बेनी-जोमसोम सडकमा पहिरै-पहिरो
जोमसोम : अविरल वर्षाका कारण राष्ट्रिय गौरवको (बेनी-जोमसोम)७६ किमी सडकको दर्जनौं स्थानमा पहिरो खस्दा आइतबार बिहानदेखि सडक अवरुद्ध भएको छ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ५ वटै वडाको मुख्य सडकमा पहिरोले सडक अवरुद्ध भएको हो।
मुस्ताङ र म्याग्दीको सीमाना काभ्रेभीरदेखि अन्नपूर्ण गाउँपालिकाको दानास्थित नारच्याङ पुलसम्मको सडकमा ठाउँठाउँमा पहिरो खसेको बेनी जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए । उनका अनुसार म्याग्दीको अन्नपूर्ण गापाको खाम भित्ता,गुईठे,जलथले,सुकेबगर,लाटा खोला,तितर रुप्से र काभ्रेभीर लगायतको करिब ३ दर्जन स्थानमा सानो ठूलो पहिरो खसेको हो ।
बेनी-जोमसोम सिधा यातायात सम्पर्क पहिरोको कारण अवरुद्ध भएको सुपरभाइजर शेरचनले बताए । सडक अवरुद्ध भएपछि ठाउँठाउँमा सवारी साधन अड्किएर गन्तव्यमा पुग्न नसकेको सुपरभाइजर शेरचनले बताए ।
अवरुद्ध बेनी-जोमसोम सडकखण्डको पहिरो पन्छ्याउन ४ वटा डोजर परिचालन भएको सुपरभाइजर शेरचनले उल्लेख गरे। ‘बेनी-जोमसोम सडकको काभ्रेभीरदेखि दाना खण्डको ठाउँठाउँमा पहिरो खसेको छ,दुई ठाउँमा सडक स्टक्चरनै भाँसिएको छ,’सुपरभाईजर शेरचनले भने,‘हामी निरन्तर सडक सडकको पहिरो पन्छ्याउन लागिरहेका छौं,सडक भाँसिएको स्थानमा ग्याविन लगाएर सडक मर्मत गरिहेका छौं ।’
उनले फेरी वर्षा नभएमा पहिरो पन्छ्याएर अवरुद्ध सडक खोल्न केही दिन लाग्ने बताए । यसअघि (बेनीजोमसोम) सडकखण्ड अन्तर्गत रघुगंगा गाउँपालिकाको बैसरीमा निरन्तरको पहिरोले करिब १० दिनसम्म सडक अवरुद्ध भएको थियो । म्याग्दीको कमजोर भुबनोटका कारण बर्खायाममा बर्सेनि निरन्तर पहिरो खस्दा सडक अवरुद्ध हुँने गरेको छ ।
चालु वर्ष साउनको पहिलो हप्तादेखि दर्जनौं पटक बेनी-जोमसोम सडक खण्डमा पहिरो र नदी कटानले सडक बेस अवरुद्ध हुने गरेको छ । वर्षाका कारण मुस्ताङ जोड्ने राष्ट्रिय राजमार्ग जोड्ने सडक पटक पटक अवरुद्ध हुँदा मुस्ताङ आउजाउ गर्ने सवारी साधन,मालबाहक सवारी,पर्यटक र स्थानीयले सास्ती भोग्न बाध्य छन् ।
यसैगरी अविरल वर्षाका कारण आएको बाढी पहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा दर्जनौ विद्युत पोलमा क्षति पुगेको निलगिरी उपभोक्ता सहकारी संस्था अन्तर्गत जोमसोम विद्युत वितरण केन्द्रका प्रमुख सनप्रसाद थकालीले जानकारी दिए ।
उनका अनुसार विद्युत पोलमा क्षति भएसँगै मुस्ताङमा केन्द्रीय प्रशारण लाइन अवरुद्ध भएको बताए ।