीति र परिस्थितिमाथि दोषको डंगुर थुपारेर बाध्यताको समुद्र देखाउने र आफ्ना भित्री कुराहरूलाई ढपक्क ढाक्ने एकसाथ गर्ने कुशलता देखाउँछन्। अनि आपूmहरूप्रति ठडिने औंलाहरूलाई भ्रष्ट इष्र्यालुको ठोकुवा गर्दै आफूहरू चाहिँ सगरमाथाको सफल आरोहणजत्तिकै कीर्तिमानीको ठोकुवा गरिबस्छन्।
स्पटको बंगलाबाट चिप्लेर एकजनासित ठोक्किन पो पुग्छु, जो भन्दै छ, ‘तपाईंहरूलाई त के थाहा... हामीजस्ता गाउँघरबाट कति संघर्ष गरेर आएकाहरूको कुरा। गाउँमा केके मात्र गर्न परेन हामीले...। कति कुरा गरियो, गरियो...।’ त्यसपछि प्रायः देखिने दृश्य देखाउन थाल्छ, जस्तो सहरबजारमा दुईचार जना मान्छेसामु आफ्ना बहादुरी फलाक्ने वीर गाउँले दाजुभाइ, दिदीबैनीले वाकपटुताको लेपनमा नचाउन थालेको पाइन्छ नि आफ्ना संघर्षले भरिपूर्ण महागाथा। हो, नजानिँदो पाराले त्यसले पनि यहाँ बखान्न थाल्छ।
यो जुन आफ्ना संघर्षको किस्सा अरूको मनमा ‘च्वः च्वः’ र आँखामा आँसु अनि बहादुरीको सुरताल फलाकेर ‘ओहो’ ल्याउने ल्याकत राख्दै बखान्ने महोदय हुनुहुन्छ, उहाँ यस सहरमा दुईचारवटा निजी संस्थामा सियो बनी घुसेर हात्तीका रूपमा विराजमान व्यक्तित्व हुनुहुन्छ। अब यस्ता व्यक्तित्व यतातिर अनौठो त हुँदै होइनन्, किनभने यस खाल्डोमा सम्पूर्ण कुनाकुनाका व्यक्तित्वहरूले पदार्पण गरिसकेका छन् र यतातिर यस्ता कैयन्को सामना गरेर अभ्यस्त भइसकेको समय छँदैछ।
अनि त्यसले देशका नेता–पार्टीहरूलाई गाली फलाक्दै आफूलाई महान् सिद्ध गर्ने फेसन थालिहाल्छ।
दुईतीन दिन हैन, हप्तै त्यसको चलचित्र चलिरहेको छ मेरो सामु।
‘राज्यले अनुकूल गरिदेला र हामी केही गरौंला भनेर बस्नु हुन्न। नयाँ योजना बनाएको छु, मैले अझसम्म हात हालेका कामहरू सफल बनाएरै छाडेको छु। मसित लाग्नेहरूलाई काठमाडौंमा बिल्डिङ र कार लिएर हिँड्न सक्ने बनाएरै छाडेको छु।’ अनि नयाँ योजनाका फेहरिस्त खोल्छ र अन्त्यमा मौन संकेत गर्छ, जसको अर्थ हुन्छ, तपाईं कति हाल्ने ?
समय यस्तो छ। यस्तै मान्छे त चल्दै छ नि यहाँ। यो लाग्छ पनि पक्कै, ढाँट्ने कुरै छैन। यस्तो लगाएकै वा हो कि त्यस्तो, म जान्दिनँ।
मुख खोल्नमात्र के लाग्छु, साथीले अर्को व्यक्ति पनि ल्याइपु¥याउँछ भेट्टाउन, हाम्रो यस नायकलाई।
लौ ! लौ ! देख्नेबित्तिकै कठालो समातिहाल्छ, हाम्रो नायकको त्यस व्यक्तिले।
पहिला कुराले, त्यसले नभ्याएपछि बलले नवआगन्तुकलाई धकेलेर कुलेलम ठोक्छ हाम्रो नायक।
बल्ल पो खुल्छ, हाम्रो नायकका नायकीपन। तब त एउटा जानकारी दिन बिर्सेछु, त्यस नायकले जति घुमेर आएको कुरा जति घुमाएर गरे पनि अर्काको पैसामा मोजमस्ती गरेर, सम्पत्ति जोडजाड गरेर कति सहकारी डुबाएर अहिले भलादमी भइटोपलेर बसेको भन्ने रहस्योद्घाटन हुन कुनै आइतबार लाग्दैन अचेल। बस, चलचित्रमा पात्रहरूको नामावली सुरु अनि तुरुन्तै समाप्तिको गति। त्यसले लुकाउँदैमा वा घुमाउँदैमा त्यसको औंला पक्रँदै घुमिरहने भेडाबाख्रा त पक्कै थिइनँ ! विनम्रतावश सुनिदिनु न छ, त्यतिका आधारमा छिटछिटो माथि चढ्न थालेका व्यक्तिहरू ऊ यसरी नै तुरुन्तै तल खुरमुरिँदै छन्।
अब तपाईंलाई कति रामायण खोलूँ काठमाडौं सहरमा चरिरहेका यस्ता नायकहरूको सूचीको आकारप्रकारबारे।
स्पष्टै छ, सूचीको रामायण नखोलिए पनि यस खाल्डोमा महाभारत मच्चाइरहेका नायकहरू कति छन् कति।
महँगी एकातिर, अवसरको खडेरी अर्कातिर...देश प्यारो भन्दै टाँसिरहने कतिन्जेल त ? मनमा आउन थाल्छ फेरि। केही गर्न खोज्यो भने यस्तैयस्तैको फन्दामा पर्न पुग्ने सम्भावना पनि यति धेरै।
मुख नमीठो भएको अनुभूति मेट्न मोबाइल झिक्छु त मोबाइलभित्रबाट निस्केर एउटा सानो कीरो डिस्प्लेमा बस्छ थपक्कै। ए ! के हो ! हेर्न लाग्छु, तर झिमिक्क नगरी त्यस कीराको आकारमा तीव्र गतिले वृद्धि हुन थालिहाल्छ। मोबाइलबाट बुरुक्क हामफालेर जमिनमा उभिन्छ।
‘के हो, को हो ? कहाँबाट आएको ? किन आएको ? कसरी आएको ? यस्ता नन्सेन्स कोइसन सोधेर टाइम वेस्ट नगर। यो नभुल, तिमी अघिल्ला होइन, यस एक्काइसौं शताब्दीको जेनेरेसन हौं र यस युगमा केको शासन चलिरहेछ, मैले बताइरहनै पर्दैन।’ मान्छेको छायाजस्तै अनुहारविहीन आकृतिमा उभिएर त्यसले भनिहाल्छ पनि।
‘तर मेरो मोबाइलबाट...?’
मैले कुरो नसकाउँदै त्यो डुक्रिहाल्छ– ‘अघि वाइफाइ खोलेर बन्द गर्न बिस्र्यौ होला। बाटामा ककसको नेट टिप्यो, टिप्यो। मलाई आउन त ढोका खुल्ला भइहाल्यो, फुत्तै आएँ। तिम्रो मोबाइलमा विचरण गरें अनि जवान हुँदै आउन थालें र बाहिरिएँ, कति भित्र बसिरहनु !’
‘त, अब ?’ आश्चर्यले खुलेका मेरा ओठहरू बन्दै भएका छैनन्, यति मात्र निक्लन्छ।
आश्चर्य ! महाआश्चर्य ! !
त्यसले भनिदिन्छ– ‘आफूले गर्न चाहेका कुराहरू भन, म पूरा गरिदिन्छु।’
हाँस्ने कि के गर्ने, केही ठम्याउन नसत्तैm मुखले बोलिहालेछ– ‘मेरो देशले व्यापार गर्न पनि निकै अस्वाभाविक बाधाहरूको सामना गर्नुपर्ने भइरहेको छ। कृषि उत्पादन बेच्न पनि फटाहाहरूका कारण बाटैमा कति सास्ती कति। यसको समाधान गरिदेऊ त यदि सक्छौ भने।’
‘हे..., के कुरा ग¥या। अरू भन अरू।’ यसो पो भन्दो रहेछ त।
‘हाम्रा सीमास्तम्भहरू खुतुखुतु यतै आउन थाले, यसमा गरिदेऊ त के गर्न सकिन्छ।’ मैले पनि कम आँक्ने त कुरै छैन।
‘धत् ! यस्ता विषयमा पनि तिमीले चिन्ता गर्ने हो ? अरू कुरामा भन न।’
‘हैन, जे भने पनि अरू भन अरू भनिरहने हो कि क्या’हो ?’ झर्को पनि लाग्न थाल्छ।
‘भन त सही एउटा अर्को सही कुरा।’ त्यो सानो हाँसोका साथ भन्छ।
‘देशमा आर्थिक समस्याले यस्तो हाहाकार मच्चाइरहेछ, म के भनुँ ?’
त्यसले झट्ट मेरो हात समातेर कतै हिँडाउन खोज्दै भन्छ– देशलाई निचोरनाचार पार्दै ठगठाग गरर स्विस बैंकमा जम्मा पार्नेहरूको मात्र पैसा ल्याएर विकास योजनामा खर्च गर्ने हो भने तिम्रा देशको विकासस्तर नै कति माथि उठ्छ, उठ्छ, तर अहिले तत्कालै बुझ्नुपर्ने कुरा अर्कै छ। हिँड मसित।’
‘कहाँ ? अब त यति राति पनि भइसक्यो। फेरि तिमी त कताकता उफ्रिन उड्न पनि सक्दा रहेछौ।’
‘त्यसो भए तिमी आफ्नै घरमा बस, म तिम्रो आत्मा लैजान्छु आफूसँगै केही कुरा देखाउन।’
‘तिम्रो मतलब म यहाँ जिउँदो लास भएर बस्ने ?’
एकछिन हाँसेर त्यसले भन्छ– ‘तिमी हेर आफ्नो परिस्थिति, आफ्नो परिवेश, आफ्नो समय...जहाँ आफूले गर्न चाहेको गर्न पाइँदैन, खुल्लै भए पनि हातखुट्टा बाँधिएजस्तो छ, के यो जिउँदो लासको जीवन बिताइरहेका छैनौं र ?’
केही बोल्न सक्तिनँ। मनमनै प्रश्नहरूको हुडलो मच्चिरहन्छ, ईडीभी नभर् भनेर चिच्याउने कतै यही त हैन ?
यो के, म त उडिरहेको पो छु त त्यससँगै। हावामा। तलतल घरघरै देखिन्छन्। रातमा पनि, बत्तीको झलमल्लले। कहाँ लैजान लाग्दै छ यसले... मनमा खुलदुलीले उपद्रो मच्चाउन थाल्दै छ।
एउटा घरभित्र छिराउँछ, स्वाट्ट। त्यहाँ एक जना मानिस सुतिरहेको देखिन्छ।
‘को हो यो ?’ साउतीको भाषामै सोध्छु।
‘अब यही मान्छे तिम्रो देशका जिम्मेवार पद समाल्न लाग्दै छ नि, थाहा छैन ?’ त्यसले पो सोधिदिन्छ उल्टै मैलाई । कस्तो ग्वाँच परेछु, आफ्नै देशका यस्ता कुरा थाहा पाउन नसक्ने।
अनि...।
अनि जे देख्छु, अचम्म मान्नुपर्ने त छँदै छ, झन् मेरो पनि सहभागिता हुन थाल्दा झन् महाआश्चर्यमा परिन्छ। त्यसले त्यस मान्छेको निदाइरहेका आँखाको ढकनी च्यातेर मलाई भित्र ठेलिदिन्छ र आफू पनि पस्छ। भित्रभित्रै सुरुङमार्गबाट लगेर मथिङ्गलमा पु¥याउँछ।
त्यहाँ त...ओहो झन् के भन्ने।
देखिन्छन् त्यहाँ कयन् भाइरसहरू। मजाले आनन्दको शासन जमाइरहेका।
‘तिमीहरू नै हैन त मान्छेलाई नानाभाँतीका काममा अग्रसर गराइदिने ?’ त्यसले चिच्याएर सोध्छ।
गह्रुँगो अट्टहास छाड्दै ती भाइरसहरू गर्जन्छन्, ‘अब कम्प्युटरका मेमोरी, हार्डडिस्क... हैन, मान्छेका मन र मथिंगलमा हाम्रो बास हुन्छ।’
तिनले त्यति भन्नेबित्तिकै मलाई भने झ्वाट्ट खुलिहाल्छ, तब पो हाम्रो समय यस्तो भएको...जताततै कृत्रिम !
भन्नै पर्दैन, ती को हुन् ! यति त बुझ्न सक्छु नि म पनि। हाम्रो देशबाट असीमित फाइदा लिन खोज्नेको नवआविष्कारहरू... तिनको आज्ञा मान्न लगाउन मस्तिष्कमै रसायन पैदा गर्ने यी भाइरसहरू।
त्यसपछि त के ! घमासान युद्ध छेडिन्छ नि, उही महाभारतमा जस्तो सयौं सेना मारिने। अनि अन्तमा जो बाँकी रहेको छ, त्यहीसित सुरु लडाइँको चरमोत्कर्ष। महाभारतमै वर्णित अन्तिम युद्धसमान। भीम र दुर्योधनको गदायुद्ध जस्तै, हानाहान। हानाहान गर्ने चाहिँ एउटा त त्यही रसायन पैदा गर्ने शक्तिशाली भाइरस भइहाल्यो, अर्को हाम्रो यही हिरो। त्यहाँ नियमविपरीत दुर्योधनलाई तिघ्रामा गदाले हानेर मारियो, यहाँ नियम–उपनियम केही छैन अर्थात् जता जति हाने पनि यहाँको दुर्योधन मरिदिएन। बरु उल्टै झन् बलशाली भएर निस्केको छ, निस्केको छ।
लड्दालड्दै एक्कासि त्यो, हाम्रो हिरो, खुरुक्क लडाइँ छाडेर मतिर आउँछ र भन्न थाल्छ– ‘जाऔं हिँड, अबको समयमा खराबी पनि निकै शक्तिशाली हुन थालेको छ, जतिसुकै पावरफुल एन्टिभाइरसले पनि थला पार्न नसकिने गरी।’
हामी निस्किन्छौं अर्थात् भाग्छौं त्यस मान्छेको गिदीबाट।
‘तर यो ...यो त...।’ म भन्न खोज्छु, बाटामै।
उसले रोकेर भनिहाल्छ– म जान्दछु, तिमी के भन्न खोज्दै छौ। तिम्रो देशलाई हुन सक्ने हानि हैन ?’
समाधानको टुसा उम्रन्छ कि भनेर हेर्न लाग्छु।
‘अहिलेलाई यही ठान, उही कुनै पुराणसुराणमा वर्णित तथ्य जस्तै पवित्रता वा सत्य भावले चाहेमा सिद्ध हुने क्या।’
‘अर्थात् ?’
‘अर्थात् देशलाई साँच्चै नै माया गर्ने कोही निक्ल्यो भने तिम्रा देशमा हुन सक्ने यस्ता खतराहरूलाई जरैदेखि उखेल्न सकिन्छ।’
‘अब यतिसम्म देखाइसकेपछि यस्ता समस्याहरूको निदान पनि गरिदेऊ न त तिमी नै।’ भनिहाल्छु आग्रहको शैलीमा।
एकछिन गडेर हेर्छ, अनि हाँसो चिप्लाउँछ, जसलाई खिसीको सीमा छोइएको पनि भन्न सकिन्छ– ‘अब त्यो पनि मैले नै गरिदिने ?
हुन त तिमी नेपाली न प¥यौ, सबै कुरा अरूले नै गरिदेओस् भनेर आस गर्ने। आफ्नै टाउकामा यस्ता असाध्य रोग बस्न लागिसकेर पनि केही नगर्ने तिमी त... थुक्क !’
झल्यास्स हुन पुग्छु। आफ्नो मुहारबाट थुक परेको अनुभूत गर्दै पुछ्छु पनि। हेर्छु त त्यो गायब छ, कतै निसानसमेत देखिँदैन।
कल्याङबल्याङ सुनिन्छ। हेर्छु, छिमेकीको कम्पाउन्डमा मान्छेहरू जम्मा भएका छन्। नजिक पुग्छु।
छिमेककी छोरीले सात समुद्रपारिको भिसा हात पारिछे। आफन्तलगायत टोलका मान्छेले आआफ्नो विद्वता देखाएर गच्छेनुसारका शब्दहरूको धारा बहाई तिनलाई माला, खादा लगाउँदै छन्, पालैपालो। मानौं तिनले सगरमाथाको शिखर चढ्ने सफलता प्राप्त गरेकी हुन्।
बाबुचाहिँ भन्दै छ– ‘छोरीले त गजबै गरिदी। अब यसको लाइफ मजाले सेटल हुन्छ।’
‘अनि तपाईंको छोरा नि ?’ कसैले सोधिदिन्छ।
मानौं तीखो सुइराले घोचिदिएको हुँदो हो, छिमेकीले अँध्यारो मुख लगाउँछ। निन्याउरो स्वरमा भन्न थाल्छ– ‘के गर्नु छोराले यो कुरा बुझिदिएन। सोझो छ, बाबुकै तेल बेच्ने पेसामा रस बसाएर बसिरहेछ।
धन्न, बाबुले बेलैमा तोरी पिँधेर तेल निकाली बेच्ने व्यवसाय चलाइदिएको छु र त्यसले गर्न पायो। यस बुढेसकालमा... छोराको पौरखले त के खान पाउनु ? बाबुको मानप्रतिष्ठा बढाउन नसक्ने त्यस्ताको के कुरा गर्नु।’