राहत र उद्धारका लागि जुटे स्थानीय
जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा गत साउन २८ गते आएको बाढीबाट पीडित भएकाहरूका लागि राहत र उद्धारको काम भइरहेको छ।
कागबेनी गाउँको उद्धार र राहतका लागि वारागुङ मुक्तिक्षेत्रका १९ वटा गाउँका स्थानीयले हातेमालो गरी खटिएका छन्। वारागुङको मुक्तिनाथ, छेङ्गुर, झोङ, पुडाक, खिङ्गा, छुसाङ, ढाक्मर, समर, चैले, तिरी, फल्याक, पाक्लिङ, धार्कारजुङ र सान्ता गाउँका स्थानीयहरू उपस्थित भई उद्धारमा खटिएको गाउँपालिका अध्यक्ष रिङझिङ नाम्ग्याल गुरुङले जानकारी दिए।
कागबेनीका लागि गाउँ गाउँबाट मुखियाहरूको अगुवाइमा आर्थिक सहयोग संकलन गरिएको छ। हरेक गाउँबाट करिव १ लाखदेखि १०/१२ लाखसम्म आर्थिक सहयोग जुट्दै गरेको छ।
घरपझोङ गाउँपालिकाको मार्फा,स्याङ,ठिनी,जोमसोम,छैरो र चिमाङ गाउँबाट आर्थिक सहयोगका साथै कागबेनी बाढी पीडित उद्धारका लागि श्रमदान गर्ने क्रम भइरहेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए । ‘दुःखको घडीमा शत्रुलाई सहयोग गर्नुपर्छ, यो त जिल्ला भित्रै एक गाउँलाई परेको पीडा,’ अध्यक्ष लालचनले भने,‘सबैको सामूहिक प्रयासले मात्र कागबेनीको उद्धार र राहत हुनसक्छ, जुन मुस्ताङले उदाहरण पेश गरेको छ।’
त्यसो त उपल्लो मुस्ताङ जाने छुसाङ-चैले पुल र चराङ खोलामा सडक असहज हुँदा उपल्लो मुस्ताङको लोघेरक दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका समुदाय भौतिक सहयोगका लागि चाहेर पनि उपस्थित हुन सकेका छैनन्।
उनीहरू सडक सहज बनाएर कागबेनी उद्धारमा खटिने तयारी भइरहेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए। कागबेनी बाढीपीडितको उद्धारका लागि राहत संकलन भइरहेको बताए।