माया जिन्दगीको
हाम्रा पुराना धरोहरहरूको सुरक्षा गर्ने जिम्मेवारी हाम्रै हो। पुरानाहरूले दिएको माया, सम्मानको कदर गर्न चुकेकै कारण आजको पुस्ताले धेरै कुरा आत्मसात् गर्न सकिरहेको छैन। जुन उनीहरूलाई बोध छ कि छैन ? उनीहरू नै जानून्। तर पुरानाहरूको सम्मान र कदर गर्न जानेको उदाहरण लिनुपर्दा निकै पुरानो प्रकाशन ‘जनपक्ष प्रकाशन’ हो भनी मानिलिँदा कुनै फरक पर्दैन। जसका स्वामी पुण्यप्रसाद शर्मा आफैंमा एक सफल सर्जक भएका नातामा उनीभित्र पुरानाहरूको जोहो गर्ने प्रवृत्ति छ। त्यसकै कारण सायद नरबहादुर दाहालद्वारा सिर्जित नवीन सिर्जना ‘लभ यू जिन्दगी’ पाठकका हातमा छ।
आजको व्यस्त समयमा, भागदौडको जिन्दगीमा आशावादी बन्नु नै जीवनको महŒवपूर्ण सार्थकता हो। आफैं उपचाराधीन अवस्थामा रहँदा पनि यस्तो सकारात्मक सन्देश दिनु जोकोहीबाट सम्भव छैन। केही दिनअघि गान्तोकको एमजी मार्गको अवलोकन गर्दै सुपर मार्केटस्थित ‘जनपक्ष प्रकाशन’मा जाने सोच अचानक उब्जियो। यसै पनि पुस्तकहरूको संसारमा रमिराख्ने शर्माकोमा नपुगी बजार घुम्नुको स्वाद बेस्वाद भइदिने। त्यहाँ पुग्नुका व्यक्तिगत कारण धेरै हुन सक्छन् तर सामूहिक कारण पनि कम छैनन्। त्यहाँ पुगेर नयाँनयाँ आएका पुस्तकहरूको ¥याक नखँगाली ज्ञानको बिर्काे बन्द हुने समस्याबाट पार पाउनुपर्ने हुन्छ। त्यसपछि दार्जिलिङदेखि काठमाडौं, कालेबुङ, सिलगडी, डुबर्ससम्मका कुनकुन सर्जकहरूले के के निकाल्दैछन्, सहजै थाहा पाइने। यस्ता यावत् कुराहरूको जानकारीका साथै कतिपय भलाकुसारीका गफहरू त छँदैछन्।
जे होस्, पहिलो कथा ‘लभ यू जिन्दगी’ पढ्न भ्याइयो। तर यो एउटै कथा नै नरबहादुर सरको पूर्ण सन्देश हो भन्ने कुरा बुझ्न गाह्रो पर्दैन। सिलगढीमा उहाँको घर, बसाइ गान्तोक। नेपालको राजधानी काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानले उनलाई ठूलो सम्मानका साथ पुरस्कृत ग¥यो। दाहाल शक्तिशाली संवाहक हुन् भन्ने लाग्छ। जोकोहीले यो संवाहकको भूमिका निर्वाह गर्न सक्दैन। यसका निम्ति लामो यात्रा, ठूलो अनुभव अनि ममताका धेरै बिस्कुन सुकाइसकेको हुनुपर्छ। अनि यिनै कुराहरूका पर्याय हुन्, नरबहादुर।
यस्तै कुराहरूलाई ध्यानमा राखेर मित्र विकास कार्कीको देखरेख र पहलमा सलुवाजस्तो स्थानबाट अगमसिंह गिरी संस्थानबाट प्रकाशित हुँदै आएको परदेशीको रजत जयन्तीको विशेष अवसरमा नरबहादुर दाहाल अभिनन्दन विशेषांक प्रकाशित भयो। उक्त ग्रन्थमाथि केही विचार पोख्ने धोको अझै पूरा हुन सकेको छैन। कृतिको भूमिका महाविद्यालयका गुरु डा. गोकुल सिन्हाले नरबहादुर दाहालका कथाहरूलाई आफ्ना चेतनाको गहिराइमा पु¥याएर सांगोपांगो दृष्टि राखिसकेपछि धेरै भनिरहनुपर्ने केही छैन। प्रत्येक कथालाई गहिराइका साथ अध्ययनमा राखेर उनले मत राखिसकेपछि कथा संग्रहको अध्ययन गरेर लागेका र छोएका कुराहरू अनि चेतनामा भासिएका कुराहरूलाई मनभित्रै पट्याएर राख्दा पनि हुने हो। तर कुन्नि किन सार्वजनिक गर्न मन लाग्यो ?
लभ यू जिन्दगी र दाहालको जीवनको पहिलो कथालाई हेर्छु। आफैं ऊर्जावान् बन्छु। उनले लभ यु जिन्दगी कथामा भने झैं ‘बासु दादा, आज पनि तपाईंको हातबाट मृत्यु चिप्लिएर गयो। अब त बुझ्नु भयो नि– जीवन मृत्युभन्दा कति प्रिय हुन्छ ?’ यी हरफहरू नै कसैका पनि जीवनका वास्तविक क्षणहरू हुन्। जीवनलाई यतिमात्र बुझ्न सकिए यथेष्ठ हो। भोलिको बाँच्ने क्रमको मूल वाक्य पनि यही हो भन्ने बोध गराउने दाहाल यो अवस्थामा पनि ऊर्जावान् देखिनु नै उनको कथाको मर्म हो। आफू कस्तै परिस्थितिमा पनि जुझ्न तयार रहने अनि रचनात्मक हिसाबमा अरूलाई पनि जीवन गतिबाट पछि सर्न नदिने हामी सबैका निम्ति दाहाल एक जिउँदा साधक हुन्।