संसद् अस्तव्यस्त : उपसभामुख अनुपस्थित भए बैठक सञ्चालन कसले गर्छ ?

कोसीका मुख्यमन्त्रीलाई पुग्ला विश्वासको मत ?

कोसीका मुख्यमन्त्रीलाई पुग्ला विश्वासको मत ?

विराटनगर : साउन १६ मा कोसी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका उद्धव थापाले सोमबार (आज) विश्वासको मत लिने कार्यसूची छ। तर, विश्वासको मत दिने दिन सांसद भने कम उपस्थित हुने छनक आइतबार नै देखियो। कोसीको राजनीति किचलोले सांसद् तितर–बितर छन्, संसद् अस्तव्यस्त छ।

कोसी प्रदेशसभाका आठ ज्येष्ठ सांसदले सोमबारको बैठकमा उपस्थित हुन नसक्ने सूचना प्रदेशसभा सचिवालयलाई दिएका छन्। उनीहरूले उपस्थित हुन नसक्ने कारण घरायसी काम भनेका छन्। यसले मुख्यमन्त्री थापालाई थप सकस थपेको छ। 

सोमबारको बैठकमा एमालेका सात र राप्रपाका एक जना सांसदले उपस्थित हुन नसक्ने भन्दै उपसभामुखलाई सम्बोधन गरेर निवेदन दिएको संसद् सचिवालयले जनाएको छ। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली भन्छन्, ‘आठ जना सांसदले घरायसी काम परेका कारण केही दिन बैठकमा उपस्थित हुन नसक्ने निवेदन दिनुभएको छ। सोमबार मात्रै होइन, उहाँहरू अन्य दिन पनि नआउने सम्भावना त्यो निवेदनले देखाउँछ।’

सदनमा उपस्थित हुन नसक्ने भन्दै निवेदन दिनेमा एमालेका सांसद रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सुवेदी छन्।

त्यस्तै, राप्रपा सांसद गोपालबहादुर विश्वकर्माले पनि उपस्थित हुन नसक्ने भन्दै निवेदन दिएका हुन्। उनीहरू सबै ६० वर्ष माथि उमेरका छन्। एमाले सांसद कार्की ७१, लिम्बू ६७, महतो ६७, ढकाल ६६, बस्नेत ६७, दुलाल ६५ र सुवेदी ६४ वर्षीय हुन्। राप्रपा सांसद विश्वकर्मा ६५ वर्षीय हुन्। राप्रपाका अर्का ज्येष्ठ सदस्य अम्बरबहादुर विष्ट (६५) ले भने निवेदन दिएका छैनन्। तर, उनले आफू बिरामी भएको बताए। 

यता नेकपा एमाले र राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा छन्। सोहीअनुसार दुवै दलले ज्येष्ठ सदस्यलाई संसद्मा उपस्थित नहुन निर्देशन दिएको स्रोत बताउँछ। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। सत्तारुढ गठबन्धनसँग ४७ मत नै छ।

तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर मुख्यमन्त्री बनेका थापालाई विश्वासको मत पाउन उपसभामुख दनुवार वा प्रतिपक्षी दल एमाले र राप्रपा सांसदले बैठकको अध्यक्षता गर्नुपर्ने हुन्छ। सत्ता गठबन्धनकै सांसदले बैठकको अध्यक्षता गरे विश्वासको मत पाउँदैनन्।

एमालेबाट निर्वाचित उपसभामुख दनुवारले आजको बैठक चलाउने सम्भावना न्यून छ। स्रोतका अनुसार यदि दनुवारले बैठक सञ्चालन गर्ने भए आफ्ना ज्येष्ठ सांसदलाई अनुपस्थित हुन एमाले र राप्रपाले निर्देशन दिने थिएन। 

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ। मुख्यमन्त्री थापाको नेतृत्वमा रहेको सरकारलाई उनकै दल कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ। विपक्षमा एमालेका ३९(उपसभामुख बाहेक) र राप्रपाका ६ जना सांसद छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.