पर्यटन दशक : पालो पर्यटकको
नेपालको पर्यटन व्यवसायको प्रवर्द्धन गर्न आन्तरिक पर्यटकलाई पनि विशेष प्याकेज दिनुपर्छ।
गएको शुक्रबार र शनिबार करिब ७ सय बंगलादेशी पर्यटक नेपाल आए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा तिनलाई नेपाल पर्यटन बोर्ड र पर्यटन व्यवसायीले भव्य स्वागत गरे। नेपालको पर्यटनको इतिहासमै यति ठूलो रूपमा पर्यटक भित्रिएको यो पहिलो भएको बताइएको छ।
नेपाल सरकार र पर्यटन व्यवसायीले रणनीतिक योजना बनाएर अघि बढ्ने हो भने यस्ता थुप्रै प्रचुर सम्भावना छन् भन्ने संकेत पनि हो यो। नेपालमा पर्यटन क्षेत्र सुधार गर्ने भनेको पूर्वाधारमै हो। यसो भयो भने प्राकृतिक सौन्दर्यले पर्यटक आकर्षित गर्नेमा दुईमत हुँदैन किनकि नेपाल प्राकृतिक संग्रहालय हो। उच्च हिमाली क्षेत्रको रोमाञ्चक पदयात्रा, हिमशिखरहरूको दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य हो।
रोमाञ्चक पदयात्राका लागि उपयुक्त मानिने थाराङ–ला पास, लार्के–ला पास, मेरापिक, कञ्चनजंघा सर्किटजस्ता पदमार्ग मासिँदै गएको छ। दुई दशक अघिसम्म २२ दिन लगाएर पार गरिने थाराङ–ला पास हिजोआज पर्यटकले १० दिनमा पार गरिरहेका छन्। यसो हुँदा पर्यटकको बसाइ छोटिँदै गएको छ। सवारीसाधन चल्ने सडकका कारण पदमार्ग मासिँदै गएको हो। वार्षिक करिब ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता होटल व्यवसायीसँग छ तर, सोअनुसारको पर्यटक आगमन छैन। हवाईमार्गबाट आउने पर्यटकलाई विमानस्थलमा गरिने सत्कार अत्यन्तै कमजोर छ। अन्तर्राष्ट्रिय बिमानस्थलको व्यवहारले पर्यटक दोहोर्याएर नेपाल आउने विषयमा तीन पटक सोच्नुपर्ने अवस्था बन्छ। यसलाई सुधार गर्न सकिएन भने नेपालमा पर्यटक बढ्ने सम्भावना रहँदैन। विमानस्थलभित्र र बाहिर गरिने आतिथ्य वा स्वागतयोग्य व्यवहारले पनि पर्यटकलाई आकर्षित गर्न सक्छ।
पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्छ भनेर भाषणमात्र हुन्छन्। सुधार गर्ने हिम्मत कसैले देखाउँदैनन्। तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठले २०२३–२०३२ पर्यटन दशक घोषणा गरे। तर, अहिलेसम्म यो विषयमा सरकार र निजी क्षेत्रका व्यवसायीबीच संवाद, सहकार्य, योजना निर्माण, प्रचारप्रसार आदि काम हुन सकेको छैन। सरकारले पनि पर्यटनलाई खासै महत्त्व दिएको छैन। पदयात्रा, जलयात्रा, हिमाल आरोहण, हिमशृंखलाको दृश्यावलोकन गर्न आउने पर्यटकका लागि आकर्षक प्याकेज सरकारसँग छैन।
बिदा मनाउने, घुमफिर गर्ने र प्रकृतिको अध्ययन गर्न आउने पर्यटकलाई फरकफरक खालका प्याकेज बनाउनु जरुरी छ। नेपालले तेस्रो मुलुकको पर्यटकलाई आकर्षित गर्ने खालका प्याकेज बनाएर मार्केटिङ गर्न सक्नुपर्छ। नेपालको पर्यटन व्यवसायको प्रवर्द्धन गर्न आन्तरिक पर्यटकलाई पनि विशेष प्याकेज दिनुपर्छ।