तिलागुफामा बालविवाह मुक्त वडा घोषणा
वीरेन्द्रनगर : कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ७ र ८ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ।
तिलागुफा नगरपालिकाको सक्रियता तथा त्यससँग सम्बन्धित गैरसरकारी निकायको सहयोगमा बालविवाह मुक्त वडा बनाउनका लागि सबै मापदण्डहरू पूरा गरी तिलागुफा वडा नम्बर ७ र ८ लाई बालविवाह मुक्त वडाका रूपमा घोषणा गरिएको हो।
तिलागुफा नगरपालिकाभित्रका ११ वडामध्ये ८ वडामा बालविवाह हुने तर शून्यमा झारिएको छ। बालविवाह हुनै छाडेपछि ती वडालाई नगरले बालविवाह मुक्त वडा घोषणा गरेको हो।
सन् २०१८ बाट बालविवाह अन्त्यको थालनी गर्दा वडा नम्बर ८ मा मात्र जम्मा विवाहको ९२ प्रतिशत बालविवाह भएको पाइएको थियो। तर सन् २०२३ पुग्दा पाँच वर्षको अवधिमा बालविवाहको दर शून्यमा झरेको वडाध्यक्ष तिलक न्यौपानेले बताए।
तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले तिलागुफा नगरपालिकालाई नै बालविवाह लगायतका सामाजिक बिकृतिमुक्त नगरका रूपमा विकास गर्न नगरपालिका लागिरहेको बताए। हालसम्म नगरपालिका भित्रका ११ वटा वडामध्ये ८ वडालाई बालविवाह निषेधित वडा घोषणा भएका छन्।