बैंक तथा वित्तीय संस्थाले मानसिक तनाव दिएको भन्दै प्रजिअलाई ज्ञापनपत्र
दोलखा : दोलखाका व्यवसायीहरूलाई बैंक तथा वित्तीय संस्थाहरूले मानसिक त्रास देखाएर आतंकित बनाएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ।
दोलखा उद्योग व्यवसायी संघले प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई सोमबार ज्ञापनपत्र बुझाएको हो।
संघका अध्यक्ष शिवजी राउतको हस्ताक्षरसहितको ज्ञापनपत्रमा बैंक तथा वित्तीय संस्थाले ब्याजदरलाई एक अंकमा कायम गर्नुपर्ने, ऋण स्वीकृत गर्ने बेला निर्धारण भएको ब्याजदर केही समयपछि नै वृद्धि गर्ने बैंक तथा वित्तीय संस्थाको नीति तत्काल परिवर्तन गर्नुपर्ने लगायतको माग राखिएको छ।
संघले व्यावसायिक संकटको अवस्थामा सबैखाले कर्जामा पुर्नकर्जाको सुविधा दिनुपर्ने, नियमित किस्ता बुझाउन नसकेका ऋणीहरूलाई आर्थिक दवाव तथा मानसिक यातना दिँदै पत्रपत्रिकामा लिलामीको सूचना निकाल्ने र बैंक तथा वित्तीय संस्थाका नाममा घर जग्गा पास गर्ने कुरा तत्काल बन्द गरी किस्ता बुझाउने समय व्यावसायिक सुधार नभएसम्मका लागि उपलब्ध गराउनु पर्ने, बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिको घर जग्गाको मूल्याङ्कन आफ्नो अनुकुल मन लागि गरी सामन्ती प्रवृत्ति देखाउँदै कृतिम संकट र आतंक फैलाएकाले त्यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने माग राखेको छ।